नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

नवलपरासी पूर्वको देवचुली–४ मा रहेको शान्ती श्रृजना मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ। प्रदेश सभातर्फको समानुपातिक मत रहेको पेटिकामा आगजनी भएको जिल्ला निवार्चन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए।

आगजनी गर्ने देवचुली-४ का नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। भण्डारीले तीन वटा मतपत्र खसालीसकेपछि चौथौं अर्थात अन्तिम मतपत्र हाल्ने बेलामा पेटिकामा एसिड हालेका थिए। मतदान प्रकृया के गर्ने भन्ने विषयमा निर्वाचन आयोगमा जानकारी गराइएको भुसालले बताए।

मतपेटिकामा आगजनी गरेपछि भण्डारी भागेका थिए। मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।

सुझावित समाचार