एनआइसी एसिया बैंकको लुम्बिनी शाखामा लगाइएको ताला खोलियो

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

बैंकले ज्यादती गरेको भन्दै व्यवसायी तथा सेवाग्राहीले आइतबार एनआइसी एसिया बैंक लुम्बिनी शाखामा लगाएको ताला एक घण्टापछि खोलिएको छ।

बैकले किस्ता जम्मा गर्न ताकेता गर्ने र केही रकम जम्मा गरी बाँकी थप रकम जुटाउन पहल गर्दागर्दै बैंकले धितो लिलाम सकार गरेर व्यवसायीमाथि अन्याय गरेको भन्दै उद्योगी व्यवसायीहरूले बैंकमा तालाबन्दी गरिदिएको उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए। 

एनआइसी एसिया बैंकले उद्योगी व्यवसायी र सेवाग्राहीलाई दुःख दिएको उनले बताए। उनले भने, ‘बैंकले सेवाग्राहीको सम्पत्तिमाथि आँखा लगाउने गरेको छ। ८ र ९ प्रतिशत ब्याजदरमा ऋण दिने भनेर बैंकले सम्झौता गर्ने अनि १८ प्रतिशतसम्म ब्याज लिन्छ।’

बैंकबाट ऋण लिएका होटेल आकाश इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक उमाशंकर मिश्राले बैंकबाट आफू पीडित भएको गुनासो गरे। असोज मसान्तसम्म बैंकमा कुनै बाँकी बक्यौता नभए पनि त्यसपछि बैंकले १० लाख तिर्न आग्रह गरेको र आफूले तिरेको बताए। 

बैंकको आग्रहअनुसार १० लाख तिरेँ। तर, पछि फेरि ९ लाख तिर्न भनियो, ९ लाख रुपैयाँ तिर्न पनि तयार भएँ र रकम जुटाउनतर्फ लागेँ। तर, केही दिनपछि मलाई बैंकले ३० लाख जम्मा गर्न भन्यो।’ अहिले होटेल तथा पर्यटन व्यवसाय ठप्प भएको असहज परिस्थितिमा बैंकले झन ज्यादती गरेको मिश्रले बताए।

‘नौ लाख रुपैयाँ जम्मा गरेपछि केही दिनका लागि किस्ताको भाका सर्ने आशा लिएर घर फर्किएँ। मलाई पुनः बैंकले फोन गरेर भन्यो–नौ लाखले पुग्दैन, ३० लाख जम्मा गर्नुपर्छ नत्र लिलामी प्रक्रियामा जान्छौँ। उक्त रकम तत्काल जम्मा गर्न नसक्ने बताउँदै मैले किस्ता तिर्ने भाका माग गरेको थिएँ,' उनले भने। 

बैंकले ‘कुनै मुद्दामा नजानुस्, हामी तपाईंमाथि विश्वासघात गर्दैनौँ’ भने पनि आफूलाई झुक्याएको मिश्राको भनाइ छ। होटेल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर जग्गा र घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको उनले बताए।

बैंकले व्यवसायीको मनोबल गिराउने कार्य गरेको होटेल व्यवसायी अकरामुद्दिन खानले बताए। बैंकले व्यवसायीलाई अनावश्यक टर्चर दिएको उनको भनाइ छ। एउटा व्यक्तिले ऋण तिर्छु भन्दाभन्दै व्यवसायीलाई झुक्याइएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको होटेल व्यवसायी मेघनाथ आचार्यले बताए। 

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारी, सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, विष्णु गौतम, रवीन्द्र शर्मा घिमिरे, होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पीताम्बर न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य वीरेन्द्र ज्ञवाली, लुम्बिनी होटेल संघका महासचिव पुरुषोत्तम अर्याललगायत स्थानीय होटेल व्यवसायीहरू बैंकमा तालाबन्दी गर्न पुगेका थिए। 

एनआइसी एसिया बैंक लुम्बिनी शाखा प्रबन्धक प्रवीन रायमाझीले काुनी प्रक्रियाअनुसार नै बैंक अघि बढेको बताए।

सुझावित समाचार