ज्योति विकास बैंकले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको १५औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ३ प्रतिशत बोन सेयर तथा ३ दशमलव ८ प्रतिशत नगद गरी ६ दशमलव ८ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ पुग्ने जनाइएको छ । बैंकका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा भएको साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ ।
साधारणसभाले बैंकको आव ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित ०७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको बैंकले जनाएको छ । साथै, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित भएको उल्लेख छ ।
साधारणसभाले बैंकको आव ०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुका साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आव ०७८/७९ को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरणउपर छलफल गरी पारित गरेको जनाइएको छ ।