सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका स्थायी समिति सदस्य खगराज भट्टलाई दलको मर्यादाक्रममा पहिलो वरीयतामा राख्ने निर्णय गरेको छ । दलका नेता मानबहादुर धामीको अध्यक्षतामा आज बसेको बैठकले भट्टलाई पहिलो वरीयतामा राख्ने निर्णय गरेको हो ।
भट्ट यसअघि संसदीय दलको नेता थिए । माओवादीका बहुमत सांसदले गत माघमा भट्टलाई दलको नेताबाट हटाएर धामीलाई चयन गरेका थिए । दलको नेताबाट हटाइएपछि भट्ट असन्तुष्ट छन् ।
त्यस्तै, संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको दलका नेता धामीले जानकारी दिएका छन् । मुख्यमन्त्री सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
प्रदेश सरकारलाई पूर्णता दिने सन्दर्भमा सत्तासमीकरणमा छलफल र संवाद गर्नका लागि दलका नेता धामीको नेतृत्वमा दुई सदस्यीय कार्यदल पनि माओवादी संसदीय दलको बैठकले गठन गरेको छ । कार्यदलको सदस्यमा निवर्तमान मन्त्री झपट साउद सदस्य रहेका छन् ।