१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १o:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

उपत्यकामा मात्र दैनिक १० हजार खसी–बोका बिक्री हुन्छन् दसैँमा

मागअनुसारको आपूर्तिका लागि तयार छौँ : व्यवसायी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:२३:oo

दसैँ नजिकिँदै गर्दा उपत्यकामा खसी–बोकाको मासु आपूर्ति बढाउन व्यवसायीहरू क्रियाशील भएका छन् । काठमाडौंको कलंकी र टुकुचाका खसी बजारमा आयात ह्वात्तै बढाइएको छ । कलंकी खसी बजारमा क्रियाशील चौपाया खरिद–बिक्री सेवा संघका पूर्वअध्यक्ष दीप थापाले उपत्यकामा हुने मागलाई धान्ने गरी खसी–बोकाको आपूर्ति गर्न सक्ने गरी तयारी भएको बताए । उनले भने, ‘घटस्थापनादेखि ठूलो संख्यामा खसी–बोकाको माग हुन्छ, सोहीअनुसार आपूर्ति बढाउन हामी लागेका छौँ ।’
दसैँमा घटस्थापनादेखि अष्टमीसम्म कारोबार धेरै हुने गरेको व्यवसायीको भनाइ छ ।

संघका अनुसार सामान्य अवस्थामा हप्तामा दुई दिन उपत्यकामा खसी–बोका ल्याउने गरेकोमा घटस्थापनादेखि भने दैनिक साना–ठूला ट्रकमा राखेर खसी–बोका ल्याइनेछ । अरू वेला हप्तामा दुई हजार पाँच सय खसी–बोका ल्याउने गरेकोमा घटस्थापनादेखि दैनिक पाँच हजारदेखि १० हजार गोटासम्म खसी–बोका ल्याउने र बिक्री हुने संघले जनाएको छ ।

‘उपत्यकामा जति माग हुन्छ, हामी त्यति नै संख्यामा खसी–बोका ल्याउन सक्षम छौँ,’ थापाले भने । सामान्यतया दसैँको घटस्थापनादेखि अष्टमीसम्म ५० हजारवटा खसी–बोका र च्यांग्रा खपत हुने संघको तथ्यांक छ । थापाका अनुसार यसपटक च्यांग्रा भने न्यून परिमाणमा भित्रिने भएको छ । च्यांग्राको मूल्य धेरै भएकाले बिक्रीका लागि ल्याउन नसकिएको उनको भनाइ छ ।

दसैँमा खसी–बोकाको माग उच्च हुने र अस्वाभाविक मूल्यवृद्धि हुने प्रवृत्तिलाई रोक्न विगतमा जस्तै यसपटक पनि सरकार स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब एक हजार आठ सय खसी–बोका ल्याएर बिक्री गर्ने योजना बनाएको छ । विगतमा घटस्थापनादेखि नै बिक्री खुला गर्ने कम्पनीले यसपटक भने ढिला गरी खरिद प्रक्रिया सुरु गरेका कारण बिहीबारबाट बिक्री सुरु गर्ने योजना बनाएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । सुवेदीले भनिन्, ‘हाम्रो योजना सोमबारबाटै बिक्री सुरु गर्ने भन्ने थियो, तर खसी–बोका नआइपुग्दा बिहीबारसम्म राख्ने योजनामा छौँ ।’ कम्पनीले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री गर्ने यसअघि नै निर्णय गरिसकेको छ । अहिले बजारमा जिउँदो खसी–बोकाको मूल्य प्रतिकिलो ६ सय २० देखि ६ सय ७० रुपैयाँसम्म रहेको छ । 

खसी–बोका भित्रिएपछि लागत र बजार मूल्यको विश्लेषण गरी मूल्य निर्धारण गर्ने न्यौपानेले बताइन् । कम्पनीले खसी–बोका खरिदका लागि ६ करोड ४० लाख बजेट विनियोजन गरिसकेको छ । शतप्रतिशत स्वदेशी खसी–बोका मात्रै ल्याउने गरी मकवानपुर, नुवाकोट, धादिङ, दाङलगायतका जिल्लाबाट खरिद प्रक्रिया अघि बढाइएको उनले बताइन् । कम्पनीले दार्चुलाबाट च्यांग्रा ल्याउने प्रयास पनि गरिरहेको उनको भनाइ छ ।  

 भोलिबाट स्वास्थ्य परीक्षण थालिने
दसैँमा ठूलो संख्यामा खसी–बोका ल्याउँदा रोगीसमेत भिœयाउने खतरा रहेकाले विगतमा जस्तै यसपटक पनि पशुसेवा विभागका प्राविधिकले उपत्यकाको बजार र सडकमा बिक्रीका लागि राखिएका खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने भएका छन् । खासगरी लामो बाटोमा ट्रकमा कोचाकोच गरी खसी–बोका ल्याउँदा मर्ने, रोगी हुने जोखिम हुन्छ । व्यवसायीले यस्ता खसी–बोकासमेत बिक्रीका लागि राख्न सक्ने भएकाले पशुसेवा विभागका अधिकृतले स्वास्थ्य परीक्षण गर्न लागेका हुन् ।

विभागका प्रवक्ता चन्द्र ढकालका अनुसार मंगलबारबाट काठमाडौं उपत्यकाका १० स्थानमा स्वास्थ्य परीक्षण गर्ने तयारी भएको छ । ५० जनाको पशुचिकित्सकसहित काठमाडौंको बल्खु, कलंकी खसीबजार, पुतलीसडक, सल्लाघारीलगायतका स्थानमा १०–१० जनाको टोली खटिएर अनुगमन र स्वास्थ्य परीक्षण गर्ने तयारी भएको ढकालले बताए । 

ad
ad