पौडेलको स्मृतिमा महासंघले १० लाखको अक्षय कोष स्थापना गर्ने

बुधबार, ११ माघ, २०७९
डिजिटल संस्करण

यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना गरिने भएको छ । नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । 

समितिको सोमबार बसेको बैठकले कोषको रकममध्ये महासंघ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल राख्ने र बाँकी पाँच लाख रुपैयाँ प्रदेशअन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरूसँग समन्वय गरेर जुटाउने निर्णय भएको समितिका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।

सो कोषको ब्याजबाट प्राप्त हुने रकमले ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ वितरण गरिने सुवेदीले जानकारी दिए । हरेक वर्ष प्रदेशभरका पत्रकारमध्येबाट एकजनालाई प्रदान गरिने र यसका लागि आवश्यक कार्यविधि तयार गरिने उनको भनाइ छ ।

स्वर्गीय पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकार रहेका थिए । 
 

सुझावित समाचार