१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार ०८:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

३० नोभेम्बरदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘यान्त्रिक परीक्षण’ उडान

विमानस्थलनजिकै रहेको ल्यान्डफिल साइटलाई नियमित उडान हुने समयसम्म हटाइसक्ने पोखरा महानगरका मेयरले प्रतिबद्धता जनाएको क्यानको जिकिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार ०८:१०:००

रिट्ठेपानी डाँडो कटान सुरु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३० नोभेम्बरदेखि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान गर्ने तालिका तय गरेको छ । यो विमानस्थल १ जनवरी २०२३ देखि व्यावसायिक रूपमै सञ्चालनमा ल्याउने सरकारले घोषणा गरिसकेको छ । 

पोखरा विमानस्थल सञ्चालनका लागि छेवैमा रहेको रिट्ठेपानी डाँडा प्रमुख अवरोधक रहेको थियो । सोमबारदेखि नै रिट्ठेपानी डाँडो कटान सुरु भइसकेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । क्यानले उमा/गल्वा जोयन्ट भेन्चर कम्पनीलाई छनोट गरी करसहित ३२ करोड ३० लाख ४४ हजार रुपैयाँमा डाँडा कटानीको जिम्मेवारी दिएको छ । डाँडो कटानीका लागि क्यानले गरेको सार्वजनिक टेन्डर आह्वानमा १० कम्पनीले आवेदन दिएका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि रिट्ठेपानी डाँडो ४० मिटर काट्नुपर्ने क्यानको प्राविधिक अध्ययनले देखाएको छ । डाँडो एउटा चुच्चोबाट ४० मिटर र अर्को चुच्चोबाट साढे १२ मिटर कटान गर्नुपर्ने हुन्छ । विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्न भने १४ मिटर डाँडो कटान गरे पुग्ने महानिर्देशक अधिकारीको भनाइ छ । ‘डाँडो कटान सुरु भइसकेको छ, लगत्तै क्यालिब्रेसन फ्लाइट सुरु गर्छौं,’ उनले भने, ‘१ जनवरी २०२३ देखि विमानस्थलमा नियमित उडान सुरु गर्ने अधिकतम प्रयास गर्छौं ।’

पोखरा विमानस्थलमा पनि एरो थाईको विशेष उपकरण जडित विमान ल्याएर क्यालिब्रेसन फ्लाइट गरिने महानिर्देशक अधिकारीले बताए । उनका अनुसार अरू विमानस्थलको पनि क्यालिब्रेसन फ्लाइट गर्ने कार्यक्रम हुनाले एरो थाईको विमान २५ नोभेम्बरमा नेपाल आइपुग्नेछ । नयाँ विमानस्थलमा जडान गरिएका यन्त्र उपकरणहरूले ठीकसँग काम गरे÷नगरेकोदेखि रनवेसम्मको परीक्षण गर्न क्यालिब्रेसन फ्लाइट गरिन्छ । 

पोखरा विमानस्थल सञ्चालनमा नजिकै रहेको ‘ल्यान्डफिल साइट’ पनि अर्को अवरोधक बनेको छ । सो ल्यान्डफिल साइट सार्न पोखरा महानगरपालिका लागेको छ । पोखराका मेयर धनराज आचार्यले कमर्सियल उडान हुने समयसम्म ‘ल्यान्डफिल साइट’ सारिसक्ने प्रतिबद्धता जनाएको महानिर्देशक अधिकारीले बताए । ‘हामीले उडान गर्ने मिति तोकेको समयसम्म ल्यान्डफिल साइट सार्ने उहाँको प्रतिबद्धता छ,’ उनले भने, ‘रिट्ठेपानी डाँडो कटान र ल्यान्डफिल साइट सारेपछि उडान सञ्चालनमा कुनै समस्या हुँदैन ।’

चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङले असार ०७४ देखि निर्माण सुरु गरेको विमानस्थलको काम करिब सम्पन्न भएको छ । २१ अर्ब ६० करोड रुपैयाँ अनुमानित लागत रहेको यस विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडेलमा निर्माण गरिएको हो । यस विमानस्थलबाट पर्यटक आउने अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान गरी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।