१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असोज १३ बिहीबार ०६:२९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फुटपाथ व्यापारीप्रति महानगर लचिलो

आवागमनमा अवरोध नहुने गरी दसैँभर पसल थाप्न पाइने, तर महानगरको निरन्तर निगरानी रहने

Read Time : > 1 मिनेट
२०७९ असोज १३ बिहीबार ०६:२९:००

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि दसैँभर कडाइ नगर्ने भएको छ । महानगरले विजया दशमीको टीकाको अघिल्लो दिनसम्म खुला बजार, सडक किनार तथा फुटपाथ अवरोध नहुने गरी व्यापार गर्न दिन लागेको हो । 

महानगरले बिहीबारदेखि नै सडक व्यापारीलाई अवरोध गर्नेछैन । अहिले वसन्तपुरस्थित रञ्जना गल्ली र असन क्षेत्रमा सस्तो बजार सञ्चालन भइरहेका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार अब नयाँ बसपार्क, कलंकी, रत्नपार्क, कोटेश्वर, बानेश्वर, गौशाला, चाबहिल, ग्वार्कोलगायत क्षेत्रका खुला तथा फुटपाथका व्यापारीहरूलाई पनि कडाइ गरिनेछैन । यस्ता स्थानमा पाइने सामान सस्तो र सहज हुने भएकाले महानगरले क्षणिक समयका लागि फुटपाथ व्यापारीहरूमाथि कारबाही नगर्ने तयारी गरेको हो । सडक किनार तथा फुटपाथमा साँझ–बिहान मात्रै पसल थाप्न पाइन्छ । दिउँसो यस्ता पसल राख्न पाइँदैन । साथै दसैँपछि भने अनिवार्य हटाउनुपर्नेछ ।

तर, मुख्य चोक र साँघुरा गल्ली नै अवरोध हुने गरी पसल थाप्न नदिने प्रवक्ता मानन्धरको भनाइ छ । उनका अनुसार दसैँको वेला सर्वसाधारणले अघिकांश सामान सहजै किन्न सकून् भन्ने हेतुले खुला र सस्तो बजारप्रति नरम भएको हो । ‘सबैले महँगा पसलमा गएर किनमेल गर्न सक्छन् भन्ने छैन, कतिपयले सस्ता सामान पनि खोजिरहेका हुन्छन्, अर्को कुरा सीमित बजारले मात्रै भिडभाड हुन्छ,’ उनले भने, ‘त्यसैले हामीले दसैँको वेला फुटपाथ व्यापारीमाथि कम निगरानी राख्छौँ ।’ उनका अनुसार यस अवधिभर नगर प्रहरीले सामान नियन्त्रणमा लिनेछैन । तर, सर्वसाधारणलाई ओहोरदोहोरमै अवरोध पु¥याउने गरी पसल थाप्न पाइनेछैन । दुई महिनादेखि कामपाले महानगरभित्रका फुटपाथ र सडक किनारमा व्यापार गर्नेहरूलाई हटाएको थियो ।

ललितपुरमा पनि दसैँलक्षित बजार

ललितपुरको लगनखेलमा दसैँको किनमेल गर्न आउने भिडभाड अन्त्यन्तै बढेको छ । यहाँ दक्षिण ललितपुरसम्मका मानिस किनमेलका लागि आउँछन् । यसअघि यस क्षेत्रका फुटपाथ, बसपार्क र सडक किनारबाट नगर प्रहरीले पसल हटाएको थियो । तर, दसैँको वेलामा भने यी ठाउँमा व्यवस्थित तरिकाले सस्तो मूल्यमा सामान खरिद–बिक्री गर्न दिने ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेंथूले जानकारी दिए । उनका अनुसार पाटनको नवहाल, कोवहाल, नटोल तथा वडा १६ मा दसैँ बजारलाई व्यवस्थित गरिएको छ । यस्तै, मंगलबजार क्षेत्रमा पनि व्यापारीमाथि कडाइ गरिएको छैन ।

लगखेलस्थित बसपार्कको बाहिरपट्टि रहेको खाली जग्गामा दसैँलक्षित सस्तो बजारका लागि महानगरले व्यापारीहरूलाई भाडामा लगाएको छ । उक्त ठाउँ दसैँभरका लागि मात्रै दिएको हो । यस्तै, ललितपुरको चापागाउँ, सातदोबाटो, चापागाउँ दोबाटो, जावलाखेल, नख्खुलगायत क्षेत्रमा पनि दसैँ अवधिभर व्यापारीमाथि कडाइ गरिनेछैन । तर, कालोबजारी तथा चर्को मूल्यमा सामान बिक्री गरेमा नगर प्रहरीले कारबाही गर्नेछ । ‘ललितपुरका फुटपाथ व्यापारीलाई हामीले दसैँपछि कडाइ गर्छौँ, यसअघि पनि फुटपाथ र सडक किनार ओगट्नेलाई कारबाही गरेका थियौँ,’ नगर प्रहरी प्रमुख हाछेंथूले भने, ‘दसैँको वेला भने नगर प्रहरी लचिलो हुन्छ, हामीले नगरवासीलाई सहज रूपमा चाडबाड मनाउन दिनुपर्छ ।’ उनका अनुसार दसैैँको वेला किनमेल गर्नेको भिडभाड बढ्ने भएकाले सडक तथा फुटपाथ व्यापारीमाथि कडाइ नगरिएको हो ।