बागमती प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले बुधबार शपथ लिएका छन्। बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन्।
ढुंगाना नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभामा निर्वाचित भएका हुन्। उनी ७२ वर्षका रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
सचिव खड्काका अनुसार प्रदेश सभा सदस्य ढुंगानाको जन्म २००६ साल असोज २ गते भएको हो।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्थाअनुसार ढुंगानालाई शपथ गराइएको हो।
बागमती प्रदेश सभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी एक सय १० जना सदस्य छन्। ज्येष्ठ सदस्य ढुंगानाले भोलि बिहीबार प्रदेश सभाका बाँकी एक सय नाै सदस्यलाई शपथ गराउनेछन्।