अमेरिकी प्रतिबन्धमा रहेको इरानी कम्पनीसँग ठेक्का तोड्ने उत्तरगंगाको निर्णय

सम्झौता भएको १५ महिनासम्म पनि कम्पनीले काम गरेन

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण

अमेरिकी प्रतिबन्ध सूचीमा रहेको इरानी कम्पनीसँग उत्तरगंगा पावर कम्पनीले ठेक्का तोड्ने भएको छ । उत्तरगंगाले यसै साता इरानी कम्पनीसँग ठेक्का तोड्ने निर्णय गर्दै बिहीबार टर्मिनेसनको सूचनासमेत जारी गरिसकेको छ । 

बाग्लुङमा निर्माण हुने आठ सय २८ मेगावाटको उत्तरगंगा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन रिभ्यु गर्ने, आयोजनाको विस्तृत डिजाइन बनाउने र बिडिङ डकुमेन्टसमेत तयार पार्ने गरी अगस्ट ०२१ मा नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । १८ महिनामा काम सम्पन्न गर्ने गरी ६० करोड रुपैयाँमा उक्त ठेक्का भएको थियो । 

तर, उक्त कम्पनी अमेरिकी प्रतिबन्ध सूचीमा रहेको रहस्य खुलेपछि नेपाल बैैंकले कम्पनीको खाता रोक्का गरेको छ । साथै, अन्य बैंकहरूले पनि खाता खोल्न मानेका छैनन् । त्यसपछि भुक्तानी लिने बाटो नै बन्द भएपछि कम्पनीले उत्तरगंगाको काम अघि बढाएको थिएन । ठेक्का सम्झौता भएको १५ महिनामा समेत कम्पनीले सामान्य स्थलगत अध्ययनबाहेक कुनै काम गरेको छैन । त्यसपछि ठेक्का तोड्ने निर्णय गरेको आयोजना प्रमुख अम्बिकेश झाले बताए । साथै, आवश्यक प्रक्रिया पूरा गर्न बिहीबार ठेक्का टर्मिनेसनको सूचना जारी गरेको उनको भनाइ छ ।

आयोजनाले कम्पनीलाई एक महिनाको समय दिँदै टर्मिनेसनको सूचना प्रकाशन गरेको छ । सोअनुसार इरानी कम्पनीले ६ जनवरी ०२३ भित्र आफ्नो कुनै पनि दाबी आयोजनामा पेस गर्न सक्नेछ । त्यसपछि ठेक्का तोड्ने कार्यले अन्तिम रूप पाउनेछ । 

आयोजनाले झन्डै तनि महिनापहिले कम्पनीलाई सस्पेन्सन लेटर पनि पठाएको थियो । कम्पनीले बैंक खाता फुकुवा भएर भुक्तानी पाउने ग्यारेन्टी भएपछि मात्रै काम सुरु गर्ने उत्तर पठाएको थियो । तर, नेपालका बैंकहरू उक्त कम्पनीसँग कारोबार गर्न सहमत भएका छैनन् । यता आयोजना पनि अनिश्चितकालीन रूपमा उक्त कम्पनीलाई प्रतीक्षा गरेर बस्ने अवस्थामा छैन । सोही कारण ठेक्का तोड्ने निर्णयमा पुगिएको आयोजना प्रमुख झाको भनाइ छ ।

‘कम्पनीले भुक्तानी लिने ग्यारेन्टी भएपछि मात्रै काममा फर्किने भनेको छ । तर, बैंकहरू भने त्यो कम्पनीसँग कारोबार गर्न मानेका छैनन्,’ उनले भने, ‘ठेक्का म्याद पनि करिब अन्तिम चरणमा पुगेको छ । तर, काम भने भएकै छैन । सोही अवस्थालाई दृष्टिगत गर्दै ठेक्का तोड्ने निर्णय गरेका हौँ ।’ साथै, अब छिट्टै आवश्यक प्रक्रिया पूरा गरेर नयाँ ठेक्का आह्वन गरिने उनको भनाइ छ । 

 स्थलगत अनुगमन मात्रै 
कम्पनीले आयोजनासँग ठेक्का सम्झौता गरेको १५ महिनाभन्दा बढी भइसक्यो । ठेक्का सम्झौताअनुसार कम्पनीले अबको तीन महिनाभित्र काम सक्नुपर्ने हुन्थ्यो । तर, कम्पनीले आयोजनाको सामान्य स्थलगत अध्ययनबाहेक कुनै पनि काम गरेको छैन । सुरुवाती चरणमा कम्पनीले विदेशबाट विज्ञहरू ल्याएर आयोजनास्थलको अध्ययन गरेको थियो । त्यस अध्ययन प्रतिवेदनको मस्यौदासमेत पेस गरेको थियो । तर, त्यो प्रतिवेदन आफैँमा अपूरो रहेको आयोजना प्रमुख झाले बताए । यद्यपि, ठेक्का तोड्ने निर्णय भए पनि कम्पनीले त्यसबापतको रकम भने पाउन सक्ने उनको भनाइ छ । 

सुझावित समाचार