उपत्यकाभित्रका २१ पालिका उपप्रमुखहरूकाे सञ्जाल गठन

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका २१ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरूको सञ्जाल ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख (उपप्रमुख) सुनीता डंगोलको संयोजकत्वमा बसेको बैठकले सञ्जाल गठन गरेको हो। 

बैठकले उपत्यकाका उपप्रमुख र उपाध्यक्षको क्षेत्राधिकारभित्र रहेका सबै काममा एकरूपता ल्याउन सञ्जाल गठन गरेको डंगोलले जानकारी दिइन्। 

‘न्यायिक समिति भनेको स्थानीय तहको अदालत नै हो,’ उनले भनिन्, ‘जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश राजुकुमार खतिवडाको समेत उपस्थितिमा बसेको बैठकमा हामीले गरेका काम न्यायिक समितिको काम, कर्तव्य र अधिकारसँगै न्यायिक निरुपणका लागि आवश्यक विषयमा उहाँसँग छलफल गरियो। यो एकदमै फलदायी भयो।’

बैठकमा उपत्यकाका विभिन्न विषयवस्तुबारे उपत्यकाका पालिकाका उपप्रमुख र उपाध्यक्षसँग छलफल गर्दा उपप्रमुख र उपाध्यक्षको क्षेत्राधिकारभित्र रहेका सबै काममा एकरूपता ल्याउन एउटा सञ्जाल बनाउँदा राम्रो हुन्छ भन्ने भएपछि सबैको सल्लाहमा सञ्जाल बनाएको पनि डंगोलले जानकारी दिइन्। 

समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरूपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान–प्रदान गर्न पनि सञ्जाल फलदायी हुने डंगोलको भनाइ छ। 

‘न्यायिक समितिका कुरा, अनुगमनका कुरा, उपभोक्ता हितलगायतका विषयमा एकरूपता ल्याउन पनि यो सञ्जाल फदायी होला भन्ने कोणबाट छलफल भयो। यो छलफलमा हामीले यसका लागि काठमाडौं उपत्यकाभित्रका उपप्रमुख–उपाध्यक्षको एउटा सञ्जाल बनाऔँ भन्ने भयो,’ डंगोलले भनिन्, ‘यो सञ्जाललाई अब तालिका बनाएरै उपप्रमुख–उपाध्यक्षको क्षेत्राधिकारभित्र पर्ने विषयलाई एकरूपता कायम गर्दै प्रभावकारी बनाउने ढंगले अघि बढाउँछौँ।’ 

उपप्रमुख–उपाध्यक्षहरूको क्षमता विकासमा पनि यसले टेवा पुर्याउने विश्वास लिएको डंगोलले जानकारी दिइन्। ‘हामीले सञ्जाल बनाउने त निर्णय गर्याैँ। अब यसले के गर्छ भन्ने पनि त प्रश्न आउँछ,’ उनले भनिन्, ‘उपप्रमुख–उपाध्यक्षको भेट हुँदा चिया खाने, गफ गर्ने छुट्टिने होइन। हरेक बैठकमा हामी कुनै एक निश्चित विषयवस्तुमा केन्द्रित भएर छलफल गर्छौँ। विषयविज्ञको उपस्थितिमा कार्यपत्र नै प्रस्तुत गरेर बैठकमा छलफल गर्नेसम्मको तयारी हामीले गरेका छौँ।’ 

काठमाडौं महानगरमा बसेको पहिलो बैठकले सञ्जाल विस्तारसँगै दोस्रो बैठकको अध्यक्षता कसले गर्ने भन्ने विषयको पनि टुंगो लगाएको उनले जानकारी दिइन्। 

‘हामी जुन पालिकामा बैठक बस्छौँ। त्यही पालिकाकै उपप्रमुख–उपाध्यक्षले अध्यक्षता गर्नुहुन्छ,’ उनले भनिन्, ‘कम्तीमा एक–एक महिनामा बैठक बस्ने र त्यही पालिकाको उपप्रमुख–उपाध्यक्षले अध्यक्षता गर्ने भन्ने भएको छ। यसपटक काठमाडौं महानगरपालिकामा बैठक बसेकाले अध्यक्षता मैले गरेँ। अब अर्को बैठक बुढानीलकण्ठमा बस्छ। त्यहाँको अध्यक्षता बुढानीलकण्ठकै उपप्रमुखले गर्नुहुन्छ। अर्को पालिकामा बस्दा त्यही पालिकाको उपप्रमुख–उपाध्यक्षले अध्यक्षता गर्नुहुन्छ।’ 

अब तेस्रो बैठकको मिति र स्थान बुढानीलकण्ठमा बस्ने बैठकले गर्ने जानकारी उनले दिइन्।  ‘तेस्रो बैठकको मिति र विषय दोस्रो बैठकले निर्णय गर्छ । यो खालको प्रणालीको थालनी गर्ने हामीले निर्णय गरेका छौँ,’ उनले भनिन्, ‘हामीले बैठकको निर्णय माइन्युट गर्नका लागि सचिवालयचाहिँ काठमाडौं महानगरपालिकाको उपप्रमुखकै सचिवालयले हेर्ने गरी गर्ने भन्ने निर्णय गरेका छौँ।’
 
कतिपय महत्वपूर्ण विषयहरू उपप्रमुख–उपाध्यक्षको कार्यक्षेत्रभित्र पर्ने भए पनि प्रमुख र अध्यक्षले पनि जानकारीमा राख्नुपर्ने भएकाले बैठकमा आवश्यकताका आधारमा प्रमुख, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई बोलाउने निर्णय भएको पनि उनले जानकारी दिइन्। 

‘हामीले आवश्यकताका आधारमा प्रमुख, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पनि बैठकमा बोलाउने र बैठकले गरेका निर्णय प्रक्रियाबारे ‘अपडेट’ गराउने पनि तयारी गरेका छौँ,’ उनले भनिन्, ‘त्योसँगै आवश्यकताका आधारमा कानुन हेर्ने, अनुगमन हेर्ने विभाग वा शाखाको पनि प्रतिनिधित्व गराउने तयारी हामीले गरेका छौँ।’
 
बैठकमा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, टोखाका उपप्रमुख मुरारी तामाङ, नागार्जुन नगरकी उपप्रमुख सुशीला अधिकारी, कागेश्वरी–मनोहरा नगरकी उपप्रमुख शान्ता थापा, चन्द्रागिरि नगरकी उपप्रमुख वसन्ती श्रेष्ठ सहभागी थिए। 

त्यस्तै, गोकर्णेश्वरकी उपप्रमुख सान्नानी लामा, तारकेश्वरकी उपप्रमुख सिर्जना बुर्लाकोटी, मध्यपुर थिमीका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराई उपस्थित थिए। ललितपुरको महांकाल गाउँपालिकाबाट उपाध्यक्ष डोल्मा माया गोलेको उपस्थिति थियो।

सुझावित समाचार