१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिविको समस्या शीघ्र समाधान गर्न सभामुखको रुलिङ

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:o१:oo

सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेले यसबारे रुलिङ नभएसम्म सदन चल्न नदिने भनेपछि सभामुख सापकोटाले त्रिविमा तालाबन्दीलगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । यसमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु,’ उनले भने । 

सभामुखको रुलिङअघि बैठकमा समय माग गरी एमालेका सांसद प्रदीपकुमार ज्ञवाली बोलेका थिए । उनले यो गम्भीर समस्याका विषयमा सरकार मौन देखिएको भन्दै विश्वविद्यालयका कुलपति, सहकुलपति या गृहमन्त्री बालकृष्ण खाणमध्ये जसले भए पनि जवाफ दिनुपर्ने र त्यसका लागि रुलिङ गर्नुपर्ने माग राखेका थिए ।

‘के कुनै संस्थाहरूको स्वतन्त्रता यसैगरी नै समाप्त पारिने हो,’ बैठकमा बोल्दै सांसद ज्ञवालीले भने, ‘आफूले भनेजस्तो भएन भने राष्ट्र बैंकमाथि हमला ? आफूले भनेजस्तो भएन भने रेडक्रसमाथि हमला ? आफूले भनेजस्तो भएन न्यायालयमाथि हमला ? आफूले भनेजस्तो भएन विश्वविद्यालयमाथि हमला ? गर्न के खोजिएको हो ? अपेक्षा के हो सरकारको ? विश्वविद्यालयको कार्यालय बुढानीलकण्ठ नै लान खोजिएको हो भने त्यो पनि भन्नुपर्‍यो कुलपतिज्यूले ? होइन भने यो स्थिति बन्दैन, यो स्थिति चल्दैन । त्यसकारण रुलिङ नहुँदासम्म प्रतिपक्षको तर्फबाट सदनको नियमित कारबाही अघि बढ्न सक्दैन, सभामुख महोदय ।’ ज्ञवालीले रुलिङ मागेलगत्तै प्रतिपक्षी दल एमालेका सबै सांसद उठेर संसद् अवरुद्ध गर्न खोजेपछि सभामुख सापकोटाले सरकारलाई त्रिविको समस्या तत्काल समाधान गर्न रुलिङ गरेका थिए । 

सभामुख अग्निप्रसाद सापकोटा

त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । यसमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु ।

बैठकमा बोल्ने क्रममा सांसद ज्ञवालीले गएको तीन वर्षमा तीन सयभन्दा बढी दिन त्रिविमा सत्तारूढ विद्यार्थी संगठनबाटै ताला लगाइएको प्रसंग उठाएका थिए । उनले प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरूको बचाउमा सरकार नै उत्रिएको आरोप लगाए । ‘उनी वैशाखी टेकेर कक्षाकोठामा पढाउन जाने अवस्थामा छन्, तर आक्रमणकारीलाई कारबाही हुँदैन,’ बैठकमा बोल्दै उनले भने, ‘उल्टै महान्यायाधिवक्ता मुद्दा फिर्ता लिनुहुन्छ । पुलिस पछाडि लगाएर सत्तारूढ दलका विद्यार्थी ताला लगाउन जान्छन् । उपकुलपतिको कुर्सी तोडफोड गर्छन् । चरम विकृत अभ्यास गर्छन् । हिजो शैक्षिक आन्दोलनको नेतृत्व गरेका व्यक्ति देशको सर्वाेच्च पदमा पुग्दा उहाँहरूले दिने स्कुलिङ यही हो ? कि प्राध्यापकलाई कुट, तिमीहरूलाई पछाडिबाट प्रोटेक्सन पुलिसले दिन्छ, मुद्दा चल्यो भने महान्यायाधिवक्ता कार्यालयबाट फिर्ता गराउँछौँ भनेको हो ?’

समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक चलाउनेमाथि २२ असोज ०७७ मा त्रिवि परिसरभित्रै आक्रमण भएको थियो । त्रिविमा हुर्किरहेको भय र त्रासको वातावरणप्रति सम्बन्धित निकायलाई सचेत गराएको केही दिनपछि उनीमाथि क्रूर ढंगबाट आक्रमण भएको थियो । तर, चलाउनेमाथि आक्रमणमा परिचालित भनिएका पाँचजनालाई काठमाडौं जिल्ला अदालतले साधारण धरौटीमा छाडिसकेको छ । रूपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझा जनही २० देखि ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । आक्रमणका योजनाकार भनिएका नेविसंघ त्रिवि समिति अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावल भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । 

सांसद ज्ञवालीले संसद्मा बोल्दै शिक्षाको विश्वविद्यालय, प्राज्ञिक आस्थाको केन्द्र आज चरम गुन्डागर्दीले त्रसित भएकोसमेत बताए । ‘कुनै वेला आजको प्रधानमन्त्री, गृहमन्त्री यो संगठनको नेतृत्व गर्नुहुन्थ्यो,’ उनले भने, ‘विश्वविद्यालयमा पढ्दा तत्कालीन पञ्चायतका गुन्डाहरूले गरेको सांघातिक आक्रमणमा उहाँहरू पनि पटक–पटक पर्नुभएको थियो । के अब उहाँहरूले त्यही अवतारमा आफ्ना विद्यार्थीलाई लैजान खोज्नुभएको हो ? त्यही शिक्षा दिन खोज्नुभएको हो ? होइन भने कुलपति रहनुभएका प्रधानमन्त्रीले बोल्नुपर्छ कि पर्दैन ? ’

गुन्डागर्दीकै कारण विश्वविद्यालयको पढाइ प्रभावित भएको, निरन्तर धराशायी भएको र यही कारण हाम्रो विश्वविद्यालय विश्वका उत्कृष्ट पाँच सयको सूचीमा पनि पर्न नसकेको उनले बताए । ‘तीन वर्षमा तीन सय दिन तालाबन्दी भइसकेपछि, होस् कसरी ? पढाउन गएका प्राध्यापकमाथि सांघातिक आक्रमण भएपछि र त्यसरी आक्रमण गर्नेहरूलाई मुद्दा नचलाइएपछि या चलाइएको मुुद्दा फिर्ता लिने अवस्था भएपछि विश्वविद्यालय कसरी चल्छ ? शिक्षाको गुणस्तर कसरी कायम हुन्छ ?’ उनको प्रश्न थियो । 

त्रिविका तीन पदाधिकारीले मागे सुरक्षा
विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुबीच तालाबन्दी गर्ने र फोड्ने गतिविधिले त्रिविमा दैनिकजसो झडप हुन थालेपछि त्रिविका पदाधिकारीले सरकारसँग सुरक्षा माग गरेका छन् । सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलाई दुई–दुई निजी सुरक्षा अधिकृत (पिएसओ) माग गरेका हुन् । 

त्रिवि सुधारका विभिन्न मागलाई लिएर विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच पनि द्वन्द्व बढेको छ । विवाद बढ्दा आफूहरू असुरक्षित भएको भन्दै उपकुलपतिको कार्यालयले पदाधिकारीको सुरक्षा माग गरेर गृहलाई पत्र लेखेको हो । पत्रमा ‘पदाधिकारीलाई दैनिक रूपमा फोन गरेर धम्क्याउने, कुर्सी–टेबुल जलाउने, कार्यालय तोडफोड गर्ने, कर्मचारीलाई मानसिक तनाव दिने, कार्यालय प्रवेशमा निषेध गर्नेजस्ता कार्यले पदाधिकारी असुरक्षित भएको’ उल्लेख गरिएको छ । भौतिक रूपमा कार्यालय वा अन्य कार्यक्रमहरूमा जाँदा विद्यार्थी संगठनबाट आक्रमण हुन सक्ने पत्रमा उल्लेख छ । प्रधानमन्त्री एवं त्रिवि कुलपति शेरबहादुर देउवा र शिक्षामन्त्री एवं त्रिविका सहकुलपति देवेन्द्र पौडेललाई समेत पत्रको बोधार्थ गरिएको छ । 

ad
ad