करको दायरा बढाउन नागरिकतासँगै प्यानकार्ड दिन चेम्बरको प्रस्ताव

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पूरा गर्न सुझाव दिएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार अर्थ मन्त्रालयमा भेटेर अर्थमन्त्री डा. महतलाई यस्तो सुझाव दिएको हो ।

चेम्बरले करको दरभन्दा दायरा वृद्धि गर्नुपर्नेमा जोड दिएको हो । यसका लागि नागरिकतासँगै प्यानकार्ड दिने व्यवस्था गरिनुपर्ने मल्लले बताए । उनले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । बिल लिने–दिने व्यवस्थालाई पनि अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ । 

चेम्बर पदाधिकारीसमक्ष अर्थमन्त्री डा. महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताए । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको अर्थमन्त्री महतको भनाइ छ । उनले भने, ‘अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले गभर्नर महाप्रसाद अधिकारीलगायत सरोकारवाला निकायका सचिवहरूसँग पनि छलफल गरिरहेको छु ।’ आगामी आर्थिक वर्षबाट अर्थतन्त्रले लय समाउने उनले बताए । 

अर्थमन्त्रीलाई १७ बुँदे सुझाव 
नवनियुक्त अर्थमन्त्री डा. महतलाई चेम्बरले समसामयिक आर्थिक विषयमा विभिन्न १७ बु“दामा सुझावसमेत दिएको छ । अर्थमन्त्रीलाई सुझाव दिने क्रममा चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्नसमेत आग्रह गरे । अध्यक्ष मल्लले तरलता अभावलाई व्यवस्थित गर्नका लागि पुँजीगत खर्चमा टाइम बाउन्ड एक्सन प्लान बनाई कार्यान्वयन गरिनुपर्ने उनको भनाइ थियो । पुँजीगत खर्चको अवस्थाबारे त्रैमासिक पुनरावलोकन गरी कार्यान्वयन गरिनुपर्ने उनको भनाइ छ ।

चेम्बरले रेमिट्यान्सको पैसालाई बैंकिङ च्यानलमार्फत मुलुक भिœयाएर ऊर्जालगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न औँल्याएको छ । चालू पुँजी मार्गनिर्देशनलाई निजी क्षेत्र, विज्ञ समूह तथा सरोकारवाला निकायसँग विस्तृत छलफलपछि मात्रै कार्यान्वयनमा ल्याउनसमेत चेम्बरले जोड दिएको छ ।

चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्षहरू सुरेन्द्रकुमार श्रेष्ठ, दीपक श्रेष्ठ, दीपककुमार मल्होत्रा, उर्मिला श्रेष्ठलगायतका कार्यसमिति सदस्यहरू उपस्थित थिए । 

सुझावित समाचार