मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ भदौ १८ शनिबार ०६:२१:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेर मुस्लिम आयोगका अध्यक्षले भगाए अभियुक्त 

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ भदौ १८ शनिबार ०६:२१:००

दुबईबाट आएका ठगी मुद्दाका फरार अभियुक्तलाई आयोगले बोलाएको पाहुना भन्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विमानस्थलको भिआइपी कक्षमा मात्रै राखेनन्, अध्यागमनले पहिचान गरेपछि आफ्नै गाडीमा राखेर भाग्न पनि सघाए

संवैधानिक पदको दुरुपयोग गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका फरार अभियुक्तलाई भगाएका छन् । दुबईबाट नेपाल आएका अभियुक्त सुनसरीका रिजवान आलमलाई शुक्रबार बिहान अन्सारीले योजनाबद्ध रूपमा भगाएका हुन् । 

शुक्रबार फ्लाई दुबईको विमानबाट नेपाल मुस्लिम आयोगको निमन्त्रणमा दुबईबाट केही भिआइपी आउँदै थिए । सोही विमानबाट काठमाडौं ओर्लिएका रिजवानलाई अन्सारीले भिआपीहरूकै समूहमा मिसाएर भिआइपी कक्षमा लगेका थिए । अध्यागमन कार्यालयले रिजवानको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक गर्दा उनी ‘कालोसूची’मा रहेको खुलेपछि उपस्थित गराइदिन भिआइपी कक्षलाई भन्यो । तर, पासपोर्टमा ‘अराइभल’ छाप नलाग्दै अध्यक्ष अन्सारीले उनलाई आफ्नै गाडीमा राखेर विमानस्थलबाट भगाए । 

राति अबेरसम्म प्रहरीले रिजवानको खोजी गरे पनि पक्राउ गर्न सकेको छैन । उनको पासपोर्ट अध्यागमन कार्यालयमै छ । अध्यागमनको अराइभल छाप नलागी कोही पनि विमानस्थलबाट निस्कन नमिल्ने भए पनि उनी ‘भिआइपी’को संरक्षणमै भिआइपी कक्ष प्रयोग गरेर भाग्न सफल भए । 

अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भिआइपी कक्षको दुरुपयोग गरी फरार अभियुक्त भगाइएको र यो घटनाको छानबिन भइरहेको बताए । ‘दुबईबाट चारजना भिआइपीको टोली आउँदै थियो, त्यसमा मिस कम्युनिकेसन भएर अनधिकृत व्यक्ति पनि परेछ,’ उनले भने, ‘यो सेन्सेटिभ विषय हो, अध्यागमनले अनुमति नदिई विमानस्थलबाट यात्रु निस्किएको छ, त्यसमाथि प्रहरीले खोजी गरिरहेको अभियुक्त । यस विषयमा हामीले छानबिन थालेका छौं ।’ 

यो घटनाले एकातर्फ संवैधानिक निकायका प्रमुखले अपराधी जोगाउन गरेको हर्कत बाहिरिएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा अवस्थालाई छताछुल्ल पारेको छ । मुस्लिम आयोगले गृह मन्त्रालय हुँदै नागरिक उड्डन कार्यालयलाई लेखेको पत्रमा रिजवानलाई भिआइपी कक्ष प्रयोग गर्न दिने भन्ने उल्लेख छैन । नियमित प्रक्रियाबाट आउँदा पक्राउ पर्ने भएकाले मुस्लिम आयोगका अध्यक्ष अन्सारीले उनलाई भिआइपी टोलीमा राखेर नेपाल छिराउने योजना बनाएका हुन् । तर, अध्यागमन कार्यालयमा उनको पासपोर्ट ‘कालोसूची’ मा देखिएपछि आगमन अनुमति पाएनन् । 

आयोगको पत्रअनुसार अरब पार्लियामेन्टका उपाध्यक्षद्वय मोहम्मद अहमद अलयामाही तथा फेडरल नेशनल काउन्सिलका सदस्य अहमद हाममद अबुसेहाब अल्वादी र अर्का तीन यूएईका नागरिकलाई भिआइपी कक्ष प्रयोग गर्न दिने निर्णय भएको थियो । तर, पत्रमा उल्लेख भएका दुई व्यक्ति आएका थिएनन्, तिनै व्यक्ति भन्दै आलमलाई भिआईपी कक्षमा छिराइएको थियो । लामो समयदेखि दुबईमा बस्दै आएका रिजवानको आयोगका अध्यक्ष आलमसँग घनिष्ट सम्बन्ध रहेको स्रोतको भनाई छ । 

भिआइपी कक्ष प्रयोग गर्ने व्यक्तिले पासपोर्टमा अराभइभलको छाप लगाउन अध्यागमनमा आफैं जानु पर्दैन । स्रोतका अनुसार काठमाडौंस्थित यूएई दूतावासका कर्मचारी आफ्नो देशबाट आउन लागेका व्यक्ति र रिजवानको पासपोर्ट लिएर अध्यागमन गएका थिए । अध्यागमनले युएईबाट आएका व्यक्तिको पासपोर्टमा छाप लगाए तर, रिजवान फरार सूचीमा रहेको खुलेपछि उनलाई उपस्थित गराउन आग्रह गरे । पासपोर्ट लिएर दूतावासकै कर्मचारी गएकाले यो प्रकरणमा दुतावास पनि विवादमा तानिएको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारीले दूतावासलाई समेत गुमराहमा राखेको स्रोतको दाबी छ । 

अध्यागमनले पासपोर्ट आफैंसँग राखी रिजवानलाई उपस्थित गराउन भनेपछि अध्यक्ष अन्सारीले पासपोर्ट अध्यागमनमै छाड्न लगाई उनलाई लिएर भागेका थिए । विमानस्थलबाट उनी सिधै नक्सालस्थित मेरियट होटलमा पुगेका थिए । त्यहाँ रिजवनलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली खटिएको थियो । तर, रिजवान त्यहाँबाट पनि भाग्न सफल भएको स्रोत बताउँछ । उनीविरुद्ध इन्टरपोलले समेत रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको थियो । त्यस्ता व्यक्ति विमानस्थलबाट भागेको घटनाले सिंगो सुरक्षा प्रणालीलाई नै चुनौती दिएको छ । 

यो घटनापछि शुक्रबार विमानस्थलमा सबै पक्षको बैठक समेत बसेको थियो । कालोसूचीमा भएका व्यक्तिले भिआइपी कक्ष प्रयोग गर्नु ठूलो त्रुटी भएको भन्दै यस विषयमा विस्तृत छानबिन गर्ने निर्णय बैठकले गरेको छ । विमानस्थलमा भिआइपी कक्ष प्रयोगको अधिकार नागरिक उड्डयन कार्यालयलाई छ । तर, पत्रमा भएका र यात्रुको विवरण समेत क्रस चेक नगर्दा शुक्रबार फरार अभियुक्त भिआइपी कक्षबाटै भाग्न सफल भएका हुन् । नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक ठाकुरले ‘मिस कम्युनिकेशन’का कारण त्यस्तो भएको र अबका दिनमा सच्याइने बताए । 

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले पनि आफुले रिजवानलाई विमानस्थलबाट होटेलमा ल्याएको स्वीकार गरे । तर, उनलाई आफुले बोलाएको नभई यूएईबाटै आएका भिआइपीले लिएर आएको अन्सारीको दाबी छ । ‘दोभासेका रूपमा उहाँहरूले नै रिजवानजीलाई ल्याउनुभएको रहेछ,’ उनले भने, ‘यहाँ अध्यागमनमा हेर्दा लेनदेन सम्बन्धि मुद्दा देखियो र अध्यागमनमा पासपोर्ट रोकियो, उहाँहरू थाक्नुभएकाले पहिला होटल गएर बसौं, पछि त्यसबारे कुरा गरौंला भन्ने भयो, त्यही कारण हामी विमानस्थलबाट निस्किएका हौं, रिसिभ गर्न म विमानस्थल गएको हो तर मैले भगाएको कुरा गलत हो ।’ पछि आलमले पीडितलाई पैसा फिर्ता दिएर केस मिलाएको उनको दाबी छ । 

जिल्ला अदालतमा विचाराधिन भएको मुद्दामा बाहिर मिलापत्र गर्न मिल्दैन । स्रोतका अनुसार आलमको विषयलाई लिएर यूएई दूतावासका अधिकारीले समेत आफुहरूलाई विवादमा तान्न खोजेको भन्दै अन्सारीसँग असन्तुष्टि जनााएका छन् 

अन्सारी भन्छन्– विमानस्थलबाट गाडीमा राखेर होटेलसम्म ल्याएको हुँ, भगाएको होइन, मैले बोलाएको पनि होइन

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पनि आफूले रिजवानलाई विमानस्थलबाट होटेलमा ल्याएको स्वीकार गरे । तर, उनलाई आफूले बोलाएको नभई युएईबाटै आएका भिआइपीले लिएर आएको अन्सारीको दाबी छ । ‘दोभासेका रूपमा उहाँहरूले नै रिजवानजीलाई ल्याउनुभएको रहेछ,’ उनले भने, ‘यहाँ अध्यागमनमा हेर्दा लेनदेनसम्बन्धी मुद्दा देखियो र अध्यागमनमा पासपोर्ट रोकियो, उहाँहरू थाक्नुभएकाले पहिला होटेल गएर बसौँ, पछि त्यसबारे कुरा गरौँला भन्ने भयो, त्यही कारण हामी विमानस्थलबाट निस्किएका हौँ, रिसिभ गर्न म विमानस्थल गएको हो, तर मैले भगाएको कुरा गलत हो ।’ 

नियुक्तिकै वेला विवादमा मुछिएका थिए अन्सारी
मुस्लिम आयोगमा नियुक्तिकै वेला समिम मियाँ विवादमा परेका थिए । दोहोरो नागरिकतामा दुईवटा जन्ममिति देखिएपछि उनकै पार्टी एमाले (तत्कालीन नेकपा)भित्र पनि चर्को विरोध भएको थियो । तर, अध्यक्ष केपी ओलीको जोडबलमा उनी अध्यक्ष नियुक्त भएका थिए । संवैधानिक परिषद्ले अन्सारीको नाम सिफारिस गरेपछि उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेका थिए । छानबिनका क्रममा त्यसको पुष्टि पनि भएको थियो । 

पाइलट पढाइदिने भन्दै रिजवानले ठगेका थिए एक करोड ६८ लाख 

दाउद हुसेनलाई ठगी गरेको मुद्दामा रिजवानविरुद्धको ठगी मुद्दा जिल्ला अदालत काठमाडौैंमा विचाराधीन छ । छोरालाई दुबईमा पाइलट पढाइदिने भन्दै उनले हुसेनसँग एक करोड ६८ लाख रुपैयाँ लिएका थिए । तर, पढाउने व्यवस्था पनि नगरेको र पैसा पनि फिर्ता नदिएपछि गत वर्ष १ कात्तिकमा उनले प्रहरी परिसर टेकुमा जाहेरी दिएका थिए । अदालतले उनीविरुद्ध गत फागुनमै पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ गर्न नसकेपछि प्रहरीले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको थियो । 

रिजवानलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई समेत गुहारेको थियो । गत २ वैैशाखमा प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जनदत्त भट्टले उपत्यका प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी इन्टरपोलबाट पक्राउ गर्ने प्रक्रिया अघि बढाएका थिए । सो पत्रमा भनिएको छ, ‘उपरोक्त विषयमा दाउद हुसेनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रमजान मियाँ भएको ठगीसम्बन्धी कसुर मुद्दाको जाहेरी दरखास्त तथा बयानबाट खुलेका निम्न प्रतिवादी हाल युनाइटेड अरब इमिरेट्स (दुबई)मा बसोवास गर्दै आइरहेको भनी खुल्न आएकाले निजलाई इन्टरपोलको माध्यमबाट पक्राउ गरी नेपाल झिकाई यस कार्यालयमा दर्ता रहेका ठगीसम्बन्धी कसुर मुद्दामा अनुसन्धान गर्न आवश्यक पहल गरिदिनका लागि निजको नाममा सम्मानित काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ अनुमतिसमेत यसै पत्र साथ संलग्न राखी पठाइएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’ 

यो मुद्दामा रिजवानका बुबा रमाजान मियाँलाई प्रहरीले पक्राउ गरिसकेको छ । अदालतले उनीसँग २५ लाख धरौटी मागेको थियो । जसमा ७४ दिन थुनामा बसी धरौटी तिरेर एक महिनाअघि उनी छुटेका छन् । नौजनाविरुद्ध मुद्दा दायर भएकोमा रिजवान पनि छन् । ठगी घटनाका पीडित हुसेनले अभियुक्त आलमलाई भिआइपीको नाममा विमानस्थलबाट भगाइएको भन्ने कुरा आफूले पनि थाहा पाएको बताए । ‘उसले मेरो छोरालाई दुबईमा पाइलट पढाइदिन्छु भनेर एक करोड ६८ लाख रुपैयाँ लिएको थियो,’ उनले भने, ‘ऊ फरार हुँदै आएको छ, आज पनि उसलाई भगाउन भिआइपीहरू नै लागे भन्ने सुनेको छु । देश र हामी नागरिकका लागि योभन्दा ठूलो दुर्भाग्य के हुन्छ ?’