न्यायिक सम्मेलन गर्दै काठमाडौं महानगर

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

देशभरका ७५३ वटै स्थानीय तहलाई पठायो पत्र, स्थानीय तहमा भइरहेको न्यायसम्पादनको अनुभव आदान–प्रदान हुने

काठमाडौं महानगरपालिकाले आगामी चैत तेस्रो साता न्यायिक सम्मेलन आयोजना गर्ने भएको छ । स्थानीय तहमा भइरहेको न्यायसम्पादनको अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा सहभागी हुने आग्रह गर्दै महानगरपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई निमन्त्रणापत्र पठाएको छ । १५–१६ चैतमा हुने न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा सहभागी हुने–नहुनेबारे ३० फागुनभित्रै जानकारी दिन स्थानीय तहहरूलाई महानगरले आग्रह गरेको छ । सम्मेलनको तयारीका लागि महानगरले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठनसमेत गरेको छ ।

समितिका सदस्यहरूमा कुश ढकाल र आशा श्रेष्ठ रौनियार छन् । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, प्रशासन विभाग प्रमुख दीपक अधिकारी, वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धर सदस्य रहेका छन् । सदस्यसचिवमा कानुन तथा मानवअधिकार विभाग प्रमुख वसन्त आचार्य छन् । सबै पालिकाबाट न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको महानगरले जनाएको छ । सम्मेलनलाई नतिजामुखी बनाउने र प्राप्त उपलब्धिलाई संस्थागत अभिलेखमा राख्ने र आपसी सिकाइ प्रवर्द्धन गर्न सम्मेलन सञ्चालन गरिने भएको हो । 

समितिका सदस्यसचिव वसन्त आचार्यका अनुसार चार मुख्य विषयमा केन्द्रित हुने गरी सम्मेलनमा कार्यपत्र प्रस्तुत हुनेछन् । न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्यायसम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन प्रस्तुतिको पहिलो विषय हुनेछ । 

सुझावित समाचार