सप्तकोशीमा बेपत्ता भएका तीनजना अझै फेला परेनन्

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

उदयपुर/धनकुटाको साँगुरीगढी गाउँपालिका– १०, त्रिवेणीको कोप्चेमा सप्तकोशी नदीमा आइतबार मोटरबोट दुर्घटना हुँदा बेपत्ता भएका तीनजना अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण रन्जितकारका अनुसार बेपत्ताहरूको खोजीका लागि दुर्घटना स्थलदेखि सुनसरीको बराहक्षेत्रसम्म प्रहरी परिचालन गरिएको छ ।

तर, आइतबार र सोमबार खोजी गर्दा पनि उनीहरू फेला पर्न नसकेको उनको भनाइ छ । ‘सशस्त्र प्रहरीको गोताखोर टोलीसहित खोजी गरिरहेका छौँ । सोमबार दिनभर खोज्दा पनि फेला पार्न सकेनौँ,’ उनले भने ।

बेपत्ता हुनेमा झापाको कन्काई नगरपालिका– ४ की नीता मगरका सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका– १ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई छन् । मंगलबार पनि खोजी कार्यलाई निरन्तरता दिइने उनले बताए । दुर्घटनामा तीनजनाको मृत्यु भएको थियो । 

सुझावित समाचार