वामदेव गौतमलाई एमालेमा फर्किन ओलीको प्रस्ताव

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई मतदान गर्न आग्रह

एमाले अध्यक्ष केपी ओलीले नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई एमालेमै फर्किन प्रस्ताव गरेका छन् । बुधबार गौतमको भैँसेपाटीस्थित निवासमै पुगेर ओलीले एमालेमै फर्किन प्रस्ताव गरेपछि उनले भने ७० वर्षे उमेरहद हटाउन आग्रह गरेका छन् । 

‘तपाईंजत्तिको पार्टीमा योगदान गरेको व्यक्ति अब बाहिर बस्नुहुँदैन, आफ्नै घर एमालेमा फर्किनुस् भनेर आग्रह गर्नुभयो,’ भेटपछि गौतमले सञ्चारकर्मीसँग भने, ‘मैले पनि एमालेमा रहेको ७० वर्षे उमेरहद हटाउन आग्रह गरेँ । अध्यक्ष र महासचिवमा हटाउन नसके पनि अरू पदमा भए पनि उमेरहद हटाउनुस् भनेको छु । उहाँ सकारात्मक नै हुनुहुन्छ ।’  गौतम ७० वर्ष नाघिसकेका छन् । एमालेमा ७० वर्ष कटेपछि सक्रिय राजनीतिबाट अवकाश लिनुपर्ने व्यवस्था उमेरहदको नियमले कायम गरेको छ । 

एमाले र माओवादीलाई पूर्ववत् अवस्थामै फर्किन सर्वोच्चले आदेश दिएपछि पार्टीमा निष्क्रिय रहेका गौतमले एमाले विभाजनपछि आफ्नै संयोजकत्वमा ‘नेकपा राष्ट्रिय एकता अभियान’ गठन गरेका छन् । 

भेटमा ओलीले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई मतदान गरी सहयोग गर्न आग्रह पनि गरेका थिए । गौतमले आफू सकारात्मक रहेको जवाफ दिएका छन् । तत्कालीन नेकपा सरकारका प्रधानमन्त्री ओलीकै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् । 

सुझावित समाचार