मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Tuesday, 14 January, 2025
२o८o माघ २२ सोमबार १८:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै दबाबमूलक र्‍याली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार १८:५३:oo

सञ्चालनमा आएको १३ महिना पुग्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु हुन नसकेको भन्दै पोखरामा दबाबमूलक सचेतना र्‍याली निकालिएको छ। 

नाम मात्रको अन्तर्राष्ट्रिय विमानस्थल भएको भन्दै अन्तर्राष्ट्रिय उडानको मागसहित पहिलोपटक पोखरामा दबाबमूलक र्‍याली निकालिएको हो। राष्ट्रिय एकता अभियान पोखराले ‘ऋणमुक्त र स्वाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि सचेतना र्‍याली’ निकालेको छ।

र्‍यालीमा सहभागीहरूले ‘ऋण जाल चाहिँदैन, पोखरा मास्न पाइँदैन’, ‘विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर’, ‘बिआरआई ऋणलाई अनुदानमा परिणत गर’, ‘विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिन गर’ जस्ता नारा लगाएका थिए।

पोखरा सभागृहबाट सुरु र्‍याली पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै अभियान पोखराका संयोजक विनय यादवले विमानस्थल सञ्चालनमा आएको १३ महिना बढी भइसक्दासमेत किन पूर्ण रूपमा र अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन भन्दै प्रश्न गरेका थिए। गएको एक वर्षमा चार करोड आम्दानी गरेको विमानस्थलले प्रत्येक महिना सावाँ र ब्याज गरेर १६ करोड तिर्नुपरेकाले यो गलाको पासो भएको उनको भनाइ थियो।

भैरहवा विमानस्थल आठ अर्बमा सञ्चालनमा आउँदा त्योभन्दा सानो विमानस्थलका लागि २८ अर्ब लागेको भन्दै उनले यसमा ठूलो भ्रष्टाचार भएको दाबी गरे। अहिलेको र्‍याली सांकेतिक विरोध मात्र रहेकाले आवश्यक परे थप दबाबमूलक कार्यक्रम गर्ने उनीहरूको चेतावनी छ।

तामझामका साथ १७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गरेका थिए। सञ्चालनमा आएको करिब दुई महिनापछि ११ फागुनमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो। विमानस्थलमा १८ फागुन ०७९ देखि रात्रिकालीन उडानसमेत सुरु भएको थियो।

अन्तर्राष्ट्रिय र रात्रिकालीन उडानका लागि तयार भएसँगै विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउँछ भन्ने आशा पोखरेलीमा पलाए पनि हालसम्म त्यो सुरु हुन सकेको छैन।