सिक्किमको लोकप्रिय पर्यटकीय गन्तव्य त्सोङमाे, नाथुलामा मंगलबार भएको ठूलो हिमपहिरोका कारण नेपालबाट भ्रमण गएका दुई नेपालीको मृत्यु भएको छ । मृत्यु भएका सातजनामध्ये दुई नेपाली रहेकाे बताइएकाे छ । नाथुला जाने क्रममा करिब ५–६ सवारीसाधन र २०–३० पर्यटक हिउँमुनि फसेको आशंका गरिएको छ ।
चितवनको कालिका नगरपालिका– ६ खोलेसिमलमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले भारतको सिक्किम भ्रमण लगेकाे थियो । यस सहकारीबाट दुईवटा बसमा ६३ जना भ्रमण गएका थिए । मृत्यु हुनेमा सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेको बताइएको छ। उनीहरू दुवै कालिका– ६ खोलेसिमलका हुन् ।
लामिछाने सो संस्थाका कार्यसमिति सदस्य हुन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार मृतको शव लिएर भ्रमण टोली आजै नेपाल फर्कने तयारीमा छ ।