मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका लुम्बिनी
२०७९ असोज १२ बुधबार ०६:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असोज १५ गतेदेखि लुम्बिनीका विद्युतीय गाडी सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
२०७९ असोज १२ बुधबार ०६:४२:००

लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा लुम्बिनी विकास कोषको आलोचना हुँदै आएको थियो ।

मंगलबार  गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा राखिएका बस सञ्चालन गर्न निर्देशन दिएका थिए ।  पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई उनले बुधबार बिहान साढे ९ बजे सर्वपक्षीय बैठक बोलाई ११ बजेभित्र बस सञ्चालनसम्बन्धी निर्णय लिन कडा निर्देशन दिएका थिए । 

 गृहमन्त्रीको निर्देशनपछि लुम्बिनी विकास कोष पनि सक्रिय भएको छ । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले प्रेस विज्ञप्ति जारी गर्दै असोज १५ गतेदेखि ५ दिनसम्म अफिसियल परीक्षण हुने गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए । 

आज बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दसैँको उपलक्ष्यमा पाँच दिन चार्जिङ स्टेशन र गाडीको मेशिनरी परीक्षणस्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको हो । सचिवालय बैठकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सहयोग लिने निर्णय गरेको छ । बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरिएको छ ।

कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले कोषका अध्यक्ष तथा नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाएको थियो । कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले कार्यविधिलाई अर्को बैठकले पास गर्ने निर्णय गरेको कोषाध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोषले दसैँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थियो ।

घटस्थापनाको समय गुज्रेपछि आलोचना बढ्नु स्वाभाविक भएको बताउँदै पर्यटन मन्त्रालयले कोषलाई पत्रद्वारा हस्तान्तरण गरे पनि यात्रु बोक्न सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा गाडीको नामसारी नहुँदा ढिलाइ भएको विज्ञप्तिमा उल्लेख छ ।