१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o७:३३:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

ट्रम्पको आवासबाट जफत कागजातले किन तरंगित हुँदै छ अमेरिकी राजनीति ?

एफबिआईले ट्रम्पको आवासबाट जफत गरेको झन्डै ११ हजार सरकारी कागजात तथा फोटोहरूमा अति संवेदनशील दस्ताबेजहरू पनि रहेको अमेरिकी मिडियाले लेखिरहेका छन् । तर, ती कागजात के विषयका थिए भनेर अझै खुलाइएको छैन ।

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:३३:oo

अमेरिकाको संघीय गुप्तचर निकाय एफबिआईले गत अगस्ट ८ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आवास मार–ए–लागोमा छापा मार्‍यो । ट्रम्पले ह्वाइट हाउस छाड्दा आफूसँगै लगेको सरकारी कागजातका बक्साको विषयमा महिनौँ लामो विवादपछि एफबिआईले ट्रम्पको फ्लोरिडास्थित आवासमा छापा मारेको थियो । बहस मुख्यतः ट्रम्पले सरकारी कागजात घर लाँदा संघीय कानुनको उल्लंघन भए–नभएकोमा केन्द्रित थियो । 

पूर्वराष्ट्रपतिको कार्यकालसम्बन्धी कागजातको संग्रह राख्ने नेसनल अर्काइभ्सले फेब्रुअरीमा मार–ए–लागोमा रहेका ट्रम्पका कार्यकालसँग सम्बन्धित कागजातको १५ वटा बक्स बनाएर ‘ढुवानीको तयारी’ गरेको तर ती सामग्री आफ्नो संग्रहमा नआएको बताएको थियो । उसले ती कागजातमा ‘अति गोप्य राष्ट्रिय सुरक्षा सूचना’ भएकाले ती अभिलेख हस्तान्तरण गरिनुपर्ने दाबी गरेको थियो । अर्काइभ्सका अनुसार ती कागजात पहिले त वासिंगटन डिसीभन्दा बाहिर राखिनै नहुने हो । 

तर ट्रम्पले उनको कार्यकालको अवधि ह्वाइट हाउस र मार–ए–लागोमा आधा–आधाजस्तो बिताएका थिए । सरकारी काम उनी आफ्नै निवासबाट पनि गर्थे । यही कारणले केहीले मार–ए–लागोलाई ‘हिउँदे ह्वाइट हाउस’ वा ‘दक्षिणी ह्वाइट हाउस’ पनि भन्थे । उनले कार्यकाल सकिएपछि पनि ती कागजात सरकारी अर्काइभमा नराखेर आफैँसँग राखिरहे । कानुनी कारबाहीको धम्कीपछि मात्र उनले ती कागजात फिर्ता गरेको मिडियाहरूले लेखेका छन् ।

तर ट्रम्पले सबै कागजात फिर्ता नगरेको आशंकामा नेसनल अर्काइभले डिपार्टमेन्ट अफ जस्टिसलाई अनुसन्धान गर्न अह्राएको थियो । ट्रम्पले कुनै कागजात आफूसँग राखेको भए त्यसले अमेरिकाको प्रेसिडेन्सिय रेकर्डस् एक्ट आकर्षित हुन्थ्यो । उक्त एक्टले पूर्वराष्ट्रपतिको कार्यकालमा तयार भएका कागजात संरक्षित गर्न र अभिलेखमा हस्तान्तरण गर्न आवश्यक हुने व्यवस्था गरेको छ । ती सरकारी सम्पत्ति हुने र तिनलाई ‘जानेर वा नजानेर गैरकानुनी रूपमा लुकाउने, हटाउने, छेडखानी गर्ने, विकृत बनाउने वा नष्ट गर्ने कार्यलाई’ उक्त कानुनले निषेध गरेको छ । 

नेसनल अकाईभ्सले डिपार्टमेन्ट अफ डस्टिसलाई ट्रम्पले सरकारी कागजात आफ्नो निजी आवासमा लिएर गएको विषयमा अनुसन्धान गरिदिन गत फेब्रुअरीमा नै आग्रह गरेको थियो । सो निकायले अप्रिलबाट यस विषयमा अनुसन्धान सुरु गरेको द वासिंगटन पोस्टले लेखेको थियो । एजेन्सीले यस विषयमा निर्णय गर्न ग्रान्ड जुरी नै बोलायो र मेसम्ममा सबपोना (व्यक्तिलाई जवाफ दिन माग गर्ने रिट) जारी गर्‍यो । 

एफबिआईले ट्रम्पको आवासबाट जफत गरेको झन्डै ११ हजार सरकारी कागजात तथा फोटोहरूमा अति संवेदनशील दस्ताबेजहरू पनि रहेको अमेरिकी मिडियाले लेखिरहेका छन् । तर, ती कागजात के विषयका थिए भनेर अझै खुलाइएको छैन ।

सिएनएनका अनुसार अनुसन्धाताहरू ट्रम्पले लगेको कागजात र ती भण्डारण गरिएको स्थान बुझ्न जुन महिनामा मार–ए–लागो पनि गएका थिए । अप्रिल र मे महिनामा यस विषयमा ट्रम्पका सहयोगीहरूसँग सोधपुछ गरिएको थियो । अगस्ट ८ को छापा भने मार–ए–लागोमा थप कागजात बाँकी रहे–नरहेको सुनिश्चित गर्न गरिएको थियो । त्यस क्रममा एफबिआईले ‘कागजातको बाकस’ जफत गरेको स्रोतलाई उद्धृत गर्दै मिडियाले लेखेका छन् ।ट्रम्पका छोरा एरिक ट्रम्पले पनि फक्स न्युजसँगको कुराकानीमा ‘नेसनल आर्काइभले डोनाल्ड ट्रम्पसँग थप कुनै कागजात बाँकी रहे–नरहेको सुनिश्चित गर्न चाहेको’ बताएका छन् । 

नखुलेको पाटो 
यस प्रकरणमा ट्रम्पले के सजाय भोग्नुपर्नेछ त्यो अझै खुलेको छैन । प्रेसिडेन्सियल रेकर्ड एक्टमा यो कानुनलाई कसरी लागू गर्ने भन्ने संयन्त्रको व्यवस्था छ, तर यस प्रकरणमा ट्रम्पले कानुन उल्लंघन गरेको प्रमाणित भएमा पनि उनले मुद्दा नखेप्न सक्ने विज्ञहरू बताउँछन् । सरकारी सम्पत्ति हटाउने वा नष्ट गर्न निषेध गर्ने संघीय कानुनले जरिवाना र तीन वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ । त्यसमा कानुन उल्लंघन गर्नेहरू सार्वजनिक पद धारण गर्नबाट प्रतिबन्धित हुने उल्लेख छ । तर, त्यो सजाय राष्ट्रपति स्वयंलाई लाग्छ कि लाग्दैन त्यो स्पष्ट छैन । धेरै कानुनी विशेषज्ञहरू पूर्वराष्ट्रपतिलाई कानुनले नछुने बताउँछन् ।

ट्रम्पले कागजातको विषयमा चालेको अनुसन्धानलाई अवरोध पुर्‍याएकोमा मुद्दा सामना गर्नुपर्ने हुन सक्छ, जसअन्तर्गत कठोर दण्ड सजायको व्यवस्था छ । छापा मारिएको समय निकै महत्वपूर्ण छ ।

ट्रम्पविरुद्ध कागजात घर लगेर कानुन उल्लंघनको आरोपमा अदालतमा मुद्दा चल्ने सम्भावना भने छ । साथै ट्रम्पले कागजातको विषयमा चलेको अनुसन्धानलाई अवरोध पु¥याएको मुद्दा सामना गर्नुपर्ने हुन सक्छ, जसअन्तर्गत कठोर दण्ड सजायको व्यवस्था छ । छापा मारिएको समय निकै महत्वपूर्ण छ । एफबिआईको एक नियमले ‘राजनीतिक रूपमा संवेदनशील कदमहरू’ चुनावको ९० दिनभित्र नचाल्न भन्छ । अर्को निर्वाचन नोभेम्बर ८ मा हुँदै छ ।

ट्रम्पको विरोध
ट्रम्पले आफ्नो घरमा एफबिआईले छापा मारेकोमा कडा विरोध गरे । उनले आफूले कुनै पनि गलत काम नगरेको भनेर उनले खण्डन गरेका छन् । ट्रम्पले छापालगत्तै अमेरिकी राष्ट्रपतिसँग यसअघि कहिल्यै यस्तो दुव्र्यवहारपूर्ण घटना नभएको टिप्पणी गरेका थिए । ‘सम्बन्धित सरकारी निकायलाई यतिको सहयोगपछि, मेरो घरमा अघोषित छापा मार्न आवश्यक वा उपयुक्त थिएन,’ ट्रम्पले भनेका थिए । ट्रम्पका पूर्वमहान्यायाधिवक्ता विलियम बारले भने अनुसन्धानको प्रतिरक्षा गर्दै ट्रम्पले सरकारी काजगात घर लगेर राष्ट्रिय सुरक्षामा गम्भीर सुरक्षा चुनौती खडा गरेको बताएका छन् ।

मार–ए–लागोमा विदेशी मुलुकको आणविक क्षमताबारेका कागजात 
एफबिआईले ट्रम्पको आवासबाट जफत गरेको झन्डै ११ हजार सरकारी दस्ताबेज तथा फोटोहरूमा अति संवेदनशील दस्ताबेजहरू पनि रहेको पछिल्लो समय अमेरिकी मिडियाले लेखिरहेका छन् । तर, ती कागजात के विषयका थिए भनेर अझै बताइएको छैन । तथापि वासिंगटन पोस्टले आफूलाई स्रोतले कागजातमध्ये एउटामा आणविक हतियारसम्बन्धी अति गोप्य कागजात पनि रहेको एक अनुसन्धान लेखमा खुलासा गरेको छ । जफत गरिएको कागजातमा एउटामा विदेशी सरकारहरूको आणविक क्षमतासम्बन्धी विवरण भएको कागजात पनि रहेको वासिंगटन पोस्टले मंगलबार लेखेको थियो । द वासिंगटन पोस्टले अज्ञात स्रोतलाई उल्लेख गरेको समाचारमा फेला परेको कागजातमा कुन विदेशी सरकारको आणविक क्षमताको चर्चा गरिएको छ भन्नेबारे भने उल्लेख छैन । ती अति नै गोप्य कागजात रहेको र राष्ट्रपति बाइडेन सरकारका केही वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीलाई समेत ती कागजात हेर्न नदिइएको पोस्टले लेखेको छ ।

ad
ad