कठ्यांग्रिँदै मलको लाइनमा किसान

शनिबार, १६ पुष, २०७९
डिजिटल संस्करण

कालोबजारीमा प्रशस्त पाइने मल सरकारले दिन सक्दैन 

भरतपुर–२५, शुक्रनगरमा १८ किसान रहेका युवा आधुनिक सामूहिक खेतीमा आबद्ध किसानहरूले बर्खे तरकारी खेतीका लागि आवश्यक मल पाएनन् । एक सय २० बिघा जमिनमा सामूहिक आधुनिक व्यावसायिक खेती गर्ने उद्देश्यले ०७७ सालमा समूह गठन भए पनि मल अभावकै कारण अहिले आधाभन्दा बढी जमिनमा तरकारी खेती भएको छैन । 

मल अभावकै कारण उत्पादनसमेत घटेको समूहका संस्थापक सदस्य सुमन सुवेदीले बताए । उनले भने, ‘मल नपाएपछि प्रतिबोरा नौ सय ५० पर्ने युरिया कालोबजारीमा तीन हजारभन्दा बढी र २४ सय ५० मा पाइने डिएपी पाँच हजारमा खरिद गर्नुपरेको छ ।’

एक त हाम्रो लागत नै महँगो छ । मलसमेत तेब्बर मूल्यमा किन्नुपरेपछि विकल्प खोज्दै छौँ ।’ तर, महँगो मूल्यमा खरिद गर्न तयार भए बिचौलियाबाट जति पनि मल पाइन्छ । अहिले गहुँ, तोरीमा पनि युरिया मल छर्ने समय हो । तर, स्थानीय किसानहरू चिसोमा दिनभर लाइनमा बस्दा पनि १० केजी मल पाउन मुस्किल छ ।

बिहीबार पाखुरीचोक कृषि सहकारी संस्थामा भेटिएका ८३ वर्षका पीताम्बर देवकोटा ६ कट्ठा खेतमा हाल्नका लागि मलको लाइनमा थिए । ‘पहिले–पहिले उमेरमा ९–१० बिघामा खेती गर्दासमेत कहिल्यै मलको अभाव भएन,’ उनले भने, ‘अहिले भनेको समयमा मल पाइँदैन, चैते धान पनि रोप्ने हो । अहिल्यै लगेर राख्न पाए सजिलो हुन्थो कि !’   

चितवनमा खेती गर्न सजिलो हुने र फाइदा पनि हुने भन्ने सुनेर दमौलीबाट चार वर्षअघि चितवन झरेका राम गिरी डेढ बिघा जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । ‘तर, मलजस्तो आधारभूत चिज पैसा हाल्न तयार हुँदा पनि राज्यले दिन सकेको छैन,’ उनले भने, ‘तोरीलाई मल नहाली भएको छैन, २५ हजार लगानी भइसक्यो । कृषिबाहेक मेरो आम्दानीको स्रोत छैन ।’ 

अहिले गृहमन्त्री रवि लामिछाने भएपछि आउँदा दिनमा मल अभाव नहुने उनको विश्वास छ । चिसोमा घन्टौँ लाइनमा बसेपछि १० केजी मल पाइएको स्थानीय किसान सीता अधिकारीले बताइन् ।  

मल नल्याउने पाँच ठेकेदार र कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले रासायनिक मल नल्याउने पाँच ठेकेदार कम्पनी र सञ्चालकलाई कालोसूचीमा राखेको छ । कार्यालयले १३ पुसमा सार्वजनिक सूचना प्रकाशित गरेर सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्ट्रिक्स र सिल्क मार्केटसहित २४ कम्पनीलाई कालोसूचीमा सिफारिस गरेको थियो । अब यी कम्पनीले तीन वर्षका लागि कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउनेछैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयको सिफारिसमा अन्तर्राष्ट्रिय कम्पनी सिल्क मार्केट र यसका मुख्य व्यक्ति अजय थापा, सिनोम्याक एचआई सांघाई इन्टरनेसनल ट्रेड कम्पनी र यसका मुख्य व्यक्ति बिफेङ, ग्लोबल म्याक्ट्रिक्स ट्रेडिङ र यसका मुख्य व्यक्ति नवीन तुलाधर, विध म्यानेजमेन्ट कुपन्डोल र यसका मुख्य व्यक्ति भीमकान्त भण्डारी र सिल्क मार्केट नक्साल र यसका व्यक्ति रमेश शेर्पालाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । यी कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा ५० हजार मेट्रिकटन युरिया आयात गर्न ठेक्का पाएका थिए । सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्ट्रिक्सले २५–२५ हजार मेट्रिकटन युरियाको ठेक्का लिएका थिए भने सिल्क मार्केटले पाँच हजार मेट्रिकटन डिएपी आयातको ठेक्का पाएको थियो ।

घोषणापत्रमा सीमित मलको समस्या 
विगतका वर्षहरूमा कुनै पनि सरकारले किसानले मलको हाहाकार समस्या सुल्झाउन सकेनन् । यद्यपि, ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दलहरूले आफ्नो घोषणापत्र र प्रतिबद्धतामा मललाई प्राथमिकतामा राखेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सन् १९८४ मा पहिलोपटक गरेको अध्ययनले नेपालमा नाइट्रोजन ऊर्जाबाट रासायनिक मल कारखाना स्थापना गर्न सम्भव रहेको देखाएको थियो । त्यसपछि यो विषय हरेक नयाँ सरकार आउँदा चर्चामा आउने र बिस्तारै सेलाउने गरेको छ ।

See More On

सुझावित समाचार