मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ ३० बिहीबार ०८:०७:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद गण्डकीका सात जिल्लामा हुने    

Read Time : > 2 मिनेट
२०७९ भदौ ३० बिहीबार ०८:०७:००

खेलस्थल र खेलतालिका सार्वजनिक, ३६ खेलमध्ये कास्कीमा २९ खेल सञ्चालन हुने

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल र तालिका सार्वजनिक भएको छ । २८ असोजदेखि ३ कात्तिकसम्म हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलस्थल र खेल तालिका बुधबार सार्वजनिक भएको हो ।प्रतियोगिता प्रचारप्रसार समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी खेलस्थल र तालिका सार्वजनिक गरेको हो ।

प्रदेशका ११ जिल्लामध्ये सात जिल्लामा खेल हुने भएका छन् । ३६ खेलमध्ये २९ वटा खेल कास्कीको पोखरामा हुने भएका छन् । अन्य बाँकी खेल गण्डकीका अन्य ६ जिल्लासँगै काठमाडाैंमा सञ्चालन गरिने भएकाे छ ।

३६ खेलमध्ये महिला र पुरुषका ३३ खेल एकै जिल्लामा गरिने भएको छ भने तीन खेल क्रिकेट, फुटबल र भलिबलका महिला र पुरुषका खेल फरक–फरक जिल्लामा सञ्चालन हुने भएका छन् । कास्कीमा खेलाइने २९ खेलमध्ये १५ खेल पोखरा रंगशालामा सञ्चालन हुने भएका छन् भने अन्य खेल फरक–फरक स्थानमा खेलाइने भएको छ । 

यस्तो छ जिल्लागत रूपमा छनाेट भएका खेलस्थल                                                  

खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका बाेर्ड सदस्य राजेश गुरुङका अनुसार ३६ खेलमध्ये कास्कीमा २९, नवलपुरमा, म्याग्दी र काठमाडाैंमा दुई खेल हुने भएका छन् ।

यसैगरी स्याङ्जा, गोरखा, पर्वत, बाग्लुङमा एक-एक खेलहरू सञ्चालन हुनेछन् । जिल्लागत रूपमा भएका भौतिक संरचना र खेलाउन सकिने खेलसँगै भौगोलिक अवस्था, यातायात सुविधा, स्वास्थ्य संस्थालगायतको उपलब्धता हेरी खेलस्थल तय गरिएको उनको भनाइ छ ।

कास्की : प्रतियोगिताका अधिकांश खेल कास्कीको पोखरामा सञ्चालन हुने भएका छन् । कास्कीमा हुने २९ खेलमा फुटबल (पुरुष), एथलेटिक्स (महिला/पुरुष), बक्सिङ (महिला/पुरुष), भारोत्तोलन (महिला/पुरुष), भलिबल (पुरुष), ब्याडमिन्टन (महिला/पुरुष), उसु (महिला/पुरुष), जुडो (महिला/पुरुष), ह्यान्डबल (महिला/पुरुष), हक्की (महिला/पुरुष), स्क्वास (महिला/पुरुष), जिम्न्यास्टिक (महिला/पुरुष), टेनिस (महिला/पुरुष), सफ्टटेनिस (महिला/पुरुष), क्रिकेट (महिला), साइक्लिङ (महिला/पुरुष), आर्चरी (महिला/पुरुष), पौडी (महिला/पुरुष), गल्फ (महिला/पुरुष), प्याराग्लाइडिङ (महिला/पुरुष), ट्रायथलन (महिला/पुरुष), रग्बी (महिला/पुरुष), फुटबल (महिला), बास्केटबल (महिला/पुरुष), फेन्सिङ (महिला/पुरुष), फुलकन्ट्याक्ट कराते (महिला/पुरुष), शारीरिक सुगठन (महिला/पुरुष), टेबलटेनिस (महिला/पुरुष), कबड्डी (महिला/पुरुष) र खोखो (महिला/पुरुष) का खेल कास्कीमा हुने भएका हुन् ।

नवलपुर : कुस्ती (महिला/पुरुष) र सेपाकताक्रो (महिला/पुरुष)   

म्याग्दी : तेक्वान्दाे (महिला/पुरुष), भलिबल (महिला) 

स्याङ्जा : फुटबल (महिला) 

पर्वत : कराते (महिला/पुरुष) 

गोरखा : बुद्धिचाल (महिला/पुरुष) 

बाग्लुङ : आइटिीएफ तेक्वान्दाे (महिला/पुरुष) 

काठमाडाैंमा : सुटिङ (महिला/पुरुष), क्रिकेट (पुरुष) 

निधारित मितिअघि नाै खेल सञ्चालन
प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट यसअघि नै सुरु  भइसकेको छ भने थप नाै खेलसमेत निर्धारित मितिअगावै सञ्चालन हुने भएकाे प्रचार संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । आठ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको समयभन्दा केही खेल सम्पन्न गर्न बढी दिन र केही खेल प्राविधिक कारणले अगावै गर्नुपरेको भनाइ उनको छ ।

३६ खेलहरूमध्ये महिला क्रिकेट २३ असोज, उसु र फेन्सिङ (महिला/पुरुष) का खेल २४ असोज, कबड्डी (महिला/पुरुष) का खेल २५ असोजदेखि र फुटबल (महिला/पुरुष), फुलकन्ट्याक कराते (महिला/पुरुष), बुद्धिचाल (महिला/पुरुष), हक्की (महिला/पुरुष), गल्फ (महिला/पुरुष) का खेल असोज २७ गतेदेखि हुने भएका हुन । ३६ खेलमध्ये सबैभन्दा धेरै क्रिकेट १० दिनसम्म चल्नेछ । कम तीन दिन विभिन्न खेल हुने भएका छन् ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले यसअघि सम्पन्न भएका प्रतियोगितामा भएका कमी–कमजाेरीलाई सुधार गरी प्रतियोगिता सञ्चालन गरिने बताए । 

राखेपका सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न आफूहरूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । प्रतियोगिता सञ्चालनका लागि खेल संघ र खेलस्थलका  लागि अपुग रकम उपलब्ध गराउने उनकाे भनाइ छ ।

 ३९ वर्षपछि पोखरामा प्रतियोगिता

पोखरामा करिब ३९ वर्षपछि प्रतियोगिता आयोजना हुन लागेको हो । यसअघि ०४० सालमा पोखरामा १२ देखि २० चैतसम्म  दोस्रो संस्करणको प्रतियोगिता भएको थियो । प्रतियोगितामा बागमती प्रथम हुँदा गण्डकी दोस्रो भएको थियो । 

वैशाख ०७६ मा लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँको जिम्मेवारी गण्डकीले पाएको थियो । प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने खेलकुद यसपटक कोरोनाका कारण निर्धारित मितिमा सम्पन्न गर्न नसकिएको हो ।