१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असोज २८ शुक्रबार ०६:५३:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन आज : राखेपले बजेट नदिँदा उधारोमै तयारी

गण्डकी प्रदेशका आठ जिल्लामा प्रतियोगिता हुँदै छ, तर कास्कीबाहेक अन्य जिल्ला खेलकुद विकास समितिलाई प्रतियोगिताको तयारीका लागि रकम जुटाउनै सकस परेको छ

Read Time : > 3 मिनेट
२०७९ असोज २८ शुक्रबार ०६:५३:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन आज पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले गर्दै छन् । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकाले उपराष्ट्रपति पुनले नेपाली खेलकुदकै सर्वाधिक ठूलो प्रतियोगिताको उद्घाटन गर्न लागेका हुन् । ३ कात्तिकसम्म चल्ने प्रतियोगिताअन्तर्गत केही खेल यसअघि नै सुरु भइसकेका छन् । तर, प्रतियोगिता सञ्चालन गर्न मुस्किल परिरहेकोे स्वयं आयोजक समितिकै सदस्यहरू बताउँछन् । गण्डकी प्रदेशका आठवटा जिल्लामा विभिन्न प्रतियोगिता आयोजना गरिएको भए पनि कास्कीबाहेक अन्य जिल्ला खेलकुद विकास समितिलाई प्रतियोगिताको तयारीका लागि रकम जुटाउनै सकस परेको छ । 

‘हामीले चिनजानका आधारमा उधारोमा काम गरिरहेका छौँ । महिला फुटबलका लागि मैदान तयार गर्ने क्रममा दुबो रोप्न मात्रै ४५ लाख खर्च भइसकेको छ । त्यस्तै, मैदान सम्याउने, मजदुरको ज्याला तथा मर्मत कार्य गरी ९२ लाख खर्च भइसकेको छ,’ जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष मोहन गुरुङले भने, ‘राखेपले दिने भनेको १० लाख पनि दिएको छैन ।’ सेपाकताक्रा तथा कुस्ती खेलको आयोजनास्थल नवलपुरमा पनि राखेपले अहिलेसम्म तयारी खर्च पठाएको छैन । 

‘खेलस्थल व्यवस्थापन एवं अन्य तयारीमा १५ लाख खर्च भयो, तर राखेपले हालसम्म एक रुपैयाँ पनि पठाएको छैन,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत पुनले भने, ‘सुरुमा राखेपका पदाधिकारीले आवश्यक पैसा आउँछ, तयारी गर्नुस् भनेका थिए, तर हालसम्म केही सहयोग आएन । स्थानीय तहहरूबाट समेत सहयोग नभएकाले हाल साथीहरूलगायत अन्यसँग सापटी र उधारोमा काम गर्नुपरेको छ ।’ तनहुँका जिल्ला खेलकुद अध्यक्ष अनिल पाण्डे, गोरखाका जिल्ला खेलकुद अध्यक्ष शान्तसिंह बस्नेत, पर्वतका जिल्ला खेलकुद अध्यक्ष हर्कमान गुरुङ, म्याग्दीका जिल्ला खेलकुद अध्यक्ष दिनेश केसीले पनि राखेपबाट कुनै सहयोग नआएकाले आफैँ सरसापटी गरेर प्रतियोगिताको तयारी गर्नुपरेको गुनासो गरेका छन् । 

 बाग्लुङमा स्थानीय सरकारको सक्रियता 
बाग्लुङ जिल्लामा आइटिएफ तेक्वान्दो सञ्चालन गर्ने जिम्मेवारी बाग्लुङ नगरपालिकाले लिएको छ । नगरपालिकाका उप–प्रमुख राजु खड्का आइटिएफ तेक्वान्दोका महासचिवसमेत हुन् । प्रतियोगिताका लागि राखेपबाट रकम आएको आफूले कुनै जानकारी नपाएको उनले बताए । हलमा कार्यक्रम गर्ने भएकाले खासै ठूलो खर्च नहुने र खर्चको व्यवस्थापन नगरपालिकाले नै गर्ने उनले बताए । 

 ६ हजार १०२ खेलाडी 
प्रतियोगितामा सात प्रदेश, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टोलीबीच प्रतिस्पर्धा हुनेछ । यी टोलीहरूको प्रतिनिधित्व गर्दै दुई प्रदर्शनी खेलसहित कुल ३८ खेलमा ६ हजार एक सय दुई खेलाडीले आ–आफ्नो चुनौती पेस गर्नेछन् । 

प्रतियोगितामा आयोजक गण्डकी प्रदेशका सर्वाधिक सात सय तीन खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । त्यसैगरी, सबैभन्दा कम खेलाडी संख्या एनआरएनए (एक सय ४३) रहेको छ । यसैगरी, नेपाल आर्मीका ६७३, नेपाल प्रहरीका ४९५, सशस्त्र प्रहरीका ५४८, प्रदेश १ का ६७८, मधेस प्रदेशका ५४०, बागमती प्रदेशका ६४०, लुम्बिनी प्रदेशका ५९१, सुदूरपश्चिम प्रदेशका ६१८ र कर्णाली प्रदेशका ४७३ जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै छन् । 

 बोगटीले दीप प्रज्वलन गर्ने 
नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा ओलम्पियन टीकाबहादुर बोगटीले दीप प्रज्वलन गर्नेछन् । सातौँ दक्षिण एसियाली खेलकुदमा म्याराथनतर्फ स्वर्ण पदक जितेका बोगटी गण्डकी प्रदेशकै ज्येष्ठ ओलम्पियन हुन् । उनले सन् १९८८ मा सिओल ओलम्पिक र १९९६ मा एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसैगरी, ज्ञानबहादुर बोहरा, भगवती केसी, सीताराम शाही र राजेन्द्र भण्डारीले रंगशालामा मार्चपास गर्नेछन् ।

 एनआरएनएले राष्ट्रिय  खेलाडी खेलाएपछि... 
पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रदेश १ विरुद्ध नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई मैदान उतारेपछि विवाद सिर्जना भएको छ । प्रतियोगिताको नियमावली मिच्दै एनआरएनएले राष्ट्रिय खेलाडीलाई मैदानमा उतारेको आरोप प्रदेश १ ले लगाएको छ । उक्त खेलमा एनआरएनए २–० ले विजयी भयो । 

एनआरएनएको जितमा राष्ट्रिय टोलीका खेलाडीद्वय विमल घर्तीमगर र संजोक राईले समान एक–एक गोल गरे । विवादका कारण खेल ढिला हुँदा दुवै हाफ ३५–३५ मिनेटको खेलाइएको थियो । यसअघि आयोजकले बस ढिला पठाएको भन्दै प्रदेश १ को टोली निर्धारित समयमा खेलस्थलमा पुगेन । मैदान पुगेलगत्तै विवाद सिर्जना भएपछि खेल डेढ घन्टा ढिला गरी सुरु भएको थियो । 

प्रदेश एककै खेलाडी एनआरएनएबाट खेलेपछि पराजित टोलीले आयोजक समितिमा उजुरी दर्ता गराएको छ । एनआरएनएले विमल र संजोकसँगै पुजन उपरकोटी, अनन्त तामाङ, निशान खड्का, सुजल श्रेष्ठ, कमल श्रेष्ठ, विशाल राई, रवि सिलवाल र उमेर समूहबाट खेलिसकेका रोहन पहारीलाई मैदानमा उतारेको थियो । दोस्रो खेलमा भने बागमतीले मधेस प्रदेशलाई २–० ले पराजित ग¥यो । बागमतीको जितमा सुनिल बल र अञ्जन विष्टले एक–एक गोल गरे । दुवै खेलाडी राष्ट्रिय टोलीका सदस्यसमेत हुन् ।

एपिएफ र मधेस विजयी 
महिला क्रिकेटअन्तर्गत बिहीबार एपिएफ र मधेस प्रदेश विजयी भएका छन् ।  पहिलो खेलमा एपिएफले घरेलु टोली गण्डकीलाई ९ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन जोडेको थियो । एपिएफले एक सय ६ बल बाँकी रहँदै जित निकाल्यो । खेलमा एपिएफकी इन्दु बर्मा म्यान अफ दी म्याच घोषित भइन् । जितसँगै एपिएफ चार अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा उक्लेको छ । अर्को खेलमा मधेसलाई १५ रनले पराजित गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन बनाएको थियो । सुदूरपश्चिमले  १९.२ ओभरमा आठ विकेटको क्षतिमा ७६ रन जोडेको थियो । 

गण्डकीले सुदूरपश्चिमलाई हरायो
महिला भलिबल प्रतियोगितामा गण्डकीले उद्घाटन खेलमा सुदूरपश्चिमलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । समूह ‘डी’मा गण्डकीले तीन अंक जोड्यो । जितसँगै गण्डकी समूह विजेता बन्यो । सुदूरपश्चिम उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश ग¥यो । यस समूहमा दुई टोली मात्रै हुँदा दुवै टोली अन्तिम आठमा प्रवेश गरेका हुन् । आयोजक गण्डकीले पहिलो सेट २५–१८ ले जित्यो । दोस्रो सेटमा सहज जित निकाल्ने क्रममा २५–८ र निर्णायक सेटमा २५–२२ ले जित निकाल्यो । गण्डकीकी रिमा कुँवर उत्कृष्ट खेलाडी घोषित भइन् । म्याग्दीकी अरुणा शाहीले गण्डकीको कप्तानी गर्दा सुदूरपश्चिम बालारती जोशीको नेतृत्वमा मैदान उत्रिएको थियो । 
यसैबीच, शुक्रबारदेखि बेनीमा तेक्वान्दो सुरु हुँदै छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका तीन सय ३० खेलाडीले विभिन्न उमेर समूहमा ६६ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । बेनीको कालिपुलस्थित कभर्डहलमा हुने तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।