गुल्मी अस्पताललाई डाइलाइसिस मेसिन प्रदान

शनिबार, २५ चैत, २०७९
डिजिटल संस्करण

स्वास्थ्यमा रेसुंगा नगरको चासो

गत स्थानीय तहको निर्वाचनमा रेसुंगा नगरपालिकामा निर्वाचित नगर प्रमुख खिलध्वज पन्थी नेतृत्वको कार्यपालिकाले गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा सुरु गर्ने पहिलो निर्णय गरेकाे थियाे । करिव १० महिनापछि शुक्रबार स्वास्थ्य सेवा दिवसको अवसरमा डायलाइसिस मेसिन गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर राजेन्द्र जिसीलाई नगरप्रमुख पन्थीले प्रदान गरे । मेसिन संचालनमा आए गुल्मी तथा अर्घाखाँचीका मिर्गौला पीडितहरुका लागि ठुलो राहत हुनेछ । 

पहिलो निर्णय कार्यान्वयनको लागि भारतीय दुताबासबाट प्राप्त ६५ लाख ३६ हजार चार सय ६६ रुपैयाँका डायलाइसिस मेसिन अस्पताललाई प्रदान गरिएको पन्थीले जानकारी दिए । नगरप्रमुख पन्थीले समुन्नतिको आधार स्थापित गर्न आफुहरुले स्वास्थ्य र शिक्षालाई बिशेष प्राथमिकता दिएको बताए । उनले राम्रो उपचार र शिक्षा नपाएर जिल्लाका गाउँहरु बसाइसराई रित्तिदै गइरहेकाले स्थानीय सरकारको तर्फबाट थुप्रै नयाँ र रचनात्मक कामहरुको प्रारम्भ गरिएको बताए । ‘निर्वाचनमा गरेका बाचा र कार्यपालिकाका निर्णय क्रमश: पुरा गर्दैछौ । प्रमुख ध्यान समुन्नतिका आधार स्थापित गर्ने हो, ’उनले भने,‘शिक्षा र स्वास्थ्यका क्षेत्रमा नागरिकको आशा जगाएका छौ ।’ उनले जनशक्ति व्यावस्थापन र तालिमको काम पनि अगाडि बढेको बताए ।

गुल्मी अस्पतालमा प्रमुख डाक्टर राजेन्द्र जिसीले सवैको सहयोग र समन्वय भए डायलाइसिस सेवा संचालनमा आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए । डाक्टर जिसीका अनुसार डायलाइसिसका पाँच वटा मेसिन आएका छन् । एउटा मेसिनबाट २४ घण्टामा बढिमा तीन जनालाई सेवा दिन सकिन्छ । उनले पछिल्लो समय  मुटु, मिर्गौलाका समस्याहरु बढि रहेकाले डायलाइसिस सेवा सुरु भएपछि थुप्रैलाई राहत हुने बताए । 

गुल्मेलीलाई ठूलो राहत : वरिष्ठ मुटुरोग विशेषज्ञ केसी

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा देखाएको चासोले स्थानीयमा उर्जा भरिएको छ । नजिक मिर्गौलाको डायलाइसिस सेवा नभएकाले गुल्मेलीहरु पाल्पा, बुटवल र काठमाडाैं पुग्न बाध्य छन् । गुल्मी अस्पताललाई डायलाइसिस मेसिन प्रदान गरेपछि संजालमा सकरात्मक टिप्पणीहरु आएका छन् । तर, मेसिन आफै चल्दैन । मिर्गौलाको रोग आफैमा जटिल र उपकरण संचालनमा दक्ष जनशक्ति नभएका कारण सेवा संचालन नहुनेमा नागरिकमा शंका पनि उत्तिकै रहेको छ । तर, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीले डायलाइसिस सेवाले गुल्मेलीलाई ठुलो राहत हुने बताए । उनले तालिम प्राप्त मेडिकल अधिकृत, चार/पाँच जना नर्स र डायलाइसिस मेसिन अप्रेटरको व्यावस्था भए सेवा संचालनमा कुनै समस्या नहुने बताए । केसीले गौतमबुद्धले पाल्पा, स्याङजा र दाङमा डायलाइसिस सेवा प्रदान गरिरहेको अवस्थामा गुल्मीमा असम्भ नहुने प्रतिक्रिया दिए । ‘मापदण्डहरुको नेप्रोलोजिष्ट धेरै अस्पतालहरुमा छैनन । जोखिमभन्दा फाइदा धेरै भएकाले तालिम प्राप्त मेडिकल अधिकृत र नर्सबाट मज्जाले सेवा संचालन हुन्छ,’डाक्टर केसीले भने,‘गुल्मेलीलाई ठुलो राहत महसुस हुनेछ ।’ उनले मेसिनलाई पानी (आरओ) को मात्र धेरै र गुणस्तरिय चाहिने भएकाले तम्घासमा पानीको कुनै समस्या नभएको बताए ।

विशेषज्ञ सेवामा जोड
गुल्मी अस्पताल तम्घासमा १० जना विशेषज्ञको डाक्टरहरुको दरबन्दी हो । जिल्ला अस्पतालहरुमा विशेषज्ञ डाक्टरहरु आउनै मुस्किल छ । आएपनि टिक्नै सकस भएकाले रेसुंगा नगरपालिकाले सुविधा थपेर विशेषज्ञ टिकाउन बाध्य भएको छ । नगरले गुल्मी अस्पतालमा करार सेवामा कार्यरत डाक्टर प्रदिप शिवाकोटीलाई अस्पतालको सुविधा बराबरको प्रोत्साहन भत्ता दिएर हाडजोर्नी विशेषज्ञ सेवा सुरु गरेको छ । 

नगरको कामले जिल्लामा हाडजोर्नीको विशेषज्ञ सेवा नहुँदा पाल्पा बुटवल जानुपर्ने बाध्यताको अन्त्य भएको छ । नगरले अस्पतालसंग सम्झौता गरेर कार्यक्रम अगाडि बढाएकाले हाडजोर्नीको विशेषज्ञ सेवालाई आवश्यक पर्ने सिएम मेसिन खरिद गरेर केहि दिनमै गुल्मी अस्पताललाई प्रदान गरिने रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुवंरले बताइन् । केहि महिनामै सयौँ हाडजोर्नीको समस्या भएका व्यक्तिहरुले गुल्मी अस्पतालबाट विशेषज्ञ सेवा पाएको हाडजोर्नी विशेषज्ञ डाक्टर प्रदिप शिवाकोटीले जानकारी दिए । 

हाडजोर्नीको महत्वपूर्ण सिएम मेसिन आएकाले अझै थुप्रै उपचारका काम गर्न सकिने बताए । अहिले हप्ताको दुई दिन शल्यक्रिया हुने गरेको छ । दैनिक ओपिडीमा हाडजोर्नीका एक सय २० देखि एक सय ५० बिरामी आउने गरेको र अहिलेसम्म एक सय हाडजोर्नीको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको शिवाकोटीले बताए । जिल्लामा हाडजोर्नीको समस्या भएका बिरामी उपचारको लागि पाल्पा पुग्ने अवस्थाको अन्त्य भएको छ । 

नि:शुल्क मोतियाबिन्दुको शल्यक्रिया    
रेसुंगा नगरपालिकाले गरिव तथा विपन्न परिवारलाई प्राथमिकतामा राखेर स्वास्थ्य कार्यक्रमहरु निर्माण गरेको छ । नगरपालिकाले नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र मार्फत नगरबासीलाई आँखाको मोतिया विन्दुको नि:शुल्क शल्यक्रियाको व्यावस्था गरेको छ । पछिल्लो समय आँखाको समस्याका बिरामीहरु पनि धेरै हुने गरेका छन् । आर्थिक रुपमा सवल परिवार स्तरिय अस्पताल पुगेपछि यो कार्यक्रमले बिपन्नताको कारण आँखाको समस्या बल्झिएर घरमै बस्नेहरुको लागि ठुलो राहत दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले बताए । त्यस्तै गर्भवती आमाहरुलाई पोषण प्याकेज वितरण गरिरहेको छ । जसका लागि नगरका १४ वडामा रहेका १५ स्वास्थ्य संस्थामा आफ्नो नाम दर्ता गराएर सेवा लिनुपर्छ । नगरमा चार स्वास्थ्यचौकी, १० आधारभुत स्वास्थ्यचौकी र एउटा शहरी स्वास्थ्य केन्द्र रहेको छ । नगरका स्वास्थ्य संस्थामा ३४ स्थायी र २२ जना करार जनशक्ति रहेको स्वास्थ्य संयोजक मन्जु घर्तिमगरले बताइन् । 

सुझावित समाचार