स्ववियु निर्वाचन समितिका सदस्यसचिव अधिकारीमाथि आक्रमण

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

स्ववियु निर्वाचनको छलफल गरिरहेको समयमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा स्ववियु निर्वाचन समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीमाथि विद्यार्थीले भौतिक आक्रमण गरेका छन् ।

बुधबार होटेल यल्लो प्यागोडामा विद्यार्थी संगठनसँग छलफल भइरहेका वेला अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली नेतृत्वको चार–पाँचजनाको समूहले अधिकारीलाई भौतिक आक्रमण गरेको र त्रिवि पदाधिकारीलाई अशोभनीय व्यवहार गरेको त्रिविले जनाएको छ । 

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार विज्ञप्ति जारी गरी गत ५ चैतमा निर्वाचन हुन नसकेका क्याम्पस र केन्द्रीय तहका विद्यार्थी संगठनका पदाधिकारीसँग स्ववियु निर्वाचन गराउने विषयमा छलफल भएको र त्यही छलफल भएको स्थानमा बुधबार अनेरास्ववियुका अध्यक्षसहितको टोलीले आक्रमण गरेको जनाएको छ ।

विद्यार्थीको हितका लागि नेतृत्व गर्ने संगठनको निर्वाचन गराउने विषयमा छलफल गराउँदा आक्रमण गर्ने लज्जास्पद विषय भएको त्रिविले जनाएको छ । ‘यस्ता अराजक व्यवहारले विद्यार्थी संघ–संगठनको इज्जत प्रतिष्ठामा गम्भीर प्रश्न उठेको विश्वविद्यालयको ठम्म्याइँ छ,’ विज्ञप्तिमा भनिएको छ ।

सुझावित समाचार