कुनै बेला भेरी अस्पताललाई अस्पतालजन्य फोहर व्यवस्थापन टाउको दुखाइको विषय थियो। फोहाेरले दुर्गन्ध फैलिँदा अस्पतालमा आएका बिरामी र आफन्तले मात्र नभई अस्पताल आसपासका सर्वसाधारणको गालीसमेत खानुपर्ने अवस्था थियो। तर, अहिले परिस्थिति फेरिएको छ।
अस्पतालबाट निस्कने सबै किसिमका फोहाेरको प्रभावकारी व्यवस्थापन गरेर फोहाेरबाट ‘मोहाेर’ कमाउन थालेको छ। प्लास्टिक र कागजजन्य फोहर बिक्री गरेर मासिक ६०–७० हजार रुपैयाँ आम्दानी हुने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले बताए।
‘फोहाेर व्यवस्थापनमा खटिने कर्मचारीलाई फोहर बिक्री गरेको पैसाले तलब खुवाउन पुग्छ,’ उनले भने। उनले १० महिनामा करिब पाँच लाख बढी आम्दानी भएको बताए।
कसरी व्यवस्थापन हुँदै छ फोहाेर ?
बिरामीहरूको उपचारका क्रममा अस्पतालका वार्ड, प्रयोगशाला र शल्यक्रिया कक्षमा उत्पादन हुने फोहाेरलाई व्यवस्थित रूपमा संकलन गर्ने व्यवस्था मिलाएको उनले बताए। उनले उत्पादन भएको फोहाेरलाई वर्गीकरण गरी छुट्टाछुट्टै भाँडोमा राख्ने व्यवस्था मिलाइएको बताए।
‘संक्रमित फोहाेरलाई रातो र गैरसंक्रमित फोहाेरलाई निलो तथा हरियो बाल्टिनमा राखिन्छ। फोहाेर उत्पादन हुनेबित्तिकै फोहाेरको प्रकृतिअनुसार छुट्टाछुट्टै बाल्टिनमा राख्दा व्यवस्थापन गर्न सहज भएको छ,’ उनले भने।
भेरी अस्पतालमा संक्रमित र गैरसंक्रमित गरी दैनिक करिब दुई सय ५० किलो फोहाेर उत्पादन हुन्छ । उत्पादन भएको सबै फोहाेरलाई अस्पताल परिसरमै रहेको स्वास्थ्यजन्य फोहाेर मैला संकलन तथा प्रशोधन केन्द्रमा लगेर व्यवस्थापन गर्ने गरिएको अस्पतालको फोहाेर प्रशोधन केन्द्रका प्राविधिक सल्लाहकार गंगा खत्रीले बताए।
संक्रमित फोहाेरलाई प्रशोधन केन्द्रमा रहेका अटोकेलेब मेसिनमा एक सय २१ डिग्री सेल्सियस तापक्रममा आधा घण्टासम्म पकाएर निर्मलीकरण गरिन्छ। निर्मलीकरणपछि ती फोहाेरलाई छुट्याएर अन्य फोहाेरसँगै बिर्सजन गर्ने गरिएको खत्रीले बताए।
‘संक्रमणरहित प्लास्टिक र कागजजन्य फोहाेरलाई छुट्याएर अलग्गै राखेर बिक्री गरिन्छ। सिरिन्ज, बिलेट, सिसाजन्य फोहोरका साथै शल्यक्रिया तथा प्रसूती कक्षबाट निस्कने मानव अंगलगायत विभिन्न किसिमका फोहाेरलाई अस्पताल परिसरमै बनाइएका खाडलहूरूमा पुरेर व्यवस्थापन गर्ने गरिएको छ,’ उनले भने।
केही वर्षसम्म निक्कै ठूलो समस्याका रूपमा रहेको अस्पतालजन्य फोहाेर मैलाको प्रभावकारी रूपमा व्यवस्थापन गरेर अस्पताल प्रशासनले फोहाेरका कारण हुने संक्रमणको जोखिम घटाउनुका साथै आय आर्जनसमेत गर्दै आएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए।
अस्पताल सफा देख्दा बिरामी कुरुवा खुसी
फोहाेर व्यवस्थापनलाई व्यवस्थित बनाएपछि भेरी अस्पताल परिसर सफा भएको छ। फोहाेर फाल्ने ठाउँ नहुँदा दुर्गन्धित बन्ने गरेको अस्पताल अहिले सफा भएको बिरामी र उनीहरूका कुरुवा बताउँछन्। ‘सड्ने र नसड्ने फोहाेर एकै ठाउँ फाल्दा दुर्गन्धले बस्नै नसक्ने हुन्थ्यो। अहिले भेरी अस्पताल सफा पनि छ। दुर्गन्ध पनि आउँदैन,’ बाँसगढी नगरपालिका ४ का राधेश्याम अधिकारीले भने।
बबई गाउँपालिका १ का सन्तोष घर्तीले पनि भेरी अस्पताल सफा भएको पाए। छोराको उपचारका लागि आएका उनले पहिलेको भन्दा व्यवस्थित भएको बताए।
‘योभन्दा पहिले जताततै प्लास्टिकका बोत्तल र प्लास्टिकजन्य वस्तु देखिन्थ्यो। अहिले बिरामीका कुरुवालाई समेत सड्ने र नसड्ने छुट्टाछुट्टै भाँडोमा हाल्न सिकाउने रैछन्। अस्पताल सफा देख्दा खुसी लाग्यो,’ उनले भने।