राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा निजी क्षेत्रले भोगिरहेको समस्या पहिचान गरेर समाधान गरिदिन सरकारसँग आग्रह गरेकी छिन्।
उद्योग संगठन मोरङले २९ मंसिरदेखि ६ पुससम्म आयोजना गरेको औद्योगिक व्यापार मेला विराट एक्स्पोको बिहीबार उदघाटन गर्दै राष्ट्रपति भण्डारीले उद्योगीहरूले गरेको आग्रहलाई सम्बोधन गर्दै निजी क्षेत्रका समस्या समाधान गरिदिन सरकारलाई आग्रह गरेकी हुन्।
उनले देशमा निजी क्षेत्रलाई प्रोत्साहन दिएर उद्योगधन्दाको विकास गर्न सके मात्र पुँजी र प्रतिभा पलायनबाट रोक्न सकिन्छ भनिन्।
प्रदेश १ को राजधानी विराटनगर ऐतिहासिक औद्योगिक इतिहास बोकेको मात्र नभएर विराट सम्भावना भएको महानगर पनि भएकोले यसको ऐतिहासिकताको संरक्षण र औद्योगिक विकासका लागि सबैलाई सहकार्य गर्न आग्रह गरिन्।
राष्ट्रपति भण्डारीले भनिन्, ‘हिजो देशकै पहिलो र ठूलो औद्योगिक नगर आज आफ्नो पहिचानका लागि संघर्षरत छ, यसैले हामी सबैले विराटनगरको विकासमा सहयोग गर्न आवश्यक छ।’
राष्ट्रपति भण्डारीले कोभिडले थला पारेको देशको अर्थतन्त्रलाई बलियो बनाउँदै लैजान विराट एक्स्पोजस्ता औद्योगिक व्यापार मेलाहरूले सहयोग गर्ने विश्वास व्यक्त गरिन्। उनले उद्योग र कृषकहरूको सम्बन्ध प्रगाढ बनाउँदै लान सके देशमा चाँडो अर्थतन्त्र बलियो हुने बताइन्।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विकासका लागि राज्य पहिलेजस्तो सिंघल एजेन्ट नरहेकोले अब निजी र गैरसकारी क्षेत्रसँग सरकारले व्यवस्थापक बनेर सहयोग गर्नुपर्नेमा जोड दिए।
उनले प्रदेश १ संस्कृति र प्रकृतिको प्रचुर सम्भावना भएको क्षेत्र भए पनि उद्योगधन्दाको अपेक्षाकृत विकास हुन नसक्दा विकासमा ह्रास आउन थालेको बताए।
उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले देशमा पहिलो उद्योग विराटनगरबाट स्थापना भएकोले त्यसको इतिहास संरक्षण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए।
उनले विराटनगरको गुमेको शाख फर्काउन महानगरपालिका सधैँ तत्पर छ भन्दै थप पहल गरिदिन राष्ट्रपति भण्डारीसँग आग्रह गरे। उनले स्थानीय औद्योगिक नीति बनाउन र सेज निर्माण गराउन अनि प्रदर्शनीस्थल निर्माण गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे।
निजी क्षेत्रले राष्ट्रपतिलाई भने- यो समस्या सिंगो राष्ट्रको हो।
उक्त उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सशस्त्र द्वन्दव, नाकाबन्दी, भूकम्प, लामो लोडसेडिङ र कोभिडको मारसमेत झेलेर भर्खर उकासिन थालेको अर्थतन्त्रले अहिले सबैभन्दा गम्भीर चुनौती झेलिरहनुपरेको बताए।
उनले निजी क्षेत्रले भोगिरहेको चुनौतीहरू समाधान गर्न पहल गरिदिन राष्ट्रपतिसँग आग्रह गरे। अध्यक्ष गोल्छाले भने, ‘अहिले हामीले भोगेको समस्या निजी क्षेत्रको मात्र हैन, समग्र देशको हो यसैले चालू पुँजी निर्देशिका थाती राखेर वाणिज्य बैंकहरूको ब्याजदरमा सुधार गर्न सके व्याप्त तरलता हटेर भइरहेको आर्थिक संकुचन फराकिलो बन्दै जानेछ।’
अध्यक्ष गोल्छाले हाल बैंकहरूको व्यवहारले गर्दा बजारमा उत्पन्न तरलताले गर्दा सबै औद्योगिक क्षेत्रमा तीव्र रूपले संकुचन आउन थालेको बताए।
उनका अनुसार उद्योग वाणिज्य संघले गरेको सवेक्षणअनुसार हाल निर्माण उद्योगमा ७० प्रतिशत विद्युतीय कारोबारमा ५५ प्रतिशत होटेल व्यवसायमा ४० प्रतिशत र पुँजी बजारमा ३८ प्रतिशत संकुचन आइसकेको छ। तरलताले गर्दा डिजेलको खपत पनि २५ प्रतिशत घटिसकेको छ।
पहिलेभन्दा फरक र भव्य 'विराट एक्स्पो'
बिहीबार २९ मंसिरमा उदघाटन भएर ६ पुससम्म विराटनगर १४ स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना भएको सातौँ विराट एक्स्पो विगतभन्दा फरक र भव्य भएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले दाबी गरे।
उनले एक्स्पोमा रोबटसँग भेटघाट गर्ने, भिआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउन्टेन फ्लाइटको व्यवस्था गरिएको जानकारी दिए। साथै, एक्स्पोमा कृषि र पर्यटनको छुट्टै पेभेलियन छ। यसैगरी, प्लास्टिकको रडियुस्, रियुज र रिसाइकल थिममा फेसन पनि आयोजना गरिनेछ। त्यसैगरी, प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति छ।
विभिन्न क्षेत्रका ४ सय ७५ प्रवर्द्धनहरू सहभागी हुने भएकाले नयाँ उद्यम गर्न चाहनेहरूका लागि एक्स्पो अत्यन्तै उपयोगी हुने आयोजकले जनाएको छ।
नेपाल, भारत, पाकिस्तान र बंगलादेशका उद्योगी, व्यापारीहरूकोसमेत स्टल रहने विराट एक्स्पो ३ लाख बढीले अवलोकन गर्ने दाबी आयोजकको छ।