१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Friday, 01 November, 2024
२o८१ जेठ ३ बिहीबार ११:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसीका कर्मचारीमाथिको आक्रमणप्रति ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:o७:oo

एनआइसी एसिया लघुवित्तले शाखा कार्यालय परवानीपुर, बारामा अराजक समूहद्वारा कर्मचारीमाथि भएको अभद्र व्यवहार र कार्यालयको भौतिक सम्पत्तिमा पुर्‍याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार २०–३० जनाको अराजक समूहले कार्यालयमा प्रवेश गरी त्यहाँ कार्यरत शाखा प्रमुख तथा कर्मचारीमाथि ज्यान मार्ने गरी भौतिक आक्रमण तथा अभद्र व्यवहारसमेत भएको संस्थाले जनाएको छ । 

‘सो अराजक समूहबाट कार्यालयका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका जिन्सी सामग्री तोडफोड गरेको, कर्जासँग सम्बन्धित तमसुक तथा अन्य आवश्यक कागजात आगो लगाई नष्ट गर्नेजस्ता अत्यन्त निन्दनीय, गैरकानुनी तथा अभद्र कार्य भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ । दिनदहाडै बैंक तथा वित्तीय क्षेत्रको सेवामा कार्यरत कर्मचारीमाथि भएको भौतिक आक्रमण, वित्तीय संस्थाको सम्पत्तिमा पर्न गएको क्षति तथा जोखिममा संलग्न सम्बन्धित समूह तथा व्यक्तिलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग पनि लघुवित्तले गरेको छ । 

खराब ऋणीलाई संस्थाको कर्जा असुली नीति, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकका नीति–नियमअनुसार कालोसूचीमा राखेकै कारण तत्काल कालोसूचीबाट हटाउन दबाब दिँदै भौतिक आक्रमण तथा अभद्र व्यवहार भएको लघुवित्तले जनाएको छ । यसरी संस्था तथा संस्थामा कार्यरत कर्मचारीमाथि सांघातिक आक्रमण हुनुले राज्यको कानुनलाई समेत चुनौती दिएको विज्ञप्तिमा उल्लेख छ ।