उपन्यासका त्यस्ता कैयौँ पात्र छन्, जसको भूमिका आफैँले सिनेमा वा नाटकमा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । एउटा पात्र विश्वेश्वरप्रसाद कोइरालाको नरेन्द्र दाइ उपन्यासको नरेन्द्र हो । यो पुस्तक मैले १५ वर्षअगाडि पढेको थिएँ । मेरो मनबाट त्यो पात्र अहिले पनि हटेको छैन ।
नाटकको कुरा गर्दा मलाई हेनरिक इब्सेनका नाटक मन पर्छ । नेपालमा बालकृष्ण सम, अभि सुवेदीलगायत मन पर्छ । समयअनुसार पुस्तक छनोटमा पनि फरक पर्ने रहेछ । पुराना कविमा भूपि शेरचन र महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता मन पर्थे ।
अहिले श्यामल, उपेन्द्र सुब्बाका कथा–कविता मन पर्छन् । कर्णाली ब्लुज, पल्पसा क्याफे, सेतो धरती मलाई मन परेका पुस्तक हुन् । मलाई शंकर लामिछानेको लेखनशैली सबैभन्दा धेरै मन पर्छ । उनको शैली अनौठो र जादुयी पाउँछु । नारायण वाग्ले, बुद्धिसागर, अमर न्यौपानेको लेखनशैली पनि आकर्षक छ ।