मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
विवेक पोख्रेल काठमाडाैं
२०७९ असोज ५ बुधबार ०९:०९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भन्सार छलेर ल्याइएको २६ सय किलो माछा नष्ट (भिडियोसहित)

Read Time : > 1 मिनेट
विवेक पोख्रेल, काठमाडाैं
२०७९ असोज ५ बुधबार ०९:०९:००

भारतबाट भन्सार छली ल्याइएको अस्वस्थकर माछा नष्ट गरिएको छ । भारतबाट भन्सार छली काठमाडौं लैजाँदै गरेको दुई हजार किलो र सोमबार वीरगन्जबाट पोखरा लैजाँदै गरिएको ६ सय २० किलो माछा चितवनमा नष्ट गरिएको हो । मंगलबार नष्ट गरिएको माछा भारतीय भए पनि बिल र भेटेरिनरी प्रमाणपत्र भने रुपन्देहीको राधिका मत्स्य फर्मबाट बनाइएको थियो ।

भारतबाट साइकलमार्फत ल्याइएको माछा ठुटिबारीबाट लु.२च ६८९८ नम्बरको गाडीमा राखेर काठमाडौंको कालिमाटी लैजाँदै गर्दा रामनगरमा नियन्त्रणमा लिइएको हो । बिलअनुसार चार लाख ५४ हजार मूल्यबराबरको रहु २० पेटी र बैखी (पंगास) ३० पेटी थिए । भौतिक रूपमा हेर्दा नै सडेको  र गन्ध आएको देखिएकाले पशुस्वास्थ्य तथा पशुसेवा नियमावलीअनुसार नष्ट गरिएको पशु क्वारेन्टिन चेकपोस्ट रामनगरका शिरीष गौतमले बताए । भारतीय माछाको अवैध आयात रोक्न १ असोजदेखि नाकामा किसानकै सक्रियतामा अनुगमन बढेको छ । भारतीय माछाका कारण नेपाली माछा बिक्री गर्न कठिन भएपछि बागमती प्रदेशका तीन स्थानमा प्रहरी, सशस्त्र प्रहरी, क्वारेन्टिन अफिसरसहित मत्स्य व्यवसायी संघका प्रतिनिधिमार्फत चेकजाँचलाई कडाइ गरिएको छ । चितवनको आँपटारी, मकवापुरको रातमाटे र सिन्धुली गरेर करिब ५० क्विन्टल माछा नष्ट भइसकेको छ । 

 दूध आयात खुलेपछि किसान रुष्ट 
सरकारले दूध आयातमा लगाएको प्रतिबन्ध खुलाएपछि चितवनका दुग्ध उत्पादक किसान आक्रोशित बनेका छन् । केही दिनअघि मात्रै कृषि तथा पशुपक्षी मन्त्रालयले दूध आयातका लागि निजी डेरी उद्योगहरूलाई अनुमति दिएको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले मंगलबार पत्रकार सम्मेलन गरी मन्त्रालयले दैनिक एक लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न दिएको अनुमति नेपाली किसानको हितविपरीत भएको बताएको हो । जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले कमिसनको चक्करमा यहाँका किसानलाई विस्थापित गर्ने उद्देश्यले दूध आयात खुलाइएकोे बताए ।