सत्तारूढ कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।
संघीय संसद्को दुवै सदनले पास गरी दोस्रोपटक पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनहरूलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने उनको भनाइ थियो।
आइतबार नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाणले सो विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरूको पनि ध्यानाकर्षण गराए।
संविधानअनुसार संघीय संसद्को दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ। सो विधेयक तत्काल प्रमाणीकरण गरी कानुनको अभावमा नागरिकता नपाएकाहरूलाई नागरिकता दिने कामको थालनी गर्नुपर्ने पनि नेता खाणले बताए।
उनले भने, ‘अनागरिकलाई पनि नागरिकता दिने गरी राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक स्वीकृत गर्न, प्रमाणीकरण गर्न म यो जनकपुरको कांग्रेसको प्रदेश कार्यालयबाट सम्पूर्ण राजनीतिक पार्टीहरूलाई आग्रह गर्दछु– त्यो वातावरण गराउनुहोस् । र, सरकारले, राजनीतिक दलहरूले सम्माननीय राष्ट्रपतिसँग आग्रह गरेर त्यो नागरिकता विधेयकलाई प्रमाणीकरण गरियोस् । र, ती नेपाली नागरिक, जसले नागरिकता प्राप्त गर्न सकेका छैनन् कानुनको अभावमा । उनीहरूलाई नागरिकता दिने काममा थालनी होस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
नेता खाणले संविधानको प्रावधानअनुसार नै आएकाले सो विधेयकलाई प्रमाणीकरण गर्न ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे। उनले वैशाख १० गते हुने बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को उपचुनाव सकिएलगत्तै सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो हुने गरी सत्तारूढ दलहरूले प्रदेश सरकार पुनर्गठन गर्ने पनि स्पष्ट पारे।