सातदोबाटो शीर्ष स्थानमा

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

कीर्तिमानी आठौँपटक सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लब बुधबार सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङलाई स्तब्ध पारेको सातदोबाटो युथ लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोलाई जित दिलाउन राष्ट्रिय टोलीका सदस्य दीपकराजसिंह ठकुरीले निर्णायक गोल गरेका थिए ।

उनले खेलको ४०औँ मिनेटमा मनाङविरुद्ध आकर्षक गोल गरेका हुन् । शीर्ष स्थानमा उक्लेको सातदोबाटोले आठ खेलबाट पाँच जित, एक बराबर र दुई हारसहित १६ अंक बटुल्यो । लिगमा पहिलो हार सामना गरेको मनाङ १५ अंकका साथ दोस्रो स्थानमा झरेको छ । 

सातदोबाटोका प्रशिक्षक सनोज श्रेष्ठले बलियो मनाङविरुद्ध महत्वपूर्ण जित निकाल्दा खेलाडीको आत्मविश्वास बढेको बताए । ‘खेल निकै महत्वपूर्ण थियो । मनाङ तालिकामा राम्रो थियो । तीन अंक पाउनु राम्रो हो,’ श्रेष्ठले भने, ‘यो खेलले आगामी खेललाई सहज हुन्छ ।’ उनका अनुसार मनाङका मुख्य खेलाडी सातदोबाटोविरुद्ध चल्न सकेनन् । मनाङका प्रशिक्षक किरण श्रेष्ठले फिनिसिङमा चुकेको बताए । ‘हामीले प्राप्त अवसरमा गोल गर्न सकेनौँ, खेलमा जित निकाल्न गोल गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘हाम्रा मुख्य खेलाडी चल्न सकेनन् ।’ 

मनाङविरुद्धको खेलमा म्यान अफ दी म्याच भएका सातदोबाटोका विलियम अपोकुले मिहिनेतका कारण जित निस्केको बताए । ‘निकै खुसी छु, यो जितका लागि हामीले धेरै मिहिनेत गर्यौँ,’ उनले भने, ‘यो खेलपछि अर्को चरणमा सहज हुनेछ ।’ लिगअन्तर्गत ५२औँ खेलमा हिमालयन शेर्पा क्लबले एपिएफ क्लबलाई ५–३ ले हरायो । लिगकै ५३औँ खेलमा संकटाले न्युरोड टिम (एनआरटी)लाई २–१ ले पराजित गर्यो । 

दीपकको छैटौँ गोल
सातदोबाटोको जितमा दीपकले निर्णायक गोल गरेका थिए । दीपकले ४०औँ मिनेटमा नीरज चौधरीले चलाखीपूर्ण रूपमा निकालेको पासमा गोल गरेका हुन् । लिगको आठ खेलमा सात सय १५ मिनेट मैदानमा बिताएका दीपकको यो छैटौँ गोल हो । यसअघि दीपकले एनआरटीविरुद्ध दुई गोल गरेका थिए ।

उनले फ्रेन्ड्स, खुमलटार, जावलाखेल र मनाङविरुद्ध एक–एक गोल गरे । दीपकअघि मच्छिन्द्रका नाइजेरियन खेलाडी आफिज ओलावालेले आठ गोल गरेका छन् । दीपकले बंगलादेशविरुद्ध खेल्दै ८ चैतमा नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । दुई खेलमा उनले एक गोल गरिसकेका छन् । 

सुझावित समाचार