प्रदेश १ सभामा कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । आज बिहान सम्पन्न निर्वाचनमा दुईजना प्रतिस्पर्धीलाई पराजित गर्दै झापाका प्रदेश सांसद उद्धव थापा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । निर्वाचित भएका थापाले मतदान भएको २९ मतमा १९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धीहरू केदार कार्कीले नौ र अमृत अर्यालले दुई मत मात्र प्राप्त गरे ।
दलको नेतामा विजयी भएका थापा कृष्ण सिटौला समर्थक हुन् । समानुपातिक कोटाबाट प्रदेश सांसदमा निर्वाचित भएका उनी नेपाली कांग्रेस प्रदेश १ का सभापति पनि हुन् । पराजित भएका सांसद कार्की वर्तमान प्रदेश १ सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । कार्की डा. शेखर कोइरालानिकट हुन् । यसैगरी दुई मत मात्र प्राप्त गरेका अर्याल संस्थापन पक्षका हुन् । अर्याल कांग्रेस पार्टीको केन्द्रीय सदस्य पनि छन् ।
सर्वसम्मत चयन हुन नसकेपछि कांग्रेस संसदीय दलको नेता छान्न आज बिहान विराटनगरको बरगाछीस्थित कांग्रेस प्रदेश १ कार्यालयमा निर्वाचन भएको हो । निर्वाचनमा निर्वाचित भएका १२ जना समानुपातिक र १७ जना प्रत्यक्षतर्फका सबै २९ जना सांसदले सदर मतदान गरेका थिए ।
कांग्रेसको विधानअनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनुपर्ने नियमअनुसार थापा पहिलो चरणमै दलको नेता चयन हुन सफल भएका हुन् । प्रदेश १ सभामा दोस्रो कार्यकालका लागि सबैभन्दा ठूलो दल एमालेमा हिक्मतकुमार कार्की, तेस्रो दल माओवादी केन्द्रमा इन्द्रबहादुर आङ्बो सर्वसम्मत दलको नेतामा चयन भइसकेका छन् । चौथो दल राप्रपा र पाँचौँ दल एकीकृत समाजवादीले अझै दलको नेता चयन गरेका छैनन् । तर, एसमा राजेन्द्रकुमार राई र राप्रपामा भक्तिप्रसाद सिटौला दलको नेता सर्वसम्मतले चयन हुने निश्चित छ ।