मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २६ आइतबार ०८:१६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

छैटौँ महिला साफ च्याम्पियनसिप : भारत र बंगलादेश अन्तिम चारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २६ आइतबार ०८:१६:००

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’बाट लगातार दोस्रो जित निकाल्दै साबिक विजेता भारत र एकपटकको उपविजेता बंगलादेश एक खेलअघि नै अन्तिम चारमा प्रवेश गरेका हुन् ।

यसअघि बंगलादेशले माल्दिभ्स र भारतले पाकिस्तानलाई समान ३–० ले नै पराजित गरेका थिए । यससँगै एक खेल बाँकी छँदै पाकिस्तान र माल्दिभ्स समूह चरणबाटै बाहिरिएका छन् । अब बंगलादेश र भारतबीच समूह विजेताका लागि आगामी मंगलबार प्रतिस्पर्धा हुनेछ । मंगलबार नै सान्त्वना जितका लागि माल्दिभ्स र पाकिस्तान भिड्नेछन् । 

सविनाको ह्याट्रिक मद्दतमा बंगलादेशको जित
दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० ले पराजित गर्‍यो । बंगलादेशको जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन् । यस्तै, मोनिका चम्का, मोसाम्मद जहान सोप्ना र रितु चक्माले एक–एक गोल गरे । पाकिस्तानविरुद्ध सुरुआतदेखि नै दबाब बनाएको बंगलादेशले पहिलो हाफमा चार गोल गर्‍यो भने दोस्रो हाफमा थप दुई गोल गर्‍यो । 

मोनिका चक्माले तेस्रो मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । खेलको २८औँ मिनेटमा सोप्नाले २–० को अग्रता बनाइन् । ३१औँ र ३५ औं मिनेटमा कप्तान सविनाले लगातार गोल गर्दा बंगलादेश पहिलो हाफमा ४–० ले अघि रह्यो ।

नेपालमा जारी साफ च्याम्पियनसिपमा सविना ह्याट्रिक गर्ने पहिलो खेलाडी बनिन् । समग्रमा सविनाको यो जिवनकै दोस्रो ह्याट्रिक हो । यसअघि सविनाले सन् २०१६ को सेप्टेम्बरमा अफगानिस्तानविरुद्ध ६–० को जित निकाल्दा पाँच गोल गरेकी थिइन् । बंगलादेशका लागि सविनाले हालसम्म २९ गोल गरेकी छिन् । साफ च्याम्पियनसिपमा मात्रै उनले १९ गोल गरिसकेकी छिन् । 

अञ्जुको ह्याट्रिक, भारतको नौ गोल 
दशरथ रंगशालामै भएको दोस्रो खेलमा अन्जु तामाङको ह्याट्रिक मद्दतमा भारतले माल्दिभ्सलाई ९–० ले पराजित गर्‍यो । सुरुआती २० मिनेटमा कुनै गोल गर्न नसकेको भारतीय टिमले त्यसपछि भने एकोहोरो गोल थप्यो । भारतको जितमा अन्जुले चार गोल गरिन् । यस्तै, डांमी ग्रेसले दुई गोल गर्दा प्रियंका देवी, सौम्या गुगुलोथ र कस्मिनाले एक–एक गोल गरे । पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा थप ६ गोल गरेको थियो । जारी साफमा एकै खेलमा सर्वाधिक गोल निस्किएको यो पहिलो खेल हो । यता, अन्जु जारी साफ च्याम्पियनसिपमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनिन् ।