मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
दीपक भट्ट रामेछाप
२०७९ असोज १० सोमबार १८:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पितृ खुसी पार्न कुटेर छोरीको हत्या, आमाको अवस्था गम्भीर

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ असोज १० सोमबार १८:५३:००

जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन्। 

उनीहरूको कुटाइबाट मृतककी ७० वर्षीय आमा सुनमाया माझीको अवस्था गम्भीर छ। उनलाई घटनास्थलबाट उद्धार गरी हाल सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। 

उनका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा सातजना महिलासहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका सबैजनाले आफूले मृतकलाई कुटपिट नगरी पितृ खुसी नहुने भएकोले कुटेर ज्यान लिएको स्वीकार गरेका छन्। 

सो घटनाका विषयमा थप अनुसन्धानका लागि उपरीक्षक थिङकै नेतृत्वमा सञ्चारकर्मीसहितको टोली घटनास्थलतर्फ गएको छ। 

यस्ताे छ घटना विवरण  

सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व हो। उनीहरूको संस्कारअनुसार सोह्रश्राद्धमा मरेका पितृहरूलाई (नदी) घाटमा गएर बोलाउने चलन छ। यसरी पितृलाई बोलाउँदा शिरमा पितृ आउने (काम छुट्ने) र परिवारको कुनै एक सदस्यको शरीरमा पस्ने गर्छ भन्ने विश्वास उनीहरूमा छ।

जसको शरीरमा पितृ पस्नेबित्तिकै ऊ काम्ने गर्दछ्, घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट एक दिन सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने (नदीमा) चलन छ। 

नदीमा बगाउने वेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन्। यसरी पितृ बगाउँदा उनीहरूको शरीरमा पितृ खुसी हुन्छन् भन्ने विश्वास माझी समुदायको छ। योसँगै उनीहरूको विशेष चाड सोह्रश्राद्ध सकिन्छ । तर, यसपटक भने विगत वर्षको जस्तो भएन। पितृलाई बगाउँदासमेत काम्ने व्यक्तिलाई पितृले नछाड्दा कामी नै रहे। उनीहरूले पितृले गर्दा काम्न नछोड्नुुमा यसको दोषी गाउँकै बिबी माझी रहेको निष्र्किय युवायुवतीले निकाले। 

सोही निष्कर्षसँगै उनीहरू बिबी र उनकी आमा सुनमाया माझी बसिरहेको घरमा काम्दै पुुगे। बिबीलाई चामलको अक्षताले हान्दै कुटपिट गर्न थाले। त्यही समयमा घुम्दै एउटा बिरालो बिबीको घरमा आइपुुग्यो। माझी युवायुवतीले उक्त बिरालो समाते। उनीहरूले घटनास्थलमै बिरालोलाई काटेर आगोमा पोले। त्यति वेलासम्म बिबीको मृत्यु भइसकेको थियो। उनीहरूले बिबी माझी बोक्सी भएको र उनको शरीरबाट बिरालो उत्रिएकोले बिरालो काटेपछि बिबी मरेकी निष्कर्ष निकाले।

छोरीको मृत्यु भएपछि उनकी ७० वर्षीया आमा सुनमायालाई घरबाट आँगनमा निकालेर उनीहरूले फेरि कुटपिट गर्न थाले। सो घटना सार्वजनिक भएपछि स्थानीय घटनास्थल पुुगे। घटनास्थल पुुगेका स्थानीयले उद्धार गर्न नसकेपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए। 

घटनाको जानकारी पाएसँगै घटनास्थल पुुगेको प्रहरी टोलीले पहिलोपटक उनीहरूलाई नियन्त्रण लिन सकेन। बल्लतल्ल प्रहरीको दोस्रो प्रयासमा सुुनमायाको उद्धार गर्न सफल भयो। सो घटनामा संलग्न भएका १८ जनालाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। थप ४ जनालाई सोमबार नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएका सबैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेकाको प्रारम्भिक बयान 

शरीरमा पितृ चढेको भन्दै काम्दै कुटपिट गर्ने युवायुवतीले सो घटनाको बारेमा आफूहरूलाई केही थाहा नै नभएको प्रहरीसमक्ष बताएका छन्। उनीहरूले मृतक बिबीलाई पितृ नै आएर कुुटपिट गरेर मारेको बयान दिएका छन्। उनीहरूले पितृ आफ्नो शरीरमा चढेपछि आफूहरूलाई केही पनि थाहा नहुने भएकाले सो घटनाको विषयमा आफूहरू अनविज्ञ रहेको बयान प्रहरीसमक्ष दिएका छन्।