मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ असोज १० सोमबार ०७:१९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टुकुचा भत्काउनबाट पछि हट्यो महानगर

उच्च अदालतबाट महानगरका नाममा २५ वटा स्टे अर्डर

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ असोज १० सोमबार ०७:१९:००

टुकुचा उत्खननबाट काठमाडौं महानगरपालिका पछि हटेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि महानगर टुकुचा भत्काउनबाट पछि हटेको हो । दुई वर्षअघि बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का आधारमा ३० भदौदेखि महानगरले जयनेपाल हलस्थित टुकुचाको पुरिएको भाग उत्खनन सुरु गरेको थियो । तर, अदालतको स्टे अर्डर र पुरातत्व विभागले अध्ययन गर्ने भएपछि टुकुचामा बनेका अवैध संरचना भत्काउने महानगरको अभियान ६ असोजदेखि ‘ब्रेक’ लागेको हो ।

उच्च अदालतले जयनेपाल हल, कमलादी क्षेत्रमा २६ असोजसम्मका लागि कुनै पनि संरचना नभत्काउन महानगरका नाममा आदेश जारी गरेको छ । अब महानगरलाई अदालतको पेसी कुरेर बस्नुको विकल्प छैन । अदालतको आदेशपछि महानगरले गत बिहीबारदेखि नै टुकुचामा उत्खनन छाडेको छ । ‘अन्यायमा परेको भन्दै पछिल्लो एक सातायता महानगरलाई विपक्षी बनाएर २५ जनाको रिट दायर भयो,’ अदालतका रजिस्ट्रार ठगीन्द्र कट्टलले भने, ‘त्यसैअनुरूप २६ असोजसम्म काम रोक्न महानगरका नाममा आदेश जारी भएको हो ।’ उनका अनुसार यस दिन अदालतले दोहोरो छलफलका लागि पेसी तोकेको छ । 

३१ भदौमा जयनेपाल हलस्थित पे्रसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोलाविक्रम थापा, उत्तरमान लामासमेतले उच्च अदालतमा रिट दायर गरेका थिए । त्यसलगत्तै दैनिक एक–दुईजना व्यक्ति रिट बोकेर अदालत धाउने गरेका छन् । यसरी आउनेमा अधिकांश महानगरसँगै नक्सापास गरेका घरधनी रहेको रजिस्ट्रार कट्टेलको भनाइ छ । ‘उहाँहरूको नक्सापास पनि रहेछ, नक्सापास आफैँले दिएर भत्काउँदै हिँड्नु त भएन नि,’ रजिस्ट्रार कट्टेलले भने, ‘दोहोरो छलफलपछि यसको टुंगो लाग्नेछ ।’

रिट दिनेमध्ये अधिकांशले ०३२, ०३८, ०४२, ०४५ सालमा महानगरबाट घर निर्माण इजाजतपत्र लिएर घर निर्माण गरेका छन् । यस्तै, रिट दायर गर्नेमध्ये केहीबाट नक्सापास र निर्माण सम्पन्नपत्र पनि महानरले लिइसकेको छ । अदालतले दिनहुँ स्टे अर्डर जारी गर्न थालेपछि महानगरपालिका टुकुचाबाट पछि हटेको हो । गत बिहीबारसम्म नियमित डोजर चलाइरहे पनि त्यसयता महानगरको डोजर त्यस क्षेत्रमा चलेको छैन ।

अदालतको स्टे अर्डरका कारण काम अघि बढ्न नसकेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । ‘यो गतिविधि राम्रो भएन, अब महानगरलाई जनताको साथ चाहिन्छ, केही गरौँ भनेको ठूलाबडाहरू अदालत गुहार्न थाले,’ पाण्डेले भने, ‘जसले खोलामाथि घर बनाएको छ, त्यसलाई अदालतले पनि संरक्षण गर्नुहुन्न ।’ उनले महानगरबाट नक्सापास लिएर त्यतिवेला घर बनाएको भए पनि नियमअनुसार नै नगर प्रहरीले भत्काउन सुरु गरेको दाबी गरे । नक्सापास लिँदैमा खोलामाथि घर नभत्काउने हो भने टुकुचाको बाँकी भूभाग खाली गर्न कठिन हुने नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ । उनले अदालतको आदेशविपरीत काम गर्न पनि नसकिने बताए । 

२६ असोजसम्म काम रोक्न भनेका छौँ
 ठगीन्द्र कट्टेल, रजिस्ट्रार उच्च अदालत पाटन

उहाँहरूको नक्सापास पनि रहेछ । आफैँले नक्सापास गरेर भत्काउँदै हिँड्नु त भएन । एक सातायता महानगरलाई विपक्षी बनाएर २५ जनाको रिट दायर भयो । त्यसैअनुरूप २६ असोजसम्म काम रोक्न महानगरका नाममा आदेश जारी भएको हो । 

ठूलाबडाहरू अदालत गुहार्न थाले 
 राजु पाण्डे,नगर प्रहरी प्रमुख कामपा

केही गरौँ भनेको ठूलाबडाहरू अदालत गुहार्न थाले । अब महानगरलाई जनताको साथ चाहिन्छ । जसले खोलामाथि घर बनाएका छन्, उनीहरूलाई अदालतले पनि संरक्षण गर्नुहुन्न ।

नक्सापास नै नभएको भवन नभत्काउनसमेत अदालतको स्टे अर्डर 
काठमाडाैं महानगरले कमलादीस्थित लक्ष्मी बैंक बसेको ६ तले भवन शुक्रबार नै भत्काउने तयारी गरेको थियो । तर, बिहीबार उच्च अदालत पाटनले उक्त भवन नभत्काउन स्टे अर्डर जारी गरेपछि नक्सापासविनै बनेको अग्लो भवन भत्काउनबाट समेत महानगर पछि हट्यो । ‘अब हामीले स्टे अर्डरको समय कुरेर बसेका छौँ,’ नगर प्रहरी प्रमुख पाण्डेले भने, ‘नक्सापासविनै अग्लो भवन ठड्याउनेलाई महानगरले माफी दिनु राम्रो होला र ?’ उनका अनुसार उक्त बैंक रहेको भवनका घरधनीले रिट दायर गरेपछि अदालतले स्टे अर्डर जारी गरेको थियो । यो भवनले डिपिसी (बेसमेन्ट)बाहेक अन्य भागको नक्सापास नै गरेको छैन ।

 टुकुचामा महानगरले बनाएका खाल्डा अलपत्र 
महानगरले टुकुचाको लुकेको भाग पत्ता लगाउन अन्धाधुन्ध डोजर चलाएर ठाउँ–ठाउँमा गहिरा खाडल पारेको छ । जयनेपाल हलदेखि कमलादीसम्म त्यस्ता खाल्डा आठवटा छन् । तर, ती खाल्डा अलपत्र अवस्थामा छन् । जसका कारण सडक दुर्घटनाको जोखिम देखिन्छ । १२ फिटसम्म गहिरा ती खाल्डाका कारण जुनसुकै वेला दुर्घटना निम्त्याउने जोखिम छ । महानगरले कमलादी क्षेत्रमा पाँच स्थानमा र जयनेपाल हल क्षेत्रमा तीन स्थानमा गहिरा खाल्डा पारेको छ । तर, त्यसलाई न त पुरेको छ, न त त्यसको वरिपरि छेकबार नै लगाइएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले भने खाल्डा छेकबार गर्न महानगर प्रहरीलाई लगाएको बताए । 

 बारम्बार निर्देशन र निगरानी
पुरातत्व विभागले टुकुचा लुकाउन बनाइएको डुँड प्राचीन रहेको जनाएको छ । अझै त्यसबारे अध्ययन भइरहेको पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जानकारी दिए । उनका अनुसार विभागबाट समिति नै बनाएर टुकुचाको अध्ययन भइरहेको छ । टुकुचाबारे अध्ययन गर्न गठित समितिले दुई दिन (मंगलबार)पछि प्रतिवेदन विभागलाई प्रस्तुत गर्ने समितिका संयोजकसमेत रहेका ज्ञवालीले बताए । ‘त्यो संरचना राणाकालीन र प्राचीन हो भन्नेबारे धेरैलाई जानकारी भयो, तर त्यसको महŒवबारे हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘त्यतिवेलासम्मका लागि हामीले महानगरलाई त्यस क्षेत्रमा जान दिएका छैनौँ ।’