निर्माण सकिएको ११ वर्षपछि भारतीय राजदूतद्वारा अस्पताल उद्घाटन

शुक्रबार, २० माघ, २०७९
डिजिटल संस्करण

सिराहाको धनगढीमाई नगरपालिका– ११ छपराढीमा निर्माण सम्पन्न भएको ११ वर्षपछि प्रसूति तथा बाल कल्याण अस्पतालको उद्घाटन गरिएको छ ।

भारतीय दूतावासको आर्थिक सहयोगमा निर्मित ५० शय्याको महेन्द्र गेनाई स्मृति प्रसूति तथा बालकल्याण अस्पतालको शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बाेधन गर्दै राजदूत श्रीवास्तवले नेपाल भारतको नजिकको छिमेकी मुलुक भएकाले नेपालको सुखदुःखमा असल छिमेकीको नाताले साथ दिँदै आएकोे बताए ।

विशेषतः ग्रामीण क्षेत्रको शिक्षा तथा स्वास्थ्य सेवा सुधारका लागि दूतावास सहयोगका लागि सदैव तयार रहेको उल्लेख गर्दै उनले प्रसूति तथा बाल कल्याण अस्पताल त्यसैको उदाहरण भएको बताए । ‘महिला र बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित सहयोगका लागि दूतावास जहिले पनि तयार छ,’ उनले भने ।

भवन र उपकरणमा दूतावासको पाँच करोड सहयोग
०६३ मा लहान नगरपालिका– २४ मलहन्माका महेन्द्र महतोको स्मृतिमा १० कट्ठा र धनगढीमाई– १ बाखरका गेनाई महतोको स्मृतिमा परिवारले एक बिघा जग्गा दान गरेपछि दूतावासको सहयोगमा ०६८ सालमा अस्पताल निर्माण भएको थियो ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र महतोका अनुसार त्यतिवेला दूतावासले दुईतले भवनका लागि साढे तीन करोड र भिडियो एक्स–रे, एक्स–रे, शल्यक्रियाका उपकरण र ५० थान बेडका लागि डेढ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

अस्पताल निर्माण सम्पन्न भएको तीन वर्षपछि ०७२ को भूकम्पको कारण देखाउँदै सहरी तथा भवन निर्माण विभागले मापदण्ड फेर्नुपर्ने भन्दै भवन स्वीकृत नगर्दा ढिलो भएको प्रशासकीय अधिकृत महतोले बताए । त्यसको चार वर्षपछि कोरोना महामारीमा अस्पताललाई आइसोलेसनको रूपमा प्रयोग गरिएपछि पनि ढिलो भएको उनले बताए । 

अस्पतालको विधिवत् उद्घाटनपछि न्यून सेवाशुल्क लिएर मुनाफारहित ढंगले सामुदायिक स्तरमा सञ्चालन गर्ने योजना रहेको बताइएको छ । गत १९ मंसिरदेखि क्लिनिकल सेवा सुचारु गरिएको अस्पतालमा धनगढीमाई नगर क्षेत्रका १४ वटा वडा, लहान १३ र २४ नम्बर वडासम्मका गर्भवती र विभिन्न स्वास्थ्य समस्या भएका बालबालिका उपचारका लागि दैनिक १५ देखि ५० जनासम्म आउने गरेको अस्पताल इन्चार्ज डा. दीपेन्द्र यादवले बताए । 

अस्पताल सञ्चालन गर्न दाताकै भर 
५० शय्या क्षमताको भए पनि आर्थिक अभाव हुँदा तत्काल स्थानीय सहृदयीहरूले गरेको आर्थिक सहयोगको भरमा चलिरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल सञ्चालक समितिका अनुसार क्लिनिकल सेवा थालनी भएपछि स्थानीय अशोक खड्काले दुई लाख, निको इन्स्योरेन्स, एनसिसी बैंक र अन्यले एक लाख गरी तीन लाख रुपैयाँ प्राप्त भएपछि एक चिकित्सक, एक स्वास्थ्य सहायक, दुई सिएमए र गार्डमार्फत सेवा सुचारु गरिएको हो । 

नगरपालिकाले तत्काल १५ शय्याको अस्पताल सञ्चालन स्वीकृतिको साथै एक थान कम्प्युटर र केही औषधि सहयोगस्वरूप उपलब्ध गराएको अस्पतालले जनाएको छ । तत्काल सञ्चालन खर्च मात्र धान्ने गरी न्यून शुल्कमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ ।

सुझावित समाचार