![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Bus_Accident_Bara2022-10-06-12-00-06.jpeg)
बाराको जितपुर–सिमरा– २२ तीन नम्बर पुलनजिक आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १६ पुगेको छ।
मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा ३२ जना घाइते भएका छन्।
घाइतेमध्ये आठजनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकीलाई थप उपचारका लागि चितवन र वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर बलराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार थप उपचारका लागि भरतपुर लगिएका एकजनाकाे मृत्यु भएको छ।
हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको थियो।