विराटनगर/ विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले २७ वर्षीया युवतीलाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । घटनास्थलबाट करिब दुई सय मिटर पर ह्यान्डल लक भएको अवस्थामा मृतकले प्रयोग गरेको स्कुटर फेला परेको, व्यक्तिगत सम्बन्ध र आर्थिक कारोबारमा खटपट भएको भनिए पनि प्रहरीले अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको छैन ।
लामो समयपछि वैदेशिक रोजगारीबाट फर्केपछि खत्रीले आठ वर्षदेखि विराटनगरको कञ्चनबारीको पिपलचोकमा पिजफायर रेस्टुरेन्ट खोलेका थिए । ५१ वर्षीय खत्री शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर विराटनगर महानगरपालिका– ३ स्थित घरबाट निस्किएका थिए ।
त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका उनी शनिबार अपराह्न मोरङको केराबारी गाउँपालिका– ९ स्थित धारापानी जंगलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शनिबार नै आफन्तले इलाका प्रहरी बेलबारीमा रेस्टुरेन्टमा क्यासियरको काम गर्ने झापाको गौरादह घर भएकी २७ वर्षीय युवतीलाई पक्राउ गरेर आइतबार व्यवसायी खत्रीलाई मर्न बाध्य बनाएको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गराएको छ ।
रेस्टुरेन्टकै कर्मचारी युवतीसँग प्रेमसम्बन्ध भएको र युवतीले हिसाबकिताब हिनामिना गरेकै कारण उनले आत्महत्या गरिहाल्नुपर्ने अवस्था नभएको उनलाई नजिकबाट चिन्ने साथीहरू बताउँछन् । मोरङका एसपी कवित कटुवाल शव बरामद भएसँगै भाइ नाता पर्ने आफन्तले युवतीविरुद्ध किटानी जाहेरी दिएको र उनीहरूको हिमचिमबारे मोबाइलबाट प्रमाणहरू फेला परेकाले अनुसन्धानका लागि युवतीलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको बताउँछन् ।
युवतीले व्यवसायी खत्रीलाई लामो समयदेखि मानसिक रूपमा टर्चर गर्ने गरेको र रेस्टुरेन्टको हिसाबकिताब हिनामिना गर्ने गरेको उजुरीमा आरोप लगाइएको प्रहरीको भनाइ छ । ‘किटानी जाहेरी परेको र दुवैबिच सम्बन्ध भएको पाएपछि अनुसन्धानका लागि युवतीलाई पक्राउ गरेर आइतबार पाँच दिनको म्याद थप गरेर मुद्दा दर्ता गराएका हौँ, बाँकी अनुसन्धान गर्दै छौँ,’ उनले भने ।
प्रहरीमा परेको जाहेरीअनुसार पक्राउ गरिएकी युवती पाँच वर्षदेखि खत्रीको पिजफायर रेस्टुरेन्टमा क्यासियरकी रूपमा कार्यरत थिइन् । पछिल्लो समय व्यक्तिगत सम्बन्ध तथा आर्थिक कारोबारका विषयमा दुवैबिच खटपट देखिएको थियो ।