
बिहीबारदेखि सुरु भएको ‘कोशी लगानी सम्मेलन’मा एक खर्ब ७३ अर्ब ४९ करोड लागतका ७१ परियोजना सोकेस भएका छन् । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको सम्मेलनमा उद्योग, पूर्वाधार र पर्यटन क्षेत्रमा सर्वाधिक ठुलो लगानीका परियोजना सोकेसमा छन् । लगानी सम्मेलनमा सबैभन्दा ठुलो लगानी ३२ अर्ब लागतको उदयपुरमा क्लिंकर उद्योगका लागि लगानी जुटाउन सोकेस गरिएको छ । सम्मेलनमा उद्योग क्षेत्रतर्फ ६५.८७ अर्ब लागतका ११ परियोजना, पूर्वाधारतर्फ ५३.१४ अर्ब लागतका १९ परियोजना, पर्यटनतर्फ ४०.९ अर्बका २२ परियोजना सोकेसमा राखिएको छ । यीमध्ये दुई दर्जन योजनामा लगानीकर्तासँग सम्झौता हुने प्रदेश सरकारको अपेक्षा छ ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले कोशी प्रदेशमा उद्योग–व्यापारको प्रचुर सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् । कोशी प्रदेश सरकारले पहिलोपल्ट विराटनगरमा आयोजना गरेको लगानी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कोशीमा मजदुरले ट्रेड युनियनको अधिकार पाइसकेकाले उद्योगी र मजदुरबिच सौहार्दपूर्ण वातावरणमा सौदाबाजी हुने कारण उद्योगधन्दा फस्टाइरहेको बताए । प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्तालाई आग्रह गर्दै भने, ‘कोशी बलियो सुरक्षा र प्रचुर सम्भावना भएको प्रदेश भएकाले रुचि भएको जुनसुकै क्षेत्रमा ढुक्क भएर लगानी गर्दा हुन्छ, कुनै समस्या आउनेछैन, लगानी खेर जान दिँदैनाैँ ।’
कोशी प्रदेश पूर्वाधारको हिसाबले पनि सुविधायुक्त रहेको र धेरै जनसंख्या भएका भारत र बंगलादेश पनि नजिकै भएकाले स्वदेश र विदेशको बजारीकरण पनि सहज रहेको भन्दै प्रधानमन्त्री ओलीले कच्चापदार्थ पनि सहज रूपमा प्राप्त गर्न सकिने बताए । उनले कोशी प्रदेशका सबै पहाडी र हिमाली जिल्लाहरूमा मोटर पुगिसकेको, चीनसँगका नाका पनि सञ्चालनमा आइसकेको अनि अप्टिकल फाइबर पनि सबैतिर पुगिसकेकाले जुनसुकै क्षेत्रमा लगानी गर्ने वातावरण बनेको प्रस्ट पारे । उनले भने, ‘कोशी र तमोर करिडोर सञ्चालन भइसकेका छन् । किमाथांका र तिप्तला नाका खुलिसकेका छन् । हुलाकी र मदन भण्डारी राजमार्ग सञ्चालनमा आइसकेका छन् । पूर्व–पश्चिम मार्ग एसियन हाइवेमा स्तरोन्नति भइरहेको छ, यसैले यहाँ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन आदि जेमा पनि ढुक्कले लगानी गर्दा हुन्छ, कुनै रोकटोक आए संघीय सरकार पनि सहयोग गर्न तयार छ ।’
लगानी वातावरणलाई सहज बनाउन संघीय सरकारले अध्यादेशमार्फत विभिन्न ऐन संशोधन गराइसकेको र त्यसकै आधारमा कोशी सरकारले पनि लगानीको वातावरण बनाउन आठवटा ऐन संशोधन गरेको उनले बताए । उनले भने, ‘कोशी सरकारले १६ बुँदे नीतिगत प्रतिबद्धतापत्र पनि जारी गरिसकेको छ ।’
उद्यमीले खोजे लगानीमैत्री वातावरण
नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोशी लगानीका लागि सम्भावना बोकेको प्रदेश भएकै कारण आफूले पनि लगानी गर्न सुरु गरिसकेको जानकारी दिँदै विदेशी लगानीकर्तालाई पनि लगानी गर्न प्रेरित गरे । उनले संशोधन गरेका ऐनहरू कार्यान्वयन हुन सके मात्र लगानीकर्ता लगानी गर्न ढुक्कले उत्साहित हुने बताए ।
सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले आफूहरू नेपालमा लगानी गर्न इच्छुक रहेको, तर अझै नागरिकताको पूर्ण अधिकार प्राप्त गर्न नसकेको गुनासो गरे । एनआरएनहरूले नेपालमा लगानी गरेमा मुनाफा पनि नेपालमै रहने भएकाले लगानीको वातावरण बनाएर प्राथमिकता दिन सरकारसँग उनले आग्रह गरे । अध्यक्ष केसीले भने, ‘हामीले नागरिकता त पायौँ, तर अझै त्यसलाई उचित रूपले प्रयोग गर्ने अधिकार पाइसकेका छैनाैँ । हामीले अधिकार पाए विदेशमा कमाएको नाफा पनि हाम्रै देशमा आउने हो, यसका लागि नयाँ पुस्ताहरू पनि लालायित छन्, यसैले हामीमाथि अनावश्यक शंका नगरियोस् ।’
सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलसहित कोशीका पूर्वमुख्यमन्त्रीहरू शेरधन राई, राजेन्द्र राई, केदार कार्की, विपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोलगायतले पनि कोशी प्रदेश लगानीका लागि उपयुक्त प्रदेश भएकाले लगानीकर्ताको लगानी खेर नजाने बताए ।