तिब्बती शरणार्थीलाई नागरिकता दिने जिल्ला प्रशासनका नासु पक्राउ

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

तिब्बती शरणार्थीलाई आर्थिक चलखेलका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका नायब सुब्बा देवराज गौतम पक्राउ परेका छन् । 

यसअघि पक्राउ परेका अभियुक्तको बयानको आधारमा प्रहरीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो । 

गौतम लामो समयदेखि जिल्ला प्रशासनको नागरिकता फाँटमा कार्यरत थिए । उनले सयौँ तिब्बतीलाई फर्जी कागजपत्रका आधारमा नागरिकता दिन सघाएको प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सो घटनामा संलग्न चारजनालाई यसअघि पक्राउ गरिसकेको छ । 

लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, हिरालाल सिवाकोटी, नक्कली बाबु बनेका न्युल्केस श्रेष्ठ र तनहुँको शरणार्थी क्याम्पमा बस्दै आएका लोब्साङ ठिन्लेलाई ५ चैतमा पक्राउ गरेको थियो । 

उनीहरूमाथिकै बयानको क्रममा नासु पक्राउ परेका हुन् । प्रशासनका अन्य कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेको प्रहरी स्रोत बताउँछ । 

सो गिराेहले करिब पाँच सय तिब्बतीलाई मिलेमतोका आधारमा नागरिकता दिएको प्रहरी आकलन छ । धेरैजसो यही वर्ष दिइएको थियो । 

वास्तविक नेपालीले नागरिकता लिन कठिन हुनेमा यसरी सयौँ शरणार्थीलाई नागरिकता दिएको खुलेपछि गृह मन्त्रालयले भने यो विषयमा आन्तरिक छानबिनसमेत गरेको छैन । 

कतिसम्म भने एकै व्यक्ति पाँचजना शरणार्थीको बुबा बनेर जिल्ला प्रशासन उपस्थित भई नागरिकता दिलाएका थिए ।

सुझावित समाचार