विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा

शनिबार, ४ चैत, २०७९
डिजिटल संस्करण

कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले प्रदर्शन गर्ने भएपछि विराटनगरका मुख्य स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

कोसी नामकरणको विरोधमा पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकाले प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अनुसार विभिन्न समूहले गर्ने विरोध, धर्ना, जुलुसका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले संवेदनशील स्थानमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा जारी भएका स्थानहरूमा कसैले पनि धर्ना, जुलुस र विरोधका कार्यक्रमहरू गर्न पाउनेछैनन् ।

मोरङ प्रशासनले ५ चैत बिहानदेखि रोडशेष चोकस्थित मुख्यमन्त्री कार्यालय आसपास, प्रदेश सभा भवन रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्रीको निवास क्षेत्र र जिल्ला प्रशासन कार्यालय अगाडिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले प्रदेश सभाबाट कोसी प्रदेश नामकरण हुने दिन १७ फागुनमा पनि मुख्य स्थानहरूमा निषेधाज्ञा जारी गरेको थियो ।

पहिचान पक्षधरहरूले सरकारले पर्याप्त छलफल नै नगरी प्रदेश सभाबाट दुईतिहाइ बहुमतबाट प्रदेशको नाम कोसी टुंगो लगाएर छल गरेको भन्दै विरोध गर्दै आइरहेका छन् । प्रदेश सभाबाट १७ पुसमा दुईतिहाइभन्दा बढी मतले कोसी प्रदेशको नाम टुंगो लागेको थियो ।
 

सुझावित समाचार