१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
संखुवासभाको खाँदबारी–नुम सडकखण्डअन्तर्गत खाँदबारी– ७ लभिङहिलमा फसेका दर्जनौँ सवारीसाधन । तस्बिर:नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२०७९ असोज १४ शुक्रबार १०:३९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

खाँदबारी–किमाथांका सडक जीर्ण : सडकको दुरवस्थाले स्थानीय मात्र होइन, चालकसमेत हैरान

Read Time : > 2 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ असोज १४ शुक्रबार १०:३९:००

वीरगन्जबाट अरुण तेस्रोको सामान बोकेर आएका सुरेश श्रेष्ठ खाँदबारी– ७ लभिङहिलमा गत साता तीन दिनसम्म फसे । उनीसँगै लभिङहिलमा ६०–७० वटा बढी मालवाहक यातायात फसेका थिए । त्यहाँबाट बल्लतल्ल निस्किएका सवारीसाधन सुमन चोक, मिलन चोक र पाङ्मामा भेनियरमुनि उस्तै हैरानी खेपेर बल्लतल्ल आयोजना स्थल पुगे । 

यो दूरवस्था सदरमुकाम खाँदबारीदेखि उत्तरी किमाथांका नाका जोड्ने उत्तरकोसी ल्हासा राजमार्गको हो । खाँदबारीदेखि किमाथांका नाका जोड्ने एक सय ६२ किलोमिटर लामो सडकमध्ये अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइड फ्याक्सिन्दाको ५० किलोमिटरमा मात्र यातायातका साधन चल्ने गरेका छन् । त्यही सडकको अवस्था जीर्ण हुँदा त्यसखण्ड भएर यात्रा गर्ने हैरान छन् । ५० किलोमिटर सडक पार गर्न घन्टौँ लाग्ने गरेको छ । 

‘गाडीमा चामल–ग्यास बोकेर हिँडे पनि बीचै सकिने हो कि भन्ने डर लाग्छ,’ श्रेष्ठले भने, ‘बाटोको अवस्था जीर्ण छ । वैकल्पिक बाटो नहुँदा ठूलो सास्ती भोग्नुपरेको छ ।’ श्रेष्ठका अनुसार एउटै गाडीले करिब ३५ टनसम्म सामान लिएर हिँड्नुपर्छ । कतिपय ठाउँमा वैकल्पिक बाटोसमेत छैन । लभिङहिलमाथिका नयाँ बजारमा वैकल्पिक बाटो भए पनि धेरै कच्ची घर भएकाले थर्किएर भत्किने सम्भावना छ । मुख्य राजमार्गको अवस्था दर्दनाक छ ।

सडक भत्किएर सडकमुनिका घरमा पहिरो भलबाढीको समेत खतरा बढेको छ । खाँदबारी–फ्याक्सिन्दा सडकखण्डको ठाउँ–ठाउँमा पहिरो र सडक हिलाम्मे भएको छ । ठूला–ठूला खाल्टाखुल्टीका कारण साना यात्रुवाहक ट्याक्सी र बसलाई समेत आवतजावत गर्न समस्या भएको छ । हिउँदमा नुमबाट दुईदेखि साढे दुई घन्टामा खाँदबारी आवतजावत गर्ने भए पनि अहिले पानी परिरहेकाले सात–आठ घन्टाभन्दा बढी समय लाग्ने गरेको नुमका स्थानीय विमन पराजुली बताउँछन् । उनी भन्छन्, ‘सडक मर्मत नहुँदा स्थानीय, त्यसमा पनि बिरामीलाई खाँदबारी अस्पतालसम्म पु¥याउनै सकस छ ।’

 ओभरलोडले सडक जीर्ण भएको गुनासो
खाँदबारी–फ्याक्सिन्दा कच्ची सडकको अवस्था अत्यन्तै खराब छ । त्यसमाथि दिनहुँ दर्जनौँ अरुण तेस्रो जलविद्युत् आयोजनाको ओभरलोड मालवाहक सवारीसाधनले सडक तहसनहस बनाएको स्थानीयको आरोप छ । अरुण तेस्रो यति धेरै मालवाहक सवारीसाधन आवतजावत भइरहने भएकाले सडक बिगारेको छ, तर उनीहरू मर्मतचाहिँ नगर्ने गरेको स्थानीयहरू बताउँछन् ।

खाँदबारी नयाँ बजारका स्थानीय शेरबहादुर वनले संखुवासभामा प्रशासन र जनप्रतिनिधिविहीनजस्तो देखिएको आरोप लगाए । उनले सडकमा दर्जनौँ गाडी फसेर बसिरहेको अवस्थामा प्रशासन, सडक कार्यालय र जनप्रतिनिधि भूमिका खेल्नुपर्नेमा मौन बसेको आरोप लगाए । खाँदबारी–किमाथांका सडक मर्मत नहुँदा मकालु र भोटखोलाका बासिन्दाले महिनौँ अगाडिदेखि सास्ती खेप्दै आएका छन् । उनीहरूले सहज यात्रा गर्न पाएका छैनन् । सबैतिर दसैँ नजिकिँदै गर्दा मकालु र भोटखोलाका स्थानीयलाई घर जान समस्या भएको छ । खाँदबारीदेखि किमाथांकासम्मको सडक बेहाल हुँदा काठमाडौं, धरान र विराटनगरबाट दसैँ मनाउन घर आउनेलाई भने खाँदबारीभन्दा माथि कसरी पुग्ने भन्ने चिन्ताले सताउने गरेको छ । सडक बिग्रँदा दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत अकासिएको छ । 

 निर्माणमा प्रगति छैन
भारतीय सीमावर्ती बजार जोगमनीबाट विराटनगर हुँदै सदरमुकाम खाँदबारीसम्मको सडकखण्ड सहज छ । तर, त्रिदेशीय लिंकका रूपमा रहेको जोगमनी–किमाथांका सडक खाँदबारीदेखि उत्तरमा मात्रै समस्या रहेको छ । उत्तर–दक्षिण कोसी आयोजना कार्यालयले सदरमुकाम खाँदबारी–किमाथांका सडकखण्डअन्तर्गत खाँदबारीदेखि नुमसम्म ३९ किमि सडक कालोपत्रे गर्न शर्मा शिवशक्ति जेभी निर्माण कम्पनीसँग सम्झौतासमेत गरिसकेको छ । १४ महिनाअघि नै सडक कालोपत्रे गर्ने ठेक्का लागे पनि प्रगति भने शून्य नै छ । खाँदबारी–नुम सडकखण्डमा शर्मा शिवशक्ति जेभी निर्माण कम्पनीले १४ महिनामा सात प्रतिशत मात्र भौतिक प्रगति रहेको निर्माण कम्पनीले जनाएको छ ।

 खाँदबारी–फ्याक्सिन्दा सडकखण्डको आवतजावतमा समस्या भएपछि चिचिला र मकालु गाउँपालिकाले केही साताअघि सडक बन्द गरेका थिए । दुईवटा पालिकाले सडक मर्मत गर्न आग्रह गर्दै सडक बन्द गरेपछि तत्काल सडक मर्मत गर्ने प्रतिबद्धतासहित सडक खुलाइएको थियो । प्रशासन, सडक कार्यालय र निर्माण व्यवसायीले दसैँका वेला नागरिकलाई सहज होस् भन्दै मर्मत गर्ने जनाएका थिए ।