चितवन २ : एमालेबाट जिल्ला अध्यक्ष न्यौपाने उम्मेदवार

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

चितवन क्षेत्र नं २ मा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने भएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको लागि एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो ।

जिल्ला कमिटीको शुक्रबार सम्पन्न बैठकले पनि न्यौपानेको नाम सर्वसम्मत रुपमा प्रदेश कमिटीमा सिफारिस गरेपछि एमालेबाट उनी उम्मेदवार बन्ने पक्का भएको हो ।

यस क्षेत्रबाट न्यौपानेसंगै पोल्ट्रीविज्ञ डा.तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका पूर्वमेयर गोपी श्रेष्ठ र नेता तेजेन्द्र खड्काको नाम चर्चामा थियो । गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराए पनि एमालेले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेपछि न्यौपानेको उम्मेदवारी खोसिएको थियो ।

उपनिर्वाचनमा यस क्षेत्रमा कांग्रेसबाट चितवन पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठ उम्मेदवार बन्दै छन् । बिहीबार सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार चयन गरेको थियो  ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने पुनः उम्मेदवार बन्दैछन् । नागरिकता कसुरमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उनको सांसद पद खारेजी भएको थियो । सोही कारण चितवन– २ मा उपनिर्वाचन हुन लागेको हो ।

सुझावित समाचार