१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एक वर्ष : भएन नियमित व्यावसायिक उडान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:o४:oo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको मंगलबार एक वर्ष पूरा हुँदै छ । निकै तामझामका साथ १७ पुस ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा वर्षभरि नै व्यवसायिक अन्तर्राष्ट्रिय उडान शून्य नै रह्यो । सञ्चालनमा आएको करिब दुई महिनापछि ११ फागुनमाइन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि विमानस्थल अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि पनि योग्य भयो ।

१८ फागुन ०७९ देखि रात्रिकालीन उडानसमेत सुरु भयो । तर, यो अवधिमा आन्तरिक उडान छाडेर चारपटक पाँच चार्टर र एक व्यावसायिक अन्तर्राष्ट्रिय उडान मात्रै भएको छ । एक वर्ष बित्दासमेत व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु नहँुदा पोखराका पर्यटन व्यवसायी निराश भएका छन् । नियमित अन्तर्राष्ट्रिय उडानका लागि पोखराका व्यवसायीसँगै सरोकारवालाले पटक–पटक सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग छलफल गरे पनि सकारात्मक परिणाम निस्कन सकेन । 

करिब ११ महिनापछि अध्यागमन कार्यालय
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १० महिना २० दिनपछि ७ मंसिर ०८० मा मात्र अध्यागमन कार्यालय सञ्चालनमा आएको थियो । उपसचिव लीलावल्लभ न्यौपानेको नेतृत्वमा नौजना कर्मचारी पोखरामा खटिएका थिए । त्यसअघि अन्तर्राष्ट्रिय उडानका क्रममा पोखरास्थित अध्यागमन कार्यालयका कर्मचारीहरू गएर आवश्यक काम गर्ने गरेका थिए ।

पाँच चार्टर र एक व्यावसायिक उडान
सञ्चालनमा आएको एक वर्षमा पोखरामा पाँच चार्टर र एक व्यावसायिक उडान भएका छन् । विमानस्थल सञ्चालनमा आएको १७२औँ दिन अर्थात् ६ असार ०८० मा चिनियाँ कम्पनी सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमानले चीनको छेन्दुबाट पोखरामा चार्टरमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसपछि ८ र ९ असारमा फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ मा सहभागी हुन खेलाडीसँगै ७२ जना चिनियाँसहित ९६ जना छेन्दुबाट सीधै पोखरा आएका थिए । 

विमानस्थल सञ्चालनमा आएको आठ महिना सात दिन (२३ भदौ)मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडानमार्फत नै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान ग¥यो । पारोबाट चालकदलका सात र तीन पर्यटकसहित १० जना आएका थिए । पोखराबाट सो विमानले ४२ यात्रुसहित ४९ जना लिएर थिम्पु फर्केको थियो । यो नै पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान हो । सोही अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले करिब तीन लाख आम्दानी गरेको थियो । 

२२ कात्तिकमा चिनियाँ जनमुक्ति सेनाका दुई कार्गाे विमानले पोखरामा क्रमशः तेस्रो र चौथो चार्टर उडान गरेका थिए । चीनको छेन्दुबाट सीधै आएका दुई विमानले जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्प प्रभावितको सहयोगका लागि चिनियाँ सरकारको तर्फबाट राहत सामग्री ल्याएका थिए । यसैगरी, ७ मंसिरमा चीनको कुनमिङबाट हिमालय एयरलाइन्सले पोखरामा चार्टर उडान गरेको थियो । ‘साझा समृद्धिका लागि दौड’ भन्ने नारासहित ९ मंसिरमा पोखरामा भएको ‘वार हाउस नेपाल, पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता’मा सहभागी हुन खेलाडी, प्राविधिक र पाहुना गरी ९५ जना चार्टर विमानबाट सीधै पोखरा आएका थिए ।

अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनको तयारी    
पोखरा विमानस्थलका लागि जग्गा अधिग्रहण गरेको ४२ वर्षमा बल्ल शिलान्यास भएको थियो । यसका लागि पनि पोखरेलीले ठूलै आन्दोलन गर्नुपरेको थियो । विमानस्थल सञ्चालनमा आएसँगै स्थानीय जनतासँगै उद्योगी–व्यवसायी पनि अन्तर्राष्ट्रिय उडान हुनेमा ढुक्क थिए । तर, सञ्चालनमा आएको वर्ष बित्दासमेत केही छनक नदेखिँदा आन्दोलनको विकल्प नरहेको उनीहरू बताउँछन् ।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय उडानमा सरकारले पहल नगरेको गुनासो गरे । उनले भने, ‘हामीले सरकारसँग पटक–पटक अरू नभए पनि सुरुमा नेपाल एयरलाइन्सको विमानबाट बाह्य उडान सुरु गरौँ भनेका छौँ, तर सरकारले सुनेको छैन । नेपाल एयरलाइन्सले बाह्य उडान सुरु गरे अन्य विदेशी विमान कम्पनीलाई आकर्षित गर्न सकिन्छ ।’ केही विदेशी कम्पनीसँग आफूहरूले पटक–पटक छलफल गरे पनि सरकारी निकायले आवश्यकताअनुसार पहलकदमी नगरेको उनको गुनासो छ । अब अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिन आन्दोलन गर्नुपर्ने अवस्था देखिएकाले छलफल सुरु भएको उनको भनाइ छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विमानस्थलका कारण विदेशी पर्यटकको आगमन बढ्ने देखेर धेरै व्यवसायीहरूले  पर्यटकीय क्षेत्रमा लगानी गरेका छन् । विमानस्थल सञ्चालनको आसमा गरिएको लगानीसँगै बैंक ब्याजका कारण व्यवसायीहरू समस्यामा परेका र बाह्य उडान गर्न सके मात्रै केही सहज हुने उनको भनाइ छ ।

विमानस्थल सञ्चालनपछि आशा गरेभन्दा ठीक उल्टो अवस्था सिर्जना भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बताए । अन्तर्राष्ट्रिय उडानका लागि सरकारले जसरी चासो दिनुपर्ने हो, त्यसरी पहल नगरेको उनको आरोप छ । ‘प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानुअघि उडान सञ्चालनका लागि हामीले दबाबमूलक कार्यक्रम गर्ने तयारी गरेका थियौँ । सोहीक्रममा हाम्रो प्रधानमन्त्रीसँग भेट पनि भयो, उहाँले यसका लागि म पहल गर्छु भनेपछि दबाबमूलक कार्यक्रम स्थगित ग¥यौँ,’ उनले भने, ‘चार महिना हुन लाग्यो, तर हालसम्म केही परिणाम आएको छैन् । अब हामी चुप बस्नेबाल छैनाँै, उडानका लागि सरकारलाई दबाब दिने गरी आन्दोलन गर्ने तयारीमा हामी लागेका छौँ ।’

ad
ad