१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्भावस्थामा मानसिक समस्या कम गर्न के गर्ने ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o९:oo
डा. श्रेयषी अर्याल, स्त्रीरोग विशेषज्ञ सहप्राध्यापक, काठमाडौं मेडिकल कलेज 

गर्भावस्थामा महिलाहरू विभिन्न समस्याबाट गुज्रेका हुन्छन् । प्रायजसो महिला यो अवस्थामा मानसिक समस्याबाट बढी गुज्रेका हुन्छन् । गर्भावस्थामा हर्मोन परिवर्तन हुने हुँदा महिलामा सबैभन्दा बढी मानसिक समस्या देखिन्छ । मानसिक समस्याकै कारण कतिपय महिला आत्महत्या गर्ने अवस्थासम्म पुग्ने जोखिम रहन्छ ।

गर्भावस्थामा अधिकांशमा डर, चिन्ता, तनाव, उदासीनता, निराशालगायतका समस्या देखिन्छ । कतिपयमा यो समस्या प्रसूतिपछिको अवस्थामा पनि देखिन्छ । गर्भावस्थामा भने बढी नै समस्या हुने गरेको पाइन्छ । गर्भावस्थामा देखिने मानसिक समस्यालाई तीन भागमा विभाजन गरिएको छ । 

गर्भावस्थामा धेरैमा सबैभन्दा पहिले देखिने समस्या पोस्टपार्टम ब्लुज हो । यसमा बढी रुन मन लाग्ने, झिँजोपना हुने, परिवारका अन्य व्यक्तिसँग तनाव हुनेलगायत हुन सक्छ । यो समस्या बढेर अलि बढी भएको अवस्थालाई पोस्टपार्टम डिप्रेसन भनिन्छ ।

यसमा डिप्रेसन हुने, केही गर्न मन नलाग्ने, बच्चाको बारेमा मात्र सोच्न मन लाग्ने हुन्छ । उच्च रूपमा देखिने मानसिक समस्यालाई पोस्टपार्टम साइकोसिस भनिन्छ । यसमा बच्चालाई चिन्दैनचिन्ने, बच्चालाई हेर्न मन नगर्ने, बच्चाप्रति घृणा हुँदै आउने हुन सक्छ । 

किन हुन्छ ?
सुरुमा महिलालाई डेलिभरी कसरी हुन्छ, मेरो गर्भावस्था सुरक्षित हुन्छ कि हुँदैन, बच्चा राम्रो जन्मिन्छ कि जन्मिदैन, कसरी जन्मिन्छ, नर्मल हुन्छ कि अन्य केही हुन्छ भन्ने कुराले तनाव हुन्छ । गर्भावस्थामा मेडिकल डिसअर्डर पनि देखिन्छ । थाइराइड, डायबेटिज, प्रेसर बढ्ने समस्या हुन सक्छ । यस्तो समस्या देखिँदा तनाव थप बढ्ने हुन्छ । महिलाले घर तथा कार्यालय पनि सम्हालिरहेका हुन्छन् । 

गर्भावस्थामा आफ्नो चिन्ता पनि लिनुपर्ने र घरायसी कामको पनि चिन्ता गर्नुपर्ने अवस्था निम्तिँदा मानसिक रूपमा समस्या हुन सक्छ । अझ कार्यालयमा काम गर्नेले घर, काम र आफ्नो समेत चिन्ता गर्नुपर्ने हुन्छ । यी फ्याक्टरले पनि मानसिक समस्या बढाउन सहयोग गर्छन् । कतिपय गर्भवती महिलाका श्रीमान् विदेशमा हुन्छन् र उनीहरूले एक्लै घर सम्हालिरहेका हुन्छन् । यस्तो अवस्थामा पनि एक्लोपनले समस्या निम्त्याउन सक्छ । त्यस्तै, बच्चा जन्माइसकेपछि स्तनपान गराउन नसक्दा पनि आमालाई मानसिक समस्या हुन्छ । बच्चा जन्माइसकेपछि झन्डै दुई–तीन महिना निद्रा पुग्दैन । यसले पनि मानसिक समस्या निम्त्याउन सक्छ । 

मानसिक समस्या हुँदा देखिने लक्षण 

  • मनमा बढी कुरा खेलाउने, बढी सोच्ने । 
  • परिवारसँग झैझगडा हुने, तनाव बढ्ने । 
  • कसैसँग बोल्न मन नलाग्ने । 
  • दैनिकी काम केही गर्न मन नलाग्ने । 
  • दिक्क लाग्ने, उदासीन हुने । 
  • निद्रा नलाग्ने । 
  • गर्भावस्थाप्रति वितृष्णा हुने । 
  • नकारात्मक सोचाइ मात्र आउने ।
  • उकुसमुकुस भएको महसुस हुने । 
  • आत्महत्याको सोचाइ आउने । 

कुन समयदेखि मानसिक समस्या देखिन्छ ?
गर्भावस्था सुरु भएको यति नै समयदेखि मानसिक समस्या सुरु हुन्छ भन्ने हुँदैन । पहिलेदेखि नै मानसिक समस्यासँग जुधिरहेका महिलामा गर्भवती भएपछि समस्या बढ्दै जाने पनि हुन सक्छ । गर्भावस्थामा हर्मोन परिवर्तन हुँदै जान्छ । सुरुको दुई–तीन महिना कसै–कसैलाई बान्ता हुने, खाना नरुच्ने, अस्पताल भर्ना भएर बस्नुपर्ने, पेट दुखिरहने हुन्छ । जसकारण, दुई–तीन महिनादेखि नै महिलामा मानसिक समस्या सुरु हुन सक्छ । 

समस्या कम गर्न के गर्ने ?

  • मनमा लागेका कुरा खुलेर सोध्ने, नलुकाउने । श्रीमान् वा परिवारका सदस्यलाई भन्ने । 
  • श्रीमान् तथा परिवारका सदस्यले गर्भवतीको स्याहारमा ध्यान दिने । तनाव हुने कुराहरू नगर्ने । शारीरिक, मानसिक रूपमा तनाव नदिने । 
  • गर्भावस्थामा प्रशस्त पानी पिउने । सन्तुलित भोजन गर्ने । 
  • योग, ध्यान र व्यायाम नियमित गर्ने । 
  • गर्भवती महिलाले सकारात्मक सोच राख्ने ।  
  • नियमित गर्भावस्थाको जाँच गर्ने । चिकित्सकसँग परामर्श गर्ने । 
ad
ad