सातमध्ये आइतबार एक र सोमबार ६ वटा प्रदेश सभाका बैठक बसे, केहीले सभामुख तथा आगामी सरकार निर्माणका लागि प्रक्रिया पनि सुरु गरिसकेका छन्
सुदूरपश्चिम : समृद्ध प्रदेश बनाउने संकल्प

नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले आगामी पाँच वर्षमा सुदूरपश्चिमलाई समृद्ध बनाउने संकल्प गरेका छन् । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरूले यहाँ विद्यमान कुसंस्कार, कुरीति अन्त्य गर्दै प्रदेशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन प्रदेश सभामार्फत एकजुट भएर भूमिका खेल्ने प्रतिबद्धता जनाए । यहाँको विकाससँगै गरिबी, बेरोजगारी, अशिक्षा, अभावको अन्त्यका लागि प्रदेश सभाले सशक्त भूमिका निर्वाह गरेर जानुपर्नेमा उनीहरूको जोड छ ।
कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्टले गरिबी, बेरोजगारी, स्वास्थ्य सेवाको अभाव, भौगोलिक विकटता, सूचना प्रविधिको पहुँचमा कमीजस्ता समस्या समाधानसँगै आवश्यक पूर्वाधार निर्माण गरेर प्रदेशलाई विकासको बाटोमा लैजानुपर्ने धारणा राखे । अभाव, पछौटेपन र गरिबीको दलदलमा रहेको सुदूरपश्चिमलाई सुन्दर बनाउने दायित्व आफूहरूको काँधमा आएको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विकाससँगै भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्नु प्रदेश सभाको प्रमुख कर्तव्य भएको बताए । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले भ्रष्टाचार र ढिलासुस्ती हटाउन सके मात्र मतदाताको मतको कदर हुने धारणा राखे । एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घ सोडारीले तीन तहबीच सहमति, सहकार्य र सहअस्तित्वमा काम हुन नसकेको बताए । राप्रपाका प्रदेश सभा सदस्य खिमादेवी विष्टले आफूहरू फरक–फरक दलबाट निर्वाचित भए पनि सुदूरपश्चिमको विकासमा एकजुट भएर जानुपर्ने बताइन् ।
स्वतन्त्रबाट विजयी प्रदेश सभा सदस्य डा. तारा जोशीले बेरोजगारी अन्त्य तथा सामाजिक, आर्थिक विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिले योजना बनाउनुपर्ने विचार राखे । असन्तुलित विकासले पहाडबाट तराईमा भइरहेको बसाइँसराइ रोक्नु चुनौती रहेको उनले बताए ।
कर्णाली : प्रदेशको विकास सबैको साझा एजेन्डा

कर्णाली प्रदेश सभाको पहिलो बैठकमा दलका नेता तथा सांसदहरूले कर्णालीको विकासप्रति आ–आफ्ना प्रतिबद्धता तथा समसामयिक राजनीतिक विषयमा चर्चा गरेका छन् । प्रदेशका मुख्यमन्त्री तथा कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि ऐन कानुन राम्रा बनाउनुपर्ने अवस्था आएको बताए । एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीको विकास लागि सबै दलका सांसद एकताबद्ध हुनुपर्ने बताए । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले गरिबी नै सबैको साझा शत्रु भएको भन्दै प्रदेश सभाले कर्णालीका जनतालाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न सक्नुपर्ने बताए । ‘हाम्रो साझा शत्रु गरिबी हो,’ उनले भने, ‘भनिन्छ कर्णाली सुनको डल्लो हो । यो सुनको डल्लोलाई कालीगढ चाहिएको छ । त्यही कालीगढ बन्नु छ ।’ राप्रपा नेपालका सन्तोषी शाहीले राजनीतिक सहमतिभन्दा बाहिर गएर नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लादिएको चर्चा गरिन् । एकीकृत समाजवादीका सांसद कल्याणी खड्काले जनताको माग सम्बोधन गर्नेभन्दा पदका लागि जता पनि लाग्ने प्रवृत्ति हाबी हुँदै गएको भन्दै कर्णाली प्रदेश सभाले त्यस्तो भोग्न नपरोस् भन्ने शुभकामना व्यक्त गरिन् ।
लुम्बिनी : प्रदेश सभा नियमावली ०७९ पारित

प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । सोमबार बसेको पहिलो बैठकले उक्त नियमावली पारित गरेको हो । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गर्यो । नियमावली पारित भएसँगै अब यही नियमावलीका आधारमा प्रदेश सभाले आफ्ना गतिविधि अघि बढाउनेछ । यसअघि प्रदेश ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको हो ।
लुम्बिनी प्रदेशको दोस्रो सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले निजामती सेवा ऐन पारित नहुँदा कार्यसम्पादनमा जटिलता देखिएको बताए । उनले संघीय निजामती सेवा ऐन नआउँदा प्रदेश नेजामती सेवा ऐन पारित गरी कार्यान्वयन गर्न जटिलता थपिएको बताए । जसले गर्दा जनशक्ति व्यवस्थापनको समस्या बढेको बताए । प्रदेश सभा बैठकमा अन्य विभिन्न दलका सांसदहरू आशिषकुमार चौधरी, धर्मबहादुर चौधरी, सन्तोषकुमार पाण्डेय, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवती अधिकारी र तारा थापाले संसद्मा मन्तव्य व्यक्त गरेका थिए ।
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक ३ माघमा बस्ने भएको छ । अब सभामुख र उपसभामुख चयनका लागि प्रदेश सभामा बाटो खुलेको छ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअन्तर्गत राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।
गण्डकी : दुई अध्यादेश पेस
गण्डकी प्रदेश सभाको नयाँ अधिवेशन सोमबारदेखि सुरु भएको छ । सोमबार बसेको पहिलो बैठकमा दुई अध्यादेश पेस भएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले अध्यक्षता गरेको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइएको थियो । त्यसपछि बस्यालले प्रदेश सभाको कामकारबाहीलाई नियमित गर्न गण्डकी प्रदेश, प्रदेश सभा नियमावली ०७४ लाई स्वीकार गरी बैठक सञ्चालन गर्न सभासमक्ष प्रस्ताव पेस गरे ।
बैठकमा कानुन सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ टेबल गरे । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ७ असोजमा ०७९ मा यी दुई अध्यादेश जारी गरेको थियो । सभाको अर्को बैठक २९ पुसमा बस्ने भएको छ ।
बागमती : पहिलो बैठकमा पाँचवटा अध्यादेश टेबल

बागमती प्रदेश सभाको दास्रो कार्यकालको पहिलो बैठकमा विभिन्न पाँचवटा अध्यादेश टेबल गरिएको छ । बैठकले प्रदेश सभा नियमावली ०७४ (पहिलो संशोधन)लाई अंगीकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।
बैठकले बागमती प्रदेश सभाका सभामुख र उपसाभामुखको निर्वाचनको मितिसमेत तय गरेको छ । बैठकले २९ पुसमा सभामुख र उपसभामुखको चयन गर्न कार्यतालिका पारित गरेको हो । बैठकले निर्वाचनका लागि प्रदेश सभा सचिवालय हेटौँडाका सचिव कृष्णहरि खड्कालाई आवश्यक प्रक्रियाअगाडि बढाउन जिम्मेवारी दिएको छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिले सभामुखको निर्वाचनको तयारी छ ।
बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेश सभा नियमावली पहिलो संशोधन ०७४ को नियम ११ उपनियम १ बमोजिम पाँचजना सदस्य मनोनीत गरेको छ । बैठक सञ्चालन गर्न सदस्य उर्मिला नेपाल (कांग्रेस), भारती पाठक (एमाले), लक्ष्मी घिमिरे (राप्रपा), डा. राजेन्द्रमान श्रेष्ठ (एकीकृत समाजवादी) र ठाकुरप्रसाद ढकाल (माओवादी)लाई मनोनीत गरिएको छ ।
यस्तै, बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरेको अध्यादेश, ०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, ०७९ टेबल गरेका छन् । संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन– ०७५ लाई संशोधन गर्न बनेको अध्यादेश टेबल गरे । कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश– ०७९ टेवल गरिन् । यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश– ०७९ पनि टेबल गरे । दोस्रो बैठक २९ पुसमा बस्ने गरी सोमबारको बैठक स्थगित भएको छ ।
मधेस : संघीयता कार्यान्वयनमा चुनौती रहेको गुनासो

मधेस प्रदेशको दोस्रो कार्यकाल सोमबारबाट औपचारिक रूपमा सुरु भएको छ । पहिलो बैठकमा मुख्यमन्त्रीसहित विभिन्न दलका नेताले सम्बोधन गरे । पाँच वर्ष मुख्यमन्त्री रही दोस्रो कार्यकालका लागि पुनः सांसदमा निर्वाचित भएका लालबाबु राउतले अझै पनि संघीयता कार्यान्वयनमा चुनौती रहेको बताए । नयाँ सरकारकालाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने भन्दै उनले सबै दल एकमत भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।
रेशमलाई रिहा नगरे उन्मुक्तिले बैठक चल्न नदिने
सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठकमै नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको विषय उठाएको छ । संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले रेशमसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहा गर्नुपर्ने माग जोडसँग उठाए । टीकापुर घटनालाई राजनीतिक रूपमा लिनुपर्ने बताएका उनले आगामी माघी वर्पसम्ममा उनीहरूलाई रिहा नगरिए सदन अवरुद्ध गर्ने जानकारी गराए । ‘रेशम चौधरीलाई अन्यायपूर्वक डिल्लीबजारको कोठरीमा राखिएको छ । धनगढीको कारागारमा पनि हाम्रा दाजुभाइहरू राखिनुभएको छ । उहाँहरूलाई निकास दिनुपर्छ,’ उनले भने, थरूहट प्रदेशको मागसहित भएको आन्दोलनले ०७२ साउनमा हिंसात्मक रूप लिँदा आठजना प्रहरी र एकजना नाबालकको ज्यान गएको थियो । उक्त घटनामा दोषी ठहर भएका रेशमसहित सातजना कारागारमा छन् । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा सरकारमा सहभागी हुनका लागि उनीहरूको रिहाइलाई प्रमुख सर्त बनाएको छ ।
धनगढीमा तेजराज भट्ट, वीरेन्द्रनगरमा रमेश रावल, दाङमा दीपक बोहरा, पोखरामा रोहितराज पराजुली, हेटौँडामा पोष्टराज अधिकारी र जनकपुरधाममा हदिश खुद्दार