मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २७ आइतबार ०६:३१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप : एपिएफलाई दोस्रोपटक उपाधि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २७ आइतबार ०६:३१:००

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ दोस्रोपटक च्याम्पियन भएको हो । एक सय ८० रनको लक्ष्य पछ्याएको एपिएफले नौ बल बाँकी रहँदा ६ विकेट गुमाउँदै खेल जितेको हो । 

धर्मराएको आर्मीको ब्याटिङ
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ७९ रनको योगफल बनाएको थियो । खेल केही समय ढिला हुँदा ४० ओभरमा झारिएको थियो । नेपाल पुलिस क्लबविरुद्ध सेमिफाइलनमा तीन सय पाँच रनको लक्ष्य पूरा गरेको आर्मी क्लब एपिएफविरुद्ध भने कमजोर देखियो ।

अघिल्लो दिन मात्रै राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका रोहितकुमार पौडेलबाहेक आर्मीका कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । साझेदारीसमेत लामो रहन सकेन । रोहितले सर्वाधिक ४९ रन बनाएका थिए । उनले ५६ बलमा तीन चौका प्रहार गरे । अलराउन्डर जितेन्द्र मुखियाले २५ बलमा तीन चौका मद्दतमा अविजित २४ रन जोडका थिए ।

त्यसैगरी, सुसन भारीले २५ बलमा दुई चौका मद्दतमा १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ एपिएफका मौसम ढकाल र अमरसिंह रौटेलाले समान तीन–तीन विकेट लिएका थिए । मौसमले आठ ओभरमा ३२ रन खर्चिएका थिए । अमरले आठ ओभरमा ४० रन खर्चिएका थिए । त्यसैगरी, किशोर महतोले सात ओभरमा २८ रन खर्चिंदै दुई विकेट लिए ।

भुवनको उत्कृष्ट इनिङ
जवाफी ब्याटिङ गरेको एपिएफले मध्यक्रमका ब्याट्सम्यान भुवन कार्कीको उत्कृष्ट प्रदर्शनमा ३८.३ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गर्‍यो । भुवनले ८२ बलमा ५५ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ८२ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अर्जुन साउदले विकेट किपर विनोद भण्डारीबाट रनआउट गराएका थिए । 

भुवन र सुमित महर्जनले पाँचौँ विकेटका लागि ७५ रनको साझेदारी गर्दा एपिएफ बलियो अवस्थामा पुग्यो । सुमितले ४५ बलमा पाँच चौका मद्दतमा ३४ रन बनाएका थिए । एपिएफको सुरुवात भने राम्रो थिएन । ओपनर प्रदीप ऐरीले २० र आसिफ शेख १४ मै पेभिलियन फर्किएका थिए । त्यसैगरी, कप्तान शरद १६ रनमा अविजित रहँदा सन्दीप जोराले १७ रन जोडे । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक दुई विकेट लिए । सोमपाल कामी, विक्रम सोब र सुसन भारीले एक–एक विकेट लिएका थिए ।

दीपेन्द्र प्लेयर अफ दी टुर्नामेन्ट
नेपाल पुलिस क्लबका अलराउन्डर दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको प्लेयर अफ दी टुर्नामेन्ट घोषित भएका छन् । पुलिसलाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा दीपेन्द्रले प्रतियोगितामा दुई शतक र एक अर्धशतकसहित सर्वाधिक तीन सय ५६ रन बनाएका थिए ।