मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०७:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चार वाम–समाजवादी दलबीच एकताको गृहकार्य

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०७:२२:००

माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी र नेकपा राष्ट्रिय एकता अभियान एकताका लागि आन्तरिक गृहकार्यमा, माओवादीसँग एकता गर्न संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

चार वाम–समाजवादी दलले निर्वाचनलगत्तै पार्टी एकता गर्ने गरी गृहकार्य थालेका छन् । माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानले निर्वाचनलगत्तै समाजवादी केन्द्र बनाउन आ–आफ्नो दलमा निर्णय गराउन थालेका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी र वामदेव गौतम नेतृत्वको एकता अभियानले माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेको अर्को दिन एकीकृत समाजवादीले पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको छ ।

निर्वाचनपछि माओवादी केन्द्रसँग एकता गर्ने गरी संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय छ । अहिले संयोजन समिति बनाएर साझा घोषणापत्रमा निर्वाचन लड्ने दुई दलको रणनीति छ । समानुपातिका मत सुरक्षित गर्न यी दुई दल साझा चिह्नमा नलड्ने निर्णयमा पुगेका हुन् । बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले बृहत् वामपन्थी एकताका लागि संयोजन समिति बनाउने निर्णय गरेको हो । समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले माओवादीले पनि संस्थागत निर्णय गरेपछि संयोजन समितिले मूर्त रूप लिने बताए ।

को–अर्डिनेसन केन्द्रका संस्थापक तीन नेता (माधवकुमार नेपाल, झलनाथ खनाल र मुकुन्द न्यौपाने) भएको पार्टीको नाताले बृहत् वामपन्थी एकताको विषय अघि सारेको एकीकृत समाजवादीले बताएको छ । ‘विभिन्न टुक्रामा विभाजित कम्युनिस्टलाई ०४७ पुस २२ गते एकीकृत गरेर नेकपा एमाले बनाएका थियौँ । त्यो महान् एकताको नेतृत्व को–अर्डिनेसन केन्द्रका तर्फबाट भएको थियो । उक्त केन्द्रका तीनजना हस्ती हाम्रो पार्टीमा हुनुहुन्छ । अब फेरि एकीकृत सशक्त वामपन्थी पार्टी निर्माणको दिशामा अगाडि बढेका छौँ,’ उनले भने । 

बैठकमा महासचिव डा. बेदुराम भुसालले पार्टी एकता संयोजन समिति गठन गरेर जानेसहितका एजेन्डा राखेका थिए । तुलाधरले भने, ‘कार्यादेश कस्तो हुने, दुई पार्टी एक भएपछि नाम के राख्नेलगायत विषय टुंग्याउन अब छलफल हुनेछ ।’ 

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एकता संयोजन समिति गठन गर्ने सहमति भइसकेको बताए । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता संयोजन समिति गठन गरेर जाने सहमति भइसकेको छ । हामीले औपचारिक निर्णय गर्न मात्रै बाँकी हो,’ गजुरेलले भने । 

डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र माओवादीबीच साझा चुनाव चिह्नमा निर्वाचन लड्ने सहमति भइसकेको छ । बृहत् वामपन्थी एकताकै क्रममा साझा चुनाव चिह्न लिने समझदारी भएको नेताहरूको दाबी छ ।

प्रचण्डले वामपन्थी दलहरूको बृहत् एकताका लागि पार्टी एकता संयोजन समिति बनाउने विषयमा एकीकृत समाजवादीसँग छलफल भइरहेको मंगलबार बताएका थिए । ‘हामी अरू पनि वामपन्थीसँग, जस्तो माधवजीहरूसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ । पार्टी एकतापछि पनि नाम नेपाल कम्युनिस्ट पार्टी नै रहन्छ,’ प्रचण्डले भने, ‘चुनावअगाडि केही नै हुँदैन । चुनावपछि नाममा चाहिँ नेकपा (समाजवादी) वा केही हुन सक्छ । निर्णय भई नसकेको हुनाले मैले अहिल्यै भन्न सक्दिनँ । नेकपामा हाम्रो सहमति भइसक्यो,’ प्रचण्डको भनाइ थियो । 

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले तत्काललाई निर्वाचनका लागि मात्रै सहकार्य भए पनि आगामी दिनमा बृहत् राजनीतिक ध्रुवीकरण गर्ने तयारी रहेको बताएका थिए । परिवर्तन गर्न एक्लाएक्लै भन्दा मिलेर जान आवश्यक भएको भट्टराईको भनाइ थियो ।